जोखिममा सिरियाको अस्तित्व



रामराज शर्मा

यतिखेर विश्वका प्रायः मुलुक कोभिड–१९ को प्रकोपमा परेकाछन् । उता सिरियाभने कोरोना र युद्ध दुवैको चपेटामा परेको छ । इरान र रसियाको भरपर्दो मित्र सिरियामा कोरोनाको तुलनामा युद्धको सन्त्रास धेरै छ । टर्की र रसियाको बीचमा पर्ने इडलिव प्रान्तमा भइरहेको युद्ध रोक्न युद्ध विराम सम्झौता हुँदा पनि सम्पूर्ण सिरियामा नयाँ युद्धको सम्भावना टरिसकेको छैन ।

सिरियाको गृहयुद्धका कारण विश्वका शक्तिसम्पन्न राष्ट्रहरु उक्त युद्धमा प्रत्यक्षरुपमा मिसिन पुगेका थिए । पेट्रोलियम पदार्थको प्रचूर भण्डार मात्र होइन, रणनीतिक, भौगोलिक अवस्थाका कारण सिरिया विश्व शक्ति राष्ट्रहरुको लागि निकै महत्वपूर्ण छ । अर्कोतर्फ सुन्नी र सिया मुस्लिम राष्ट्रहरुको शक्ति प्रदर्शन गर्ने भूमि बनेको छ सिरिया।

गतवर्ष अमेरिका, बेलायत र फ्रान्सले सिरियाका निश्चित सैनिक अखडाहरुमा आक्रमण गरेर आफूहरुलाई प्रत्यक्षरुपमा सिरियाको युद्धमा संलग्न गराएका थिए । कारण थियो– आसदका सेनाले रासायनिक हतियार प्रयोग गरेर विद्रोहीलाई दबायो भन्ने, तर उनीहरुको भित्री मनसाय भने आसादलाई युद्धमा हराएर सत्ताबाट हताउनु नै थियो । अप्रत्यक्षरुपमा भने यी देशहरु सिरियाको युद्धमा धेरै पहिलेदेखि नै संलग्न रहँदै आएका हुन् ।

अर्कोतर्फ रसिया र इरानले शुरुदेखि नै राष्ट्रपति बसर अल आसादलाई प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग गरी नै रहेका छन् । अहिले विकसित नयाँ घटनाक्रमहरुले विश्व जगत्लाई फेरि सिरियातर्फ आकर्षण गरेको छ र फ्री सिरियन आर्मीको हारसँगै आसादका सेनाद्वारा टर्कीका सैनिकहरुमाथि आक्रमण गरेमा टर्कीले सिरियाको जुनसुकै भूमिमा पनि आक्रमण गर्ने सोची सम्झौतालाई नमान्ने र हवाई तथा स्थल जुनसुकै मार्गबाट पनि आक्रमण गर्ने चेतावनी दिएको थियो र इडलिवमा युद्ध पनि चर्कियो। सिरियाको भूभागमा टर्कीले समर्थन गरेका विद्रोही समूह मात्र होइन, उसका केही सैनिक अखडाहरु पनि छन्, जसले आसादको सेनाविरुद्ध विद्रोहीलाई सहयोग गरिरहेको छ ।

सिरियन राष्ट्रपति बसर अल आसादको सत्ताको यात्रा पनि कम रोचक छैन। सन् १९७१ मा हाफेज अल आसादले राष्ट्रपतिको पद हत्याए र उनी आफू नमरुन्जेल सन् २००० सम्म शासन गरिरहे । उनको निधनपछि उनैका छोरा बसर अल आसाद राष्ट्रपति चुनिए । सिरियामा लगभग १३ प्रतिशत जनसंख्या रहेको अलवाइटे समूह (सिया समूह) बाट आएका हाफेज अल आसादले सन् १९७३ मा सिरियाको संविधानमा परिवर्तन गर्दै पूर्ण धार्मिक निरपेक्षता लागू गर्दै राष्ट्रपति हुनलाई मुस्लिम हुनुपर्ने कानुन खारेज गरेपछि नै बहुसंख्यक सुन्नी अरब मुस्लिम (जसको जनसंख्या ७५ प्रतिशतको हराहारीमा छ) हरुले आसादको विरुद्धमा जेहाद छाडेका थिए ।

पटक–पटक हाफेज अल आसादको सत्तापलट गर्ने प्रयासहरु नभएका होइनन् तर सुरक्षा अंगहरुमा अलवाइटे जातिको पकड रहेको हुनाले त्यो सम्भव भएन । आसाद परिवार धर्मिक मामिलामा नरम हुनु नै सुन्नी अरब मुस्लिमहरुको मुख्य दुश्मनको रुपमा दर्ज भएका थिए ।

मुस्लिम ब्रदरहुडलगायत अन्य सुन्नी समुदायहरुले निरन्तर आसादको विरुद्धमा संघर्ष गरी नै रहे । तर आसाद परिवार अन्य मामिलामा भने निकै क्रुर थिए, जनतालाई कुनै राजनीतिक स्वतन्त्रता थिएन र छैन, कुर्द समूहहरुको आवाज कहिल्यै सुनिएन, बहुसंख्यक सुन्नी अरब मुस्लिमलाई पेल्ने नीति नै थियो ।

त्यो अर्थमा आसाद परिवारले एक कडा तानाशाहको रुपमा राज्य चलाइरहेको थियो र छ पनि । त्यसैको परिणामस्वरुप सिया बाहुल्य राष्ट्र इरान र लेबनानी हेजबुल्लाह समूहहरुले सिरियाका राष्ट्रपति बसर अल आसादको पक्षमा खुलेर लागेका छन् भने टर्कीलगायत अन्य सुन्नी बाहुल्य राष्ट्रहरु आसादलाई सत्ताच्यूत गर्न प्रयास गरिरहेका छन् ।

सन् २०११ को मार्चबाट शुरु भएको आसादविरुद्धको आन्दोलन केही हप्ता शान्तिपूर्ण नै थियो । आन्दोलनकारीको माग पूर्ण प्रजातान्त्रिक व्यवस्था मात्र थियो । राजधानीलगायत देशका प्रमुख शहरहरुमा तीव्ररुपमा फैलिएको उक्त आन्दोलन बिस्तारै हिंसात्मक हुँदै गयो । आन्दोलनको माग पनि परिवर्तन हुँदै आसादको बहिर्गमनको माग शुरु हुन पुग्यो ।

केही हप्तामा नै सिरिया सरकारको दमनबाट एक हजारभन्दा धेरै आन्दोलनकारीको मृत्यु हुन पुग्यो भने १ सय ५० हाराहारी सुरक्षाकर्मीको हत्या आन्दोलनकारीबाट हुन पुग्यो । बिस्तारै केही सैनिक टुकडीहरु सत्ता विद्रोह गर्दै आन्दोलनकारीको समर्थनमा आसाद सरकारको विपक्षमा मिल्न पुगे । विद्रोह गरेका सैनिकहरुले फ्री सिरियन आर्मी भन्ने समूह गठन गर्दै अन्य छरिएर रहेका विद्रोही समूहहरुलाई एकीकृत गर्दै ठूलो समूह गठन गरेर सरकारविरुद्ध हिंसात्मक कारबाही शुरु गरे । हतियारसहितका विद्रोहीहरुको समूहले छिट्टै केही ठूला शहरहरु कब्जा जमाएपछि सिरियाको आन्दोलनले गृहयुद्धको रुप लियो ।

सन् २०१४ मा आइसिसको सिरिया र इराकमा तीव्र उदयपछि सिरियाको धेरै भूभागमा उनीहरुको कब्जा थियो । टर्कीले फ्री सिरियन आर्मीमा रहेका केही टर्क मुस्लिम समूहहरुलाई हतियारसहित सहयोग गरिरहेको थियो र छ । अमेरिका, बेलायत र अन्य पश्चिमा देशहरुले आईएसएसविरुद्ध लड्नको लागि भन्दै तुलनात्मकरुपमा नरमपन्थी सुन्नी विद्रोही समूहहरुलाई हतियार आपूर्ति गरिरहेका थिए ।

टर्की, सिरिया र इराकको सिमानामा बाहुल्यता रहेका कुर्दिस विद्रोहीहरु पनि छुट्टै कुर्दिस्तान राज्य स्थापित गर्ने भनेर लामो समयदेखि हतियारसहित लडिरहेका छन् । कुर्दहरुलाई टर्कीले आफ्नो देशमा रहेका विद्रोही पिकेके गुरिल्लासँग साँठगाँठ रहेको भन्दै उनीहरुविरुद्ध टर्क मुस्लिमहरुलाई भिडाउन सफल रह्यो । फलस्वरुप सिरियाको भूमिमा बहुपक्षीय लडाइँहरु धेरै भए ।

इरान, रसिया र लेबनानी हजबुल्लाह समूहको समर्थनमा सिरियन सरकार, कडा मुस्लिम शासन लागू गर्ने लक्ष्यका साथ लडिरहेको आइसिस, राष्ट्रपति आसादलाई सत्ताच्यूत गरेर आफ्नो सरकार ल्याउन खोज्ने फ्री सिरियन आर्मी समूह जो मुख्य विद्रोही समूह हो, अल काइदा समर्थित नुस्रा फ्रन्ट र उसका सहयोगी समूहहरु र छुट्टै राज्य स्थापनाको लागि लडिरहेका कुर्दहरु एक–आपसमा लडाइँ लडिरहे ।

कुन समुह कुन ठाउँमा कतिखेर कोसँग लडाइँ लडिरहेको हुन्छ, छुट्याउन नै गाह्रो पर्ने अवस्था थियो सिरियामा । आइसिस अब पराजित भइसकेको अवस्थामा छ भेने फ्री सिरियन आर्मी र टर्किस समर्पित लडाकाहरुको पराजय निश्चितजस्तै भइसकेको छ, उनीहरु इडलिवको सानो इलाकामा खुम्चिन पुगेका छन् ।

संयुक्त राष्ट्र संघको अग्रसरतामा सन् २०१२ र २०१५ मा शान्ति वार्ता गराउने प्रयासस्वरुप सरकार र विद्रोही पक्षबीच युद्ध विराम नभएको पनि होइन । तर त्यो केही दिनभन्दा टिक्न सकेन । दुवै पटक सिरियन सरकारले विद्रोहीहरुले कब्जा जमाएका क्षेत्रमा नरसंहार गरेको आरोपसहित ती युद्ध विरामहरु तोडिएका थिए । शुरुको केही वर्ष विद्रोही समूह फ्री सिरियन आर्मी (जसलाई आइसिसविरुद्ध लड्नको लागि भन्दै अमेरिका र पश्चिमी देशहरुले हतियार सहयोग गरिरहेका थिए) ले लगातार एकमाथि अर्को जित हासिल गर्दै सिरियाको धेरै शहरहरुमा कब्जा जमाउन सफल पनि भएका थिए ।

राष्ट्रपति आसादले विद्रोहीहरुले कब्जा गरेका स्थानहरुमा रसिया, इरान र लेबननी हेज्बुल्लाहको सहयोगमा भीषण आक्रमण जारी राख्दै बर्बरतापूर्वक हत्या गर्ने क्रम जारी राखे । उनले सन् २०१४ मा राष्ट्रपतिको चुनाव घोषणा गर्दै आफू पुनः उक्त चुनावमा उम्मेदवार बने । नाममात्रको उक्त चुनाव सबै विद्रोहीले बहिष्कार गरे भने ८८ प्रतिशत मतसहित आसाद पुनः राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरियो ।

यो चुनावले आसादलाई विद्रोहीमाथि थप आक्रामकरुपमा प्रस्तुत हुन बल मिल्यो । आसादका सेनाले विद्रोहीहरुका कब्जामा रहेका शहरहरुमा लगातार हवाई र जमिनबाट भीषण आक्रमण गर्दा लाखौं निर्दोष जनताले ज्यान गुमाउन पुगे भने करोडभन्दा धेरै जनताले आफ्नो थलो छाडेर शरणार्थी बन्न बाध्य बने । अहिलेसम्म सिरिया युद्धमा ५ लाखभन्दा धेरैले ज्यान गुमाइसकेका छन् भने १ करोड ३० लाख जनता आन्तरिक र बाह्य शरणार्थी बनेका छ्न् ।

सिरिया अहिले मुख्यरुपमा ४ समूहको कब्जामा छ । देशको अधिकांश भूभागमा आसादका सेनाहरुको पकडमा पुगेको छ भने अफ्रिन शहर र वरिपरि टर्कीका सेना र टर्कीद्वारा समर्थन गरिएका विद्रोहीको कब्जामा छ। टर्कीकै सिमानामा रहेको धेरैजसो उत्तरी सिरियाको भाग कुद्रिस लडाकुहरुले कब्जामा राखेका छन् भने इडलिव प्रान्त फ्री सिरियन आर्मी र जिहादी विद्रोहीहरुको कब्जामा छ। अहिले इडलिवबाट आसादका सेनाले रसिया र हेजबुल्लाहको सहयोगमा विद्रोहीहरुलाई धपाउने प्रयास जारी राखेका छन् र सफल पनि हुँदै छन् । विद्रोही फ्री सिरियन आर्मीको यो नै अन्तिम अखडा हो।

इडलिव र अफ्रिन जोडिएका प्रान्तहरु हुन् । यो क्षेत्रमा टर्किस सेना जमेर बसेको छ । हालसालै आसादका सेनाले केही टर्किसविद्रोही र सेनालाई हत्या ग¥यो । तर अब आसादका सेना विजयको नजिक पुग्दा आफ्नो पकडमा रहेको भूभाग फुत्किन्छ कि भन्ने डरले टर्कीले सिरियालाई चेतावनी दिइसकेको छ । इडलिवमा भीषण युद्ध हुने सम्भावनाको बीचमा रसिया र टर्कीले युद्ध विराम त गरेका छन् तर त्यो कत्तिको टिकाउ हुन्छ, हेर्न बाँकी नै छ ।

सिरियाको गृहयुद्धमा आसादको विजय हुनु भनेको मध्यपूर्वमा इरान र रसियाको पकड मजवुत हुनु पनि हो भने उदाउँदो शक्ति टर्कीको दबदबामा ब्रेक लाग्नु पनि हो । अब इजरायलले थप दबाब महसुस गर्नेछ भने लेबनानी हेज्बुल्लाहहरुले पकड कडा बनाउनेछन् । टर्की र रसियाको सम्बन्ध यही कारण चिसिन शुरु भइसकेको छ ।

नौ वर्षको गृहयुद्ध अन्त्य हुने र सिरियामा शान्ति छाउने आशाहरुमा फेरि काला धब्बाहरु देखिनशुरु गरेका छन् । कुर्दहरु आसादप्रति त्यति धेरै नकारात्मक छैनन् तर अन्य विद्रोही समूहहरु अहिले पराजितजस्तो देखिए पनि भित्रीरुपमा हारेका छैनन् । हतियारले ल्याएको शान्ति दिगो पक्कै हुन्न। आसाद अब झनै क्रूर हुने पक्का छ, लोकतन्त्रको मार्गमा देश जाने सम्भावना छैन ।

आसादको यो जितले केही समय त देशमा मुर्दा शान्ति आउला तर केही वर्षमा जनआक्रोश फेरि पोखिँदैन भन्ने कुनै ग्यारेन्टी छैन ।त्यसैले सिरिया यतिखेर कोरोना भाइरस र युद्धको दोहोरो चपेटामा परेको छ ।
(लेखक शर्मा बेलायतमा कार्यरत इन्जिनियर हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्