यूरोकपको रिक्तता भर्दै यूरोपेली लिग



कविरस शर्मा ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण बितेको केहि महिनायता विश्व खेलकुद नै ठप्प बन्यो । यधपि, कोरोनाको त्रासबाट अहिले पनि खेलकूद क्षेत्र मुक्त भने भईसकेको छैन । तर, कोरोनाबाट बच्ने उपायबाट भने हरेक क्षेत्रका मान्छे अभ्यस्त भइसकेका छन् । यसैको परिणाम अहिले सार्वजनिक स्थानहरुमा चहलपहल बढ्दो पनि छ । यसले ठप्प भएको खेलकुद पनि बिस्तारै तंग्रिन थालेको छ ।

युरोपेली फुटबलको पृष्ठभूमि हेर्ने हो भने युरोपेली शीर्षस्थ घरेलु लिगदेखि प्रतिष्ठित यूईएफए च्याम्पियन्स लिग र यूरोपा लिग समेत जुन/जुलाईमा सकिने गर्थ्यो । हुनत, वर्षायामलाई फुटबलको अफ सिजनको रुपमा लिइन्छ । तर, यसपटक भने माहोल बदलिएको छ । यसपटकको वर्षायाम फुटबलमय बन्ने निश्चित छ । कोरोनाका कारण स्थगित थुप्रै प्रतियोगिताहरु सुचारु हुने तयारीमा छ । अधिकांशको त मिति पनि सार्वजनिक भइसकेको छ । ती मध्ये कोरोना सुरक्षा प्रोटोकल अपनाएर जर्मन बुन्देसलिगा र स्पेनिस ला लिगा लगायत हंगेरियन फुटबल, दक्षिण कोरियन फुटबल सञ्चालन भइसकेका छन् ।

त्यस्तै, इटालियन सिरी ए लिग, इंग्लिश प्रिमियर लिग पनि केहि दिनपछि सुचारु हुने तय भइसकेको छ । वर्षायाममा यसरी फुटबलको लहर छाउन लागेको भने यो पहिलो पटक होईन । प्रत्येक चार बर्षको अन्तरालमा हुने फिफा विश्वकप र यूरोकपले पनि जुन र जुलाईलाई फुटबलमय बनाउने गर्थ्यो । यसपटक पनि वर्षायामलाई फुटबलमय बनाउने पालो यूरोकपको थियो । तर, कोरोना टड्कारो बनेपछि त्यस्तो हुन सकेन । यस वर्षको १२ जुन अर्थात आज उद्घघाटन हुनुपर्ने थियो यूरोकप २०२०। तर, अहिले यो आगामी वर्षको जुन–जुलाईसम्म सरिसकेको छ । निःसन्देह, फुटबलप्रेमीहरुलाई यसले निरास बनाएका छन् । तर, स्थगित यूरोपेली घरेलु क्लब प्रतियोगिता र लिगहरु सुचारु हुनेभएपछि यूरोकपको रिक्तता पूर्ति हुने देखिन्छ ।

यसपटक यूरोकप सुरु भएको ६० औं वर्षगाँठको उपलक्ष्यमा युरोपका १२ देश (डेनमार्क, हंगेरी, आयरल्याण्ड, नेडरल्यान्ड्स, रोमानिया, स्कटल्यान्ड, स्पेन, अजरबैजान, जर्मनी, इटाली, रसिया र इंग्ल्याण्ड) मा संयुक्त रुपमा आयोजना गर्ने तय भएको थियो । यस सूचीमा उल्लेखित देशले कोरोनाबाट आक्रान्त भएका कारण आयोजकबाट नाम हटाउने सम्भावना पनि बढेको थियो । तर, त्यस्तो भएन । मिति सारिएपछि संयुक्त रुपमा आयोजना गर्ने आयोजक सूची यथावत नै छ । फिफा विश्वकपपछि सर्वाधिक चर्चित फुटबल प्रतियोगिता हो यूरोकप । तुलनात्मक रूपमा यूरोकपको दायरा अन्य महादेशीय फुटबल प्रतियोगिताहरुको भन्दा फराकिलो छ । ब्यापक आर्थिक लगानी र प्रचार–प्रसारको स्तरियताका कारण पनि अन्य महादेशीय फुटबल प्रतियोगितालाई यूरो कपले उछिनेको छ । युरोपेली फुटबल महासंघले पछिल्लो पटक जारी गरेको तथ्याङ्क अनुसार सन् २०१६ मा सम्पन्न यूरोकप सम्पूर्ण ५१ खेलको दर्शक संख्या ५ बिलियन रहेको जनाएको थियो । जसमध्ये फ्रान्स र पोर्चुगलबीच भएको फाइनल मात्रै ६ सय मिलियन दर्शकले हेरेको उल्लेख छ । उक्त तथ्यांकमा रंगशालामा उपस्थित दर्शकसहित संसारभर विभिन्न सञ्चार माध्यममार्फत् म्याच हेर्ने दर्शकलाई जोडिएका छन् ।

सहभागी राष्ट्रको संख्या बढाईएपछि सन् २०१२ मा भन्दा २०१६ मा २० म्याच बढी खेलाइएको थियो । जसका कारण १.१ बिलियन दर्शक संख्या बढेको तथ्यांकले देखाएको छ । सन् २०१६ देखि यूरोपेली फुटबल महासंघले यूरोकपको अन्तिम चरणमा सहभागी हुने टोली संख्या बढाएको छ । सहभागी राष्ट्रको संख्या १६ बाट २४ पुर्याएको हो । फिफा विश्वकप खेल्ने धेरै राष्ट्रहरु सहभागी हुने कारणले पनि यूरोकपले विश्वका अधिकांश फुटबलप्रेमीहरुको ध्यान तान्न सफल हुँदै आएको छ । यूरोकपका सफल स्पेन र जर्मनी अहिलेसम्म यूरोकपको उपाधि १० राष्ट्रले मात्र जितेका छन् । जसमध्ये जर्मनी र स्पेन यूरोकपका सर्वाधिक सफल राष्ट्रहरु हुन् । मिनी वर्ल्ड कपबाट समेत परिचित यूरोकपको उपाधि जर्मनी र स्पेनले समान तीन–तीन पटक उचालेका छन् । यूरो कपको यसअघिका १४ संस्करण मध्ये जर्मनीले सर्वाधिक ६ पटक फाईनल खेलेका छन् । जसमा जर्मनी समान तीन–तीन पटक विजेता र उपविजेता बनेको थियो ।जर्मनीले सन् १९७२, १९८० र १९९६ गरी तीन पटक यूरोकप फुटबलको उपाधि उचालेका छन् ।

त्यस्तै सन् १९७६, १९९२ र २००८ मा भने जर्मनी उपविजेतामै सिमित बन्यो । स्पेनले पनि यूरोकपको फाईनल चार पटक खेलेका छन् । जसमध्ये तीन पटक उपाधि जित्दा एक पटक फ्रान्ससँग पराजित हुँदै उपविजेतामा चित्त बुझाउनु परेका थिए । स्पेन सन् १९६४, २००८ र २०१२ गरी तीन पटक यूरो कप च्याम्पियन बनेका थिए । त्यस्तै, १९८४ को फाइनलमा भने फ्रान्ससँग पराजित हुँदै स्पेन दोस्रो स्थानमा सिमित भएको थियो । स्पेन लगालग दुई संस्करण च्याम्पियन बन्ने एक्लो टोली समेत हो ।

प्रतिक्रिया दिनुहोस्