व्यास नगरपालिकाको बजेट एक अर्ब ५२ करोड



मिला दरै, तनहुँ ।

जिल्लाको सबैभन्दा ठूलो र जेठो स्थानीय तह व्यास नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८का लागि पुँजीगत खर्चतर्फ ६२ करोड ७१ लख ९८ हजार र चालु खर्चतर्फ ९० करोड २५ लाख ५३ हजार गरी एक अर्ब ५२ करोड ९७ लाख ५१ हजार रुपैयाँ बजेट प्रस्ताव गरेको छ ।

कोरोना भाइरसको कारणले राजश्व संकलन, अनुदान प्राप्त अवस्था निराशाजनक भएकाले विकास आयोजनाहरुमा गति लिन नसक्दा यसवर्ष सम्झौता भइसकेका तर सम्पन्न हुन नसकेका नगरवासीको भावना र सरोकारसँग जोडिएका योजनाहरुमा सम्झौता भएका अवस्थामा रहेका अधुरा योजनाहरु र निरन्तर क्रमागत योजनाहरु पुरा गर्नका लागि २० करोड ८० लाख ८७ हजार रुपैयाँ विनीयोजन गरेको छ ।

त्यस्तै नगरपालिकाले नगर र वडा स्तरीय सडक आयोजनाका लागि १७ करोड ४३ लाख २५ हजार विनीयोजन गरेको छ । मुख्य गरी खड्ककाली मार्ग लगायत अन्य मार्गलाई प्रथामिकतामा राखी बजेट विनीयोजन गरिएको छ । नगरपालिकाले खानेपानीतर्फ चार करोड ६५ लाख ९५ हजार, कृषि सिञ्चाईतर्फ पाँच करोड ५७ लाख ८७ हजार, शिक्षा, युवा तथा खेलकुदतर्फ ४४ करोड ८३ लाख, स्वास्थ्य तथा सरसफाईतर्फ नौ करोड ८६ लाख ८७ हजार रुपैयाँ विनीयोजन गरेको छ ।

त्यस्तै नवीकरणीय उर्जा, सडक बत्ती विस्तार एवं व्यवस्थापनका लागि ५३ लाख ८० हजार, गाउँनगर साझेदारी कोष सञ्चालनका लागि एक करोड ६४ लाख, दलित उत्थान, आदिवासी जनजाति, अन्य विपन्न वर्ग, अपाङ्गता, मुस्लिम समुदाय, महिला नेतृत्व तथा सीप विकास, ज्येष्ठ नागरिक, लोपोन्मुख सिमान्तकृत वर्ग, बालबालिका, मेलमिलाप केन्द्र एवं न्यायिक समिति प्रवद्र्धनका लागि एक करोड तीन लाख रुपैयाँ विनीयोजन गरिएको छ ।

दुम्सीचौर स्थित नारेश्वर ताल निर्माणका लागि एक करोड ५० लाख र मादी नदी बहुद्देशीय विकास आयोजनाको विस्तृत परियोजना प्रतिवदेनका लागि ७९ लाख विनीयोजन गरेको व्यास नगरपालिकाका उपप्रमुख मिरा जोशीले जानकारी दिनुभयो ।

त्यस्तै व्यास जन्मभूमि, पराशर ऋषिको तपोभूमि, छाब्दी बाराही मन्दिर, अकला मन्दिर, तनहुँसुर दरबार, गलेखामकोट, कर्लुङकोट, क्यामिन कालिका, शहीद जङ्गलपार्क, मानहुँ, पुलिमराङको संरक्षण र विकास गरी पर्यटकीय क्षेत्रको विकासमा विशेष कार्यक्रम ल्याइने उपप्रमुख जोशीले बताउनुभयो ।

जोशीका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीबाट नगरवासीको जीवन रक्षाका लागि व्यास नगरपालिकामा रहेका सम्बद्ध निकाय, वडा समिति, स्वास्थ्य संस्थाहरु लगायतका शाखा, उपशाखाहरुसँग आवश्यक समन्वय र सहयोग गरी कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारको कार्यलाई प्रभावकारी व्यवस्थापन गरिनेछ । दमौली अस्पताललाई नगरपालिका अन्तर्गत सञ्चालनको जिम्मेवारी लिने गरी गण्डकी प्रदेश सरकारसँग समन्वय गरिने र उक्त अस्पताललाई ५० शैय्याको अस्पतालमा विकसित गर्न पहल गर्ने जनाएको छ ।

कोरोना भाइरसका कारण दैनिक गुजारा गर्न कठिन भएको विपन्न तथा मजदुर श्रमिक वर्गमा उचित राहतको व्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ । कोरोना भाइरस विरुद्धको अभियानमा अग्रपंक्तीमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, सञ्चारकर्मी, सम्बन्धीत वाहन सञ्चालन गर्ने चालकहरुको सुरक्षाका लागि जीवन बिमा र जोखिम भत्ता उपलब्ध गराउने नगरपालिकाले नीति लिएको छ । साथै आवश्यक स्वास्थ्य उपकरण, सुरक्षा, परीक्षण सामग्री खरिद गर्ने व्यवस्था मिलाइनेछ ।

नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुको सेवालाई स्तरीकरण गर्दै हरेक वडामा स्वास्थ्य स्वयम्सेविकाहरुको सहयोगमा सरुवा रोग लगायतका संक्रमणबाट नगरवासीलाई सुरक्षित राख्न आवश्यक व्यवस्था मिलाइने छ । वडामा रहेका स्वास्थ्य संस्था र स्वास्थ्य स्वयम्सेवी मार्फत् विद्यालय र उच्च शिक्षा क्षेत्रमा समेत स्वास्थ्य सेवा विस्तार गरिने र आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितताको लागि अत्यावश्यक औषधी, स्वास्थ्य उपकरण तथा सामग्री आपूर्तिको व्यवस्था मिलाइने जनाएको छ ।

जटिल रोग लागेका विपन्न परिवारका नगरवासीलाई दिइदै आएको सहयोगलाई निरन्तरता दिइने, विपन्न परिवारका सुत्केरी महिला र निरन्तर डाइलाइसिस गर्नुपर्ने विपन्न परिवारका व्यक्तिलाई यातायात खर्च उपलब्ध गराउनुका साथै नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरुमा प्रयोगशाला विस्तार गर्ने र भौतिक सुधारमा निरन्तरता दिइने नगरपालिकाले नीति लिएको छ ।

पर्यटक भित्र्याउनका लागि दमौलीस्थित व्यास जन्मभूमि, पराशर ऋषिको तपोभूमि, पराशर क्षेत्र, छाब्दी बाराही मन्दिर, अकला मन्दिर, तनहुँसुर दरबार, गलेखामकोट, कर्लुङकोट, कालिका, क्यामिन कालिका, कालिका शहिद जङ्गल पार्क, मानहुँ, पुलिमराङ, बेनीकोट सिद्धगुफा, ऊँ सिद्धेश्वरी राजापानी महादेव, छाङ्गा बाराही, सेतीमादी नदी, साँगे, बुल्दी, कलेस्ती, रिस्ती भ्यालीहरुको संरक्षण र विकास गरी पर्यटकीय क्षेत्रमा विकासका लागि विशेष कार्यक्रम ल्याइने जनाइएको छ ।

मादी नदीमा ताल निर्माण गरी जलविहारको व्यवस्था गर्ने र स्थानान्तरण हुन लागेको प्याराग्लाइडिङलाई व्यास नगरपालिकामा भित्र्याएर यस क्षेत्रको प्रवद्र्धन गर्ने नीति नगरपालिकाले लिएको छ । जीविकोपार्जन र रोजगारीको अवसर वृद्धि गर्न जल पर्यटन, कृषि पर्यटन, शैक्षिक पर्यटन, धार्मिक पर्यटन, खेल पर्यटन, ग्रामीण पर्यटन, सांस्कृतिक एवं प्राकृतिक पर्यटन व्यवसायको विविधकरण तथा विस्तारमा जोड दिने नीति नगरपालिकाको छ ।

त्यसैगरी नगरपालिकाको सम्पूर्ण पर्यटकीय सम्पदा समेटिने भ्रमण पुस्तिका प्रकाशन गरी द ग्रेट हिमालय ट्रेलको सवट्रेलको रुपमा बुद्ध शान्ति पदमार्ग (मनाङको तिमाङ गाउँ–दमौली–लुम्बिनी)लाई नक्साङ्कन गरी व्यवस्थित गर्ने योजना छ । नगरपालिकाभित्र सञ्चालन भएका शैक्षिक संस्थाको व्यवस्थापन र गुणस्तर सुधारलाई प्राथमिकतामा राखी नगरपालिकालाई शैक्षिक हवको रुपमा विकासित गरिने नगरपालिकाको योजना छ । नगरभित्रका प्रत्येक वडामा एक÷एक नमूना विद्यालयको छनोट गरी नमूना विद्यालय सञ्चालन गर्ने नीति लिएको नगरपालिकाले अन्य विद्यालयमा गुणस्तर वृद्धिका विभिन्न कार्यक्रममार्फत् सहयोग गर्नेछ ।

नगरपालिकाले वडाका निर्वाचित प्रतिनिधिहरुको उत्तरदायी बढ्ने र वडावासीहरुसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्नका लागि सबै वडाका लागि सामाजिक न्यायपूर्वक वडाका प्रतिनिधिहरु मार्फत् वस्ती, टोल संस्थासँग परामर्श गरी विकास आयोजनाहरु छनौट गर्ने कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ । नगरपालिकाबाट सञ्चालित योजनालाई व्यवस्थित बनाउन ‘एक वडा, एक प्राविधिक’को व्यवस्था, नगर यातायात सञ्जाल विकास गर्न र नगर बस सञ्चालन गर्न सम्भाव्यता अध्ययन, काठेपोल विस्थापन गरी स्टिलको पोल व्यवस्थापन गरिने योजना बनाएको छ ।

नगरपालिकाले वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक माध्यमिक विद्यालयहरुमा निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न वल्डलिंकसँग सहकार्य गरिने योजना बनाएको छ । आमसञ्चार सेवाको गुणस्तरीय र सर्वसुलभ पहुँचको लागि स्थानीय सञ्चार ऐन तर्जुमा गरिनेछ । नगरपालिकाको सेवा प्रवाहलाई गुणस्तरीय बनाउन र छिटो छरितो रुपमा सेवा प्रवाह गर्न नगरपालिकाको सबै वडाहरुमा इन्टरनेट सर्भिसको सेवालाई अझ प्रभावकारी, भरपर्दो एवं विश्वासनीय बनाइने जनाएको छ ।

सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन

व्यास नगरपालिकाले नगरभित्रका सञ्चारमाध्यमहरुको वर्गीकरण गरी लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ । नगरपालिकाद्वारा ३३औं नगर सभामा प्रस्तुत आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रममा सो उल्लेख गरिएको हो ।

पत्रकारहरुको बृत्ति विकास गर्न पत्रकारिता उच्च अध्यायनका लागि हरेक वर्ष न्यूनतम एक जना सञ्चारकर्मीलाई छात्रबृत्ति सहयोग उपलब्ध गराइने नीति नगरपालिकाले लिएको छ । कोरोना भाइरसको प्रभावले नेपाली सञ्चार माध्यम सँगसँगै व्यास नगरपालिकामा रहेका सञ्चार समेत प्रभावित बनेको भन्दै आर्थिक रुपमा धरासायी हुँदै गएको सञ्चार क्षेत्र र सञ्चारकर्मीहरु पेशाबाटै विस्थापित हुन सक्ने विषम् परिस्थितिमा नगर भित्रका सञ्चार माध्यम र सञ्चारकर्मीको हकहितका लागि पत्रकार महासंघ तनहुँको सहकार्यमा विभिन्न कार्यक्रमहरु ल्याइने नीति तथा कार्यक्रममा जनाइएको छ ।

नगरपालिकाको आर्थिक, कृषि तथा पूर्वाधार विकास सम्बन्धी विषयमा समाचार संकलन, रिपोर्टिङ सम्बन्धी विशिष्ट तालिम सञ्चालन गर्न सहयोग गर्ने पुर्‍याउने नीति तथा कार्यक्रममा उल्लेख गर्दै नगरपालिकाले सोही अनुसार बजेट समेत विनीयोजन गरेको छ । जिल्लाकै जेठो व्यास नगरपालिकाले विगतदेखि नै सञ्चारमैत्री भूमिका निर्वाह गर्दै जिल्लाको सञ्चार क्षेत्र र यहाँको पत्रकारिताको विकासमा विशिष्ट योगदान पुर्‍याउदै आएको छ ।

कोरोनाले थलिएको सञ्चार माध्यम प्रवद्र्धन गर्ने लगायतका मिडियामैत्री नीति तथा कार्यक्रम ल्याएको भन्दै नीति तथा कार्यक्रमको नगरका सञ्चारकर्मीहरुले स्वागत गरेका छन् । नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यले सिङ्गो जिल्लाका अन्य पालिकाहरुलाई समेत मिडियामैत्री बन्न सुझाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्