सोचमा योजना–व्यवस्थापनको खाका



केशव शर्मा

समाजोपयोगी नैतिक सोच र आचरण हरेक क्षेत्रको निम्ति अबको दूरगामी राष्ट्रिय आवश्यकता बनेको देखिँदैछ ।अबका योजनाहरुमा मानवीय कल्याणकारी पक्षलाई प्राथमिकतामा राख्ने, न कि भौतिक र यान्त्रिक गणितीय वृद्धिलाई मात्रै उन्नतिको मापक मान्ने सुझावसहित यो सोच पस्किने जमर्को गरेकोछु ।
युगौंदेखि हाम्रा पुर्खाले आफ्ना समय र परिस्थितिका अनुभवहरु साँचेर, खातमाथि खात ज्ञान र संस्कारका अथाह भण्डार संगालेर हाम्रो सहज जीवनयापनको निम्ति हरेक पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्दै आएकाछन् ।

हामीसित यसरी सञ्चित हुन पुगेको आध्यात्मिक, नैतिक र भौतिक भण्डारको बुद्धिमत्तापूर्ण उपयोग गर्न सक्यौं भने मात्रै पनि हामी अरु कुनै समृद्ध गनिएका राष्ट्रहरुभन्दा कम उन्नत मानिनेछैनौं । यति मात्र हो कि ‘उन्नति’को परिभाषा र मापन विधि जीवनको सबै क्षेत्रलाई समेट्ने गरी फराकिलो राख्नुपर्दछ । कोभिड–१९ महाव्याधिको घटनाक्रमले हामीलाई आफूभित्र विद्यमान मौलिक क्षमताको आँकलन गर्ने अवसर प्रदान गरेकोछ ।

घरबन्दीले थोपरेको यो फुर्सतको बेलामा, जीवनको बहुमूल्य समय बेकार खेर गएको सम्झेर पीडित हुनुभन्दा आफ्नो अन्तर्दृष्टिलाई पुनर्जीवित पार्दै आफूभित्र रहेको क्षमतालाई सदुपयोग गर्ने बाटो र तरिका खोज्नमा समय बिताउनु उपयुक्त ठहर्छ । इतिहासले प्रशस्त साक्षी दिएकोछ कि हामीभित्र यस्तो क्षमता विद्यमान छ । आधुनिक समयमा यो लुप्त रहनुको कारण यति मात्र हो कि हामीले यसलाई खोज्न छोडिदिएका छौं, खोज्दै नखोजेपछि भेट्टाउने त कुरै भएन ।

आफ्नै घरभित्र उपलब्ध ज्ञानको ठेलीलाई हामीले अभेद्य देवता मानेर पूजा मात्रै गरिरह्यौं ।आफ्ना सन्ततीले यो ज्ञानको भण्डारलाई प्रयोगद्वारा अझ परिष्कृत गर्दै भावी पिँढीलाई हस्तान्तरण गरुन् भन्ने प्रयोजनले आफ्नै पूर्खाले प्रदान गरेको अमूल्य सम्पत्तिलाई हामीले कुनै अँध्यारो खोपीमा लुकाएर बिर्सिदियौं । फलस्वरुप, आफ्नो घरभित्रको खुशी खोज्न पारि डाँडाभन्दा परको क्षितिज नियाल्न थाल्यौं ।

परदृष्टिको बढी प्रयोगले समीपको दृश्य त अब सारै धमिलो देखिन थाल्यो । आजको अवस्थामा हामी बहुसंख्यक परजीवी भइसकेकाछौं । यो परजीवी मनस्थिति व्यक्ति–व्यक्तिमा मात्र सीमित नरहेर अब त संस्थागत भइसकेको भयावह अवस्थामा छ । जबर्जस्तीको यो घरबन्दीले हामीलाई अति परदृष्टि र विक्षिप्त घर–दृष्टि दुवै अवस्थालाई पन्छाएर समदृष्टियुक्त सन्तुलित अन्तर्दृष्टि प्राप्त गर्ने अवस्थामा पु¥याउन सके यसको सकारात्मक उपज मान्न सकिन्छ ।

हामीभित्र विद्यमान क्षमता र हाम्रो अधिकारमा रहेको सम्पत्तिको हामी आफैंले नै ठीकसित आँकलन गर्न सकेका छैनौं । पुर्खाको अनुभवद्वारा सञ्चित अथाह ज्ञान मात्र होइन, प्रकृतिले पनि बहुआयामिक सम्पत्तिको विशाल भण्डार हाम्रो अधिकारअन्तर्गत राखिदिएकोछ । त्यति मात्र होइन, मानव संसाधनमा पनि हाम्रो राष्ट्र अरूको दाँजोमा धेरै फाइदाको स्थानमा छ । कति देशहरुमा केवल एक वा केही सीमित क्षमता भएका नागरिक मात्र छन् तर हाम्रो देशमा त भिन्न–भिन्न क्षमता भएका विभिन्न समूहहरु बहुलतामा छन् ।

कसैसित चुस्त दिमागयुक्त बौद्धिक क्षमता छ त कसैमा सुगठित ज्यानमा शारीरिक शक्तिको भरपुरी छ । कोही सगरमाथाको चिसो चुचुरोलाई पानीपँधेरो बनाउन सक्छन् त कोही तराई फाँटको उखर्माउलो गर्मीमा रमाउँदै मेहनत गर्दैछन् । नदीनाला र घनाजंगललाई आफ्नो कार्यक्षेत्र बनाएर रमाउनेहरु पनि यही देशमा छन् । मानव संसाधनमा यस्तो विविधता उपलब्ध हुनु नै हाम्रो निम्ति ठूलो फायदाको स्थान ठहर्छ । प्रकृतिले हाम्रो क्षेत्रलाई विभिन्न मौसमको चक्रिय अनुशासनमा राखेको छ, जसको फलस्वरुप आवश्यक आहाराको जोहोसँगसँगै प्रकृतिको बदलिँदो रूप र पहिरनको मनोरञ्जन हामीलाई प्राप्त भइरहन्छ ।

यहाँको जन, जमिन, जल र जीवको सन्तुलित एवं समुचित प्रयोगमा स्थानीय परिवेश सुहाउँदो व्यवस्थापन गरेर प्रकृतिसँगको सम्मानपूर्वक साझेदारीमा फल्दै, फुल्दै, वृद्धि हुँदै जाने अभिभारा यहीँकै बासिन्दाहरुको हो । प्रकृतिसित सहकार्यमा खुशी खोज्नुको विकल्प हामी कसैसित छैन । प्रकृतिसित जुझेर जीत हासिल गर्ने जमर्कोले जनलाई जमिनमा जोताउँछ भन्ने कुराको ज्वलन्त जानकार हामी आफैं नै छौं ।

यहाँसम्म पुग्दा सामाजिक समुन्नतिको चुरो चुस्त व्यवस्थापनमा हुने रहेछ भन्ने बुझिन्छ । साथै यो पनि बुझ्न अपरिहार्य छ कि त्यो व्यवस्थापन ‘स्थानीय परिवेश सुहाउँदो’ हुनुपर्दछ, कुनै पनि ढाँचाको भएर पुग्दैन । कुनै पनि परियोजनाको व्यवस्थापन गर्नलाई पहिले त योजना हुनुप¥यो ।योजना बनाउनलाई लक्षित उद्देश्य चाहिन्छ । उद्देश्यचाहिँ सम्बन्धित व्यक्ति, समूहको दर्शनमा आधारित हुनुपर्दछ । दर्शन अमूर्त कुरो हो, जुन कुरो हरेक व्यक्तिको अन्तरात्मामा अवस्थितविवेकले निर्दिष्ट गर्दछ । विवेकको सुझावलाई मलजल गरेर रंगरूप दिनेचाहिँ हाम्रा पारिवारिक र सामाजिक मूल्य, मान्यता र संस्कारहरु बन्दछन् । अन्तरात्माका सुझावहरुलाई उच्च महत्व दिँदै स्थापित भएका मूल्य, मान्यता र संस्कारहरुको समष्टिलाई ‘नैतिकता’ भनेर चिनिन्छ ।

उपरोक्त पंक्तिहरुमा यो आलेखकर्ताले दर्शाउन चाहेको यति मात्र हो कि प्रकृतिप्रदत्त दिगो उन्नतिको बाटोमा उक्लिँदै जानको निम्ति विवेकशील बनेर नैतिकतालाई आधार बनाउन जरुरी बन्दछ । यसभन्दा अलग आधारमा परिकल्पना गरिएका द्रूत, क्षणिक, स्वार्थीर प्रकृतिसित जोरी खोज्ने उन्नतिका योजनाहरुले ढिलो–चाँडोस्वभावतः विकास होइन हतास–विनाश, सम्पत्ति होइन आपत्ति–विपत्ति, शान्ति होइन भ्रम–भ्रान्ती, विश्राम होइन आकुल–व्याकुलता, शीतल स्वास्थ्य होइन तनावको ‘जलनस’ विकल्प हाम्रै सामुन्ने छन्, रोज्ने हामी आफैंले हो– प्रकृतिसँगको गति वा उग्र महत्वाकांक्षाको मति ?

सारा विश्वले खेप्नुपरिरहेको अहिलेको यो महाव्याधिको परिवेशमा सर्वसाधारण नागरिकदेखि योजना तर्जुमा गर्ने गहन जिम्मेवारी पाएका प्रशासक, जनप्रतिनिधि, सांसद, मन्त्री तथा बुद्धिजीवी, अधिकारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि पात्रहरुसमेत, संवेदनशील सोचको अवस्थामा पुगेको बेला छ । प्राकृतिक होस् वा मानवनिर्मित, यस्तो विनाशकारी विपत्ति फेरि नदोहोरियोस् भन्ने सबैको चाहना हो । प्रस्तुत सोचलाई सम्बन्धित सबैले ध्यान दिएर योजना तर्जुमा तथा कार्यान्वयन विधिको खाका कोर्न सके, अवश्य नै हाम्रो समाजमा सकारात्मक बदलाव आउनेछ । भ्रष्टाचारले सर्वत्र जरा फैलाएको आजको अवस्थामा यो सोचलाई कार्यान्वयन गर्नमा बाधाहरु त अवश्य नै आउनेछन् तर दृढ अठोटका साथ अघि बढ्ने हो भने बाधाहरूले पनि बिस्तारै बाटो छोड्नै पर्ने हुन्छ ।

सम्झनामा रहेका अहिलेसम्मका कुनै पनि वार्षिक योजना हाम्रो आफ्नै विशिष्ट मौलिक परिवेशमा बनेको देखिँदैन । हाम्रो परदृष्टि र परजीवी मनस्थिति, मित्रराष्ट्रहरुको दान, सहयोग र सहुलियत ऋणको भर पर्नुमा मात्र सीमित नरहेर, योजना तर्जुमा र कार्यान्वयनसमेत विदेशी राष्ट्र र संस्थाहरुको भरमा छोडिदिएको देखिन्छ । केहीहिस्सा आफैंले गरेको देखिए पनि त्यहाँ अरुको नीति र तरिका जस्ताको त्यस्तै आफ्नोमा टाँसेको प्रस्ट हुन्छ । यस्तो प्रवृत्तिले देशको हित गर्दैन, किनकि त्यस्ता नीति र योजना हाम्रो आफ्नै स्थानीय परिवेशमा बनेका हुँदैनन् । उनीहरुको नापमा बनेको लुगा हामीलाई ठीक हुँदैन, दानमा फ्याँकेको जडाउरी लुगाले हाम्रो इज्जत बढाउँदैन, बरु आत्मग्लानिमा शिर निहुरिन्छ, आत्मबलको क्षय हुन्छ र फेरि पनि परआश्रित बन्न बाध्य बनिन्छ । ऋण लिनेचाहिँ ऋण दिनेको दास हुन्छ भनेर शास्त्रले नै सचेत गराएकोछ ।

अहिलेको समयसम्म यस्तै नै भइरहेको कुरा जगजाहेर छ । ज्ञानी–मानी, सन्त–महात्माको पुख्र्यौलीको गर्व गर्ने यो देशमा यति कुरा पनि बुझ्न सक्ने कोही नभएको त अवश्य होइन । त्यसो हो भने, अब हामी आफ्नो माटो र संस्कार सुहाउँदो दर्शन, कार्ययोजना, लक्ष्य र व्यवस्थापन आफैं गरौँ । हाम्रो आफ्नै नैतिक संस्कार, आफ्नै अथाह स्रोत–साधन, आफ्नै मानव संसाधन, आफ्नै व्यवस्थापन विधि समावेश र सञ्चालन गरेर अघि बढ्ने हो भने यो देशले आफ्ना सन्ततीलाई खुशी र सुख दिनलाई प्रशस्तैको प्राकृतिक भण्डार संगालेर राखेकोछ । आफूलाई जन्माउने, हुर्काउने र सिकाउँदै सक्षम बनाउने माता, पिता, गुरुजन र अग्रज परिवारको आदर–कदर गर्नपाउनुलाई हाम्रो संस्कारले गर्वको अवसर र असल नैतिकता भनेर शिक्षा दिँदै आएकोछ ।

प्रकृति हाम्रो दास होइन तर हामीलाई हुर्काउँदै अघि डो¥याउने अविभावक हो । भलो चाहने अविभावकले हठी सन्ततीलाई उपयुक्त अनुशासनको प्रयोगद्वारा सच्याउने अभिभारा पनि इमानदारीपूर्वक निभाउँछ । यसकारण हाम्रो संस्कारले सिकाएको नैतिकताको आधारमा हामीले प्रकृतिको कदर, वास्ता र देखरेख गर्नुपर्दछ । हामीले प्रकृतिको चालमा चाल मिलाएर सँगसँगै हिँडनुपर्दछ, न कि यसलाई उछिन्ने महत्वाकांक्षामा यसको अति दोहन गर्ने ।

प्राकृतिक ठहरको गतिलाई बेवास्ता गर्दै लालची महत्वाकांक्षाको पासोमा झुन्डिएर द्रूत उन्नतिको चोरबाटो छिर्नेहरु कसैले पनि दिगोपनको दूरगामी उन्नति हासिल गर्न सक्दैन ।जीवनादाताले हामीलाई सुख र शान्तिको सामाजिक जीवन प्राप्त हुन सकोस् भनेर स्थापित गरिदिएको प्राकृतिक व्यवस्थाअनुरुपको चालमा अघि बढ्दै, प्रकृतिले प्रदान गर्ने प्रशस्तीको शीतलता रसपान गर्ने वा त्यसको बेवास्ता गर्दै प्राकृतिक विपद्को पीडा निम्त्याउने, छनोट हाम्रो आफ्नै हातमा छ ।

प्रतिक्रिया दिनुहोस्