हिमाली जिल्ला म्याग्दीको विभिन्न स्थानमा देखियो सलह,नियन्त्रणको प्रयासमा स्थानीय कृषकहरु



प्रताप बानियाँ, म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीमा पनि सलह किराको प्रकोप देखिन थालेको छ । मङ्गलबार सदरमुकाम बेनीबजारसहित उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घार, पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, रनबाङ र धवलागिरी गाउँपालिका–७, ताकमस्थित किसानको खेतबारीमा सलह देखिएको हो ।

सोमबारसम्म म्याग्दीसँग सिमाना जोडिएको छिमेकी पर्वत जिल्ला तथा कास्कीको विभिन्न स्थानमा देखिएको सलह मङ्गलबार म्याग्दीको ग्रामीण क्षेत्रमा आइपुगेको हो । आज धवलागिरी–२, लुलाङमा सलह देखिएको छ । जिल्लाको ग्रामीण भेगका किसानहरुको खेतबारीमा सलह किरा पुगेपछि किसानहरुले किरालाई लखट्नुका साथै सलह आएको भनेर जानकारी गराएका छन् । सलह किराले मंगला गाउँपालिका–२, रनबाङको धान खेतमा सामान्य क्षति पु¥याएको छ ।

स्थानीय दुर्गादत्त सुवेदीको धान खेतमा छिरेर नष्ट गर्न लागेको अवस्थामा स्थानीयले सलह धपाएका थिए । सानो समूहमा देखिएको सलह दरबाङतर्फ लागेको स्थानीय श्रीराम पौडेलले बताउँदै आकाश र जमिनमा देखिएको सलहबाट थप क्षति हुन नदिने गरी स्थानीयले सर्तकता अपनाइरहेको जानकारी दिए ।

यसैगरी धवलागिरी–७, ताकमको बगर क्षेत्र हुँदै ठूलो सङ्ख्यामा सहल किरा छिमेकी मुदीको खिबाङतर्फ लागेको ताकमबाट गोपाल आचार्यले बताए । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोईरालाले जिल्लाको सबै स्थानीय तहमा स–सानो झुण्डमा सलह किरा देखिएको भए पनि खेतीपातीको क्षतिको विवरण भने आइनसकेको जानकारी दिएका छन् ।

हावाको चाप दक्षिणबाट उत्तरतर्फ सरेकाले म्याग्दीमा कास्की, पर्वत र बागलुङ जिल्लाको सीमा क्षेत्रबाट सोमबार साँझ सलहको समूह प्रवेश गरेको अनुमान गरिएको छ । सलहले म्याग्दीमा सबैभन्दा धेरै भर्खरै रोपेको धान खेतीमा क्षति पु¥याउन सक्ने भन्दै सचेत हुन अनुरोध गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

सलह धानलगायत बालीको विनाश गर्ने एक जातको पतङ्ग, बालीनाली र बोटविरुवाको पातै समेत खाएर नाङ्गो पार्ने फट्याङ्ग्रा जस्तो उडुवा किरा हो । यसले एक वर्ग किलोमिटरभित्र एउटै समूहमा डेढ लाखदेखि ३–४ करोडसम्मको सङ्ख्यामा जम्मा हुने र बालीनाली एकैपटक नष्ट गर्ने गर्छ ।

अन्य किराहरू बाली विशेषमा लाग्ने र आंशिक नष्ट गर्ने गरे पनि सलह किरा हरियो जुनसुकै बालीमा लाग्ने गर्दछ । सलह एकपटकमा १५ सयदेखि २ हजार किलोमिटरको दुरीसम्म उड्न सक्ने अनुमान गरिएको छ । सलह अर्थात् फट्याङग्रा जस्तो किराको हुल देखिएमा आगो फुकेर धुँवा गराउने, थाल, टिन, ड्रम बजाउने, बाइक र गाडीको हर्नको प्रयोग गर्ने तथा म्युजिक समेत बजाएर लखेट्न सकिन्छ ।

रातको समयमा सलह बस्ने भएकाले बासस्थानको पहिचान गर्नसके नष्ट गर्न सजिलो हुने कृषि ज्ञान केन्द्रको भनाइ छ । हालै देखिएको सलह अफ्रिकन मुलुक यमनबाट साउदीअरब हुँदै पाकिस्तान, भारत भएर नेपाल प्रवेश गरेको हो । सलह जातको किरा सन् २०१८ सालमा साउदीअरबको पेनिलमुलाबाट पाकिस्तान भएर भारत हुँदै नेपाल प्रवेश गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्