के साच्चै नेपालीहरु खान नपाएर विचल्ली भएकै हो त?



संजयभक्त कंडेल, लन्डन ।

सबैभन्दा ठूलो कल्चर र अनुशासन नै हुन अनि अनुभवले पनि व्यवस्थित गर्दो रहेछ मान्छेलाई । क्षणिक आवेग र वुझाईको कमीले धेरै अप्ठ्याराहरुको सामना गर्नु पर्ने हुन्छ मान्छेले । नबिर्सौ यो समाज हो हामी सामाजिक प्राणी हौ र सामाजिक व्यवहारमा नै विश्वाश राख्छौ ।

आफ्ना नागरिकको सुरक्षामा राज्य जिम्मेवार हुनुपर्छ यो अकाट्य छ । साधन , श्रोत र क्षमताले भ्यायसम्म राज्यले आफ्ना नागरिकको रेखदेख र सुरक्षामा कुनै कसुर राख्न मिल्दैन I भोकमारी, प्राकृतिक प्रकोप , दुर्घटना , युद्ध जस्ता कठिन र संवेदनशिल परिस्थितिमा राज्यसंग समन्वय र सहयोगी भई अनुशासित बन्नुको विकल्प छैन ।

मानव विकाश र सभ्यतामा निकै अगाडि रहेको युरोप अहिले रोग महामारीले आक्रान्त छ । युरोपियनहरू सरकार मातहत र निकाए अन्तर्गतका निति र नियमहरुलाई अनुशासित भई पालना गरेर राज्यलाई सहयोग गरिरहेका छन र यो एउटा सुन्दर अभ्यास पनि हो ।

हामी लगभग दुईलाख नेपालीहरू पनि बेलायतमा छाै । यो रोग प्रकोपको समय हो । कसैलाई थाहा छैन हामीमध्य कतिलाई रोग लागिसकेको छ वा लाग्नेछ । यसको समाधान न एक व्यक्ति वा सामाजिक संस्थाले गर्छ न त सरकार नै यसलाई व्यवस्थित गर्न सक्छ । त्यसैले नेपाल सरकार र विदेशस्थित तिनका कुटनितिक निकाय , विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु , एनआरएनए लगाएत सम्पूर्ण नेपालीहरु अहिले एक हुनुको विकल्प छैन ।

कुरा १० केजी चामल र ३ वटा कोठा अनि दुई जना समाजसेवीको होइन । नेपालीहरू खान पाएका छैनन , रोडमा सुतेका छ्न , बेलायतमा नेपालीको विजोग छ भनेर गरिने अनावश्यक प्रचारबाजी र हाम्रा अभ्यासले नेपालमा रहने अभिवावकमा पर्ने असर र अन्तर्राष्ट्रीय समुदायमा हाम्रो व्यवहार , संस्कार र क्षमताको प्रभाव र प्रश्न चिन्ह हो ? त्यति भन्दैमा जिम्मेवारबाट पन्छिएर समाजसेवा गर्नेको मन दुःखाउने भने पटक्कै होइन यसले हामी माथि पार्ने दुरगामी असरका बारेमा चिन्तित मात्रै हो ।

पछिल्लो अभिलेखमा यूकेमा ५०० को हाराहारीमा नयाँ नेपाली विद्यार्थीहरु भित्रिएका छन । नेपाली दुतावास लण्डनले नेपाली विद्यार्थीहरु अध्ययन गर्न आएका वेलायती विश्वविद्यालयहरूमा सम्पर्क गरेर उनीहरुको व्यवस्थापनमा बेलायत सरकार , नेपाल सरकारसंग छलफल गरिसकेको छ । नेपालबाट समयमै उड्न नपाएका गोर्खाहरुको पेन्सन निरन्तर राख्न बेलायत सरकारलाई पत्राचार गरेको छ । भिषाका कारणले नेपाल जान नपाएका विभिन्न खाले नेपाली लगायत अन्यलाई मे ३१, २०२० सम्म वेलायतमा कानुनीरूपले बस्ने व्यवस्था मिलाएको छ । ९८ प्रतिशत राजदुतावास लण्डनमा बन्द भइसकेका छन तर पनि नेपालीहरुका समस्या सम्बोधन र व्यवस्थापनका लागि नेपाली दुतावास खुल्ला रहेको छ । आपतमा परेका विद्यार्थी र नेपालीलाई व्यवस्थापन गर्न नेपाली दुतावासले विभिन्न नेपाली सामाजिक संघसंस्था र एनआरएनए मार्फत आफ्नो काम शुरु गरिसकेको छ ।

हामीलाई सूचनाको अभाव मात्रै भएको हो । बेलायत सरकारका साथै आप्रवासी र अन्तर्राष्ट्रीय विद्यार्थीका लागि सहयोग गर्न सयौंका हाराहारीमा च्यारिटीका संस्थाहरु छन । मन सानो बनाउने , आफूखुशी विषयवस्तुलाई व्याख्या गर्ने , बदला लिने , राजनैतिक प्रतिशोध लिने, अरुलाई दोष दिने , सरकारको आलोचना गर्ने भन्दा पनि एउटा संस्कारयुक्त व्यवस्थापनमा जुट्नु पर्ने बेला हो यो ।

हामी लण्डनमा भोका छैनौ र रोडमा पनि सुतेका छैनौ मात्र हामी संस्कार र अभ्यासका गरिव हौ । आफूभित्रका समस्या पहिचान गरौ ५ /१० केजी र एक रातको निँद्रा विकराल समस्या होइन । चुरो कुरो हाम्रो असभ्यता र क्षमताको हो ।

प्रतिक्रिया दिनुहोस्