स्वास्थ्य चेतना अभिवृद्धि गर्दै स्थानीय तह



राम धामी,डडेल्धुरा ।

डडेल्धुराका स्थानीयले कोरोना भाइरसको महामारीबाट बच्न जीवनशैलीमा परिवर्तन गर्न थालेसँगै उनीहरूमा आफ्नो र परिवारजनको स्वास्थ्य सम्बन्धमा चेतना बढ्दै गएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्व समुदाय प्रभावित भइरहेका बेला नेपालमा पनि यसको बहुआयामिक असर पर्न थालेको छ ।

यसले देशको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्नेदेखि स्वदेश तथा विदेशमा रहेका नेपालीलाई आफ्ना दैनिक कार्यका साथै जीवनशैली प्रभावित भएको छ ।
तर, कोरोना महामारी संक्रमणको सन्त्रासले यँहाको समाजमा स्वास्थ्य चेतनामा भने सकारात्मक परिवर्तन ल्याइदिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि यहाँका नागरिकले सरसफाइमा विशेष ध्यान दिन थालेका छन् भने स्थानीयको रहनसहनमा समेत सुधार आउन थालेको छ ।

पहिले–पहिले यँहाका नागरिकले खाना खानुअघि र दिसा–पिसाब गरेपछि मात्र हात धुने गरेकामा हाल आएर हरेक काम गरिसकेपछि साबुनपानीले हात धुन थालेका छन् । पानी पँधेरो र शौचालयहरूमा साबुनको प्रयोगलाई विशेषरूपमा ध्यान दिन थालिएको छ । “अनिवार्य रूपमा साबुन पानीले हात धुने बानीको विकास भएको छ ।” डडेल्धुराको सिमान्त गाँउ साँदनीकी महिला स्वास्थ्य स्वयमसेविका भागरथी धानुकले भनिन, “महामारीको सन्त्रासका कारण हाल जुनसुकै काम गरिसकेपछि साबुन पानीले हात धुने बानीको विकास भएको छ ।” उनले परिवारका सबै सदस्यहरुले सरसफाइमा विशेष ध्यान दिन थालेको बताइन् ।

आलिताल गाउँपालिका–८ कि अमृता ठडाली मगरको दैनिकी हाल फेरिएको छ । कृषिकर्म गर्ने अमृतालाई अचेल मेलापात जान डर लाग्छ । “घर बाहिर जान डर लाग्छ । कृषक भएकाले खेतबारीमा काम गर्नैपर्छ बाहिर हिँड्दा मास्क लगाएर जान्छु,” उनले भनिन् “पटकपटक स्यानिटराइजर प्रयोग गर्छु, दैनिक नुहाउँछु, कपडा बदल्छु ।” उनले ब्यक्तिगतसँगै घर आँगन र सामुदायीक सरसफाईमा समेत सबैले ध्यान लिन थालेको बताइन् ।

अमरगढी नगरपालिका–१ की शारदा ऐर हाल तरकारी बेच्न बजार आउँदा मास्क र पञ्जा बनाएर लगाएर आउने गरेकीछिन । “बजारदेखि फर्किएर केटाकेटी कसैलाई छुन्न, आफ्नो सरसफाइ गर्छु अनि मात्र घरभित्र पस्छु ।” उनले भनिन । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सबैसँग हात मिलाउने बानी छोडिसकेको स्थानीय अगुवा भरत नेपाली बताउछन । “महामारीको दृष्टिकोणले हेर्दा हात मिलाउने काम राम्रो होइन रहेछ, त्यसैले एकअर्कालाई कोरोनाको बारेमा सचेत गराउन थालेका छौँ र हात मिलाउनुको सट्टा नमस्कार गर्ने गर्दछौँ ।” उनले भने ।

यँहाका स्थानीय तहले संक्रमणको जोखिम बढेपछि नागरिकहरुलाई स्वास्थ्य प्रति सचेत गराउने कार्य गर्न थालेका छन् । स्थानीयस्तरमा जनचेतना जगाउने, सामाजिक दूरी कायम गर्ने, सरसफाइमा ध्यान दिन सचेत गर्ने कार्य भएको छ । नागरिकको रहनसहन परिवर्तनका लागि माइकिङ गरेर सरसफाइसम्बन्धी सन्देश दिनुका साथै बस्तीमा स्वास्थ्यकर्मी र स्वयंसेविका परिचालन गरेको र मोबाइलमार्फत सन्देश सम्प्रेषण भइरहेको अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए ।

संक्रमणबाट जोगिन तातोपानी, गुर्जो, बेसार, मरिच, अदुवाm हल्दी, घोडताप्रे जस्ता जडीबुटी प्रयोग गर्ने गरेका स्थानीय बताउँछन् । उनीहरूले सञ्चारमाध्यममा आएका अन्य सुरक्षाका बारेमा समेत चासो राख्ने गरेका छन् । स्थानीय तहले जनचेतना फैलाउन लाखौँ रूपैयाँ खर्च गरेका छन् । स्वास्थ्य चेतना अभिवृद्र्धीका लागि समुदायस्तरमा स्वास्थ्यकर्मी, स्वय्सेविका र सामाजिक क्षेत्रमा कृयासिल संस्थाका प्रतिनिधीहरुलाई परिचालन गरिएको र स्वास्थ्य चेतना निकै वृद्र्धी हुनुका साथै स्थानीय नागरिकहरुको ब्यवहारमा निकै परिवर्तन देखिएको परशुराम नगरपालिका नगरप्रमुख भिमबहादुर साउँदले बताए ।

प्रतिक्रिया दिनुहोस्