नयाँ ऐनले देशका गहनाको अपमान



फिरोज राजोपाध्याय, काठमाडौं

खेलकुद विकास ऐन २०७७ लागु भएपछि नेपाली खेलकुदमा धेरै असर पर्न गएको छ । नयाँ खेलकुद विकास ऐनले गर्दा देशका गहनाको रुपमा लिएका खेलाडीहरुलाई सबैभन्दा बढी असर पर्न गयो । देशका लागि खेल्दा परिवारसँग टाढा भएर, आफ्नो इच्छालाई मारेर र पढाइ समेत छाडेका छन् उनीहरुहरुले । देशका लागि पदक पनि ल्याएर देशको नाम उँचो राखेका छन् । तर यो नयाँ ऐनले उनीहरुलाई हात खुट्टा बाँधिदियो ।

नयाँ खेलकुद ऐनमा एक व्यक्ति दुई पदमा रहन नहुने प्रावधान राखिएको छ । यसले गर्दा अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त गरेका खेलाडीहरुले धमाधम एक पद रोज्दै अर्को पदबाट राजीनामा दिइरहेका छन् । तेक्वान्दोका प्रख्यात खेलाडी दीपक विष्ट र संगीना वैद्य र फुटबलका प्रख्यात खेलाडी उपेन्द्रमान सिंहरुले राजीनामा दिनुपरेका छन् ।

यी तीनै खेलाडीले दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण पदक दिलाएका छन् । उपेन्द्र त नेपालको सबैभन्दा सफल गोलरक्षक समेत हुन् । उनले सन् १९९३ मा भएको दक्षिण एसियाली खेलकुदमा पुरुष फुटबल टिमतर्फ स्वर्ण जित्दा उनी गोलकिपर थिए । राखेपमा प्रशिक्षक र अखिल नेपाल फुटबल संघ (एन्फा) मा उपाध्यक्ष रहेकोमा उनले एन्फाकै पद रोजेर राखेपको प्रशिक्षक पद छाडेका छन् ।

President of Madhyapur Youth Association Upendra Man Singh gestures during a press conference at the Nepal Sports Journalists Forum in Kathmandu on Monday. Photo: THT

उपेन्द्रले पद छाड्नु पर्दा सरकारले अन्याय गरेको बताए । उनले भने–मैले देशकै लागि खेलेका हौं, कसैको भनसुनमा जागिर खाएको पनि होइन । तर यो नयाँ ऐन बनेपछि दुई पदमा बस्न नहुने भनेपछि मैले एउटा पद रोज्नुपर्ने भयो । मैले धेरै छलफल र विचारपछि एन्फाकै पद रोजे । यो ऐनले म जस्ता खेललाई माथि ल्याउन लागिपरेका खेलाडीहरु प्रति अन्याय भएको छ । यसलाई संसोधन गर्नुपर्छ जस्तो लाग्छ ।

यस्तै तेक्वान्दोमा ओलम्पिकमा समेत खेलिसकेका दीपकको पनि यस्तै गुनासो छ । उनले देशमा आएको नयाँ कानुनले गर्दा आफुले नेपाल तेक्वान्दो संघको सचिव र प्रवक्ताको पद छाड्नु परेको बताए । उनले बताए कि यो ऐनले गर्दा आफु जस्ता तेक्वान्दोलाई माथि उठाउन लागेका खेलाडी प्रति अन्याय गरिएको छ ।

दीपकले भने—एकातिर खेलकुद पृष्ठभुमि भएकाले नै खेलकुदको नेतृत्व गर्ने अवस्था सिर्जना हुनु पर्दछ भनने बहस छ । हामी कतिपय खेलाडीका रुपमा प्राप्त गरेको ऐतिहासिक सफलताका आधारमा सरकारले सम्मान वापत प्रशिक्षकको नियुक्ति दिएको थियो । तर नयाँ ऐनले संघ वा प्रशिक्षक मध्ये एक रोज्नुपर्ने बाध्यात्मक अवस्था सृजना भयो ।

दीपकले अन्तर्राष्ट्रिय जगतमा स्वर्ण पदक जित्दै ऐतिहासिक सफलता दिलाए वापत सरकारले सम्मान स्वरुप दिएको प्रशिक्षकको नियुक्तिलाई फगतको जागिर सम्झनु सहि मान्न नसक्ने बताए । यसले देशका लागि मरिमत्ते खेलेका खेलाडीलाई अपमान गरेको महसुस भएको पनि उनले बताए । संगीनाले भने नेपाल तेक्वान्दो संघको सदस्य पदबाट राजीनामा दिएकी हुन् । उनले प्रशिक्षकको पद भने यथावत राखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्