सैनिकको रगतले बचायो ज्यान



SONY DSC
विमल विष्ट, डोटी
नेपाली सेनाले सुदूरपश्चिममा रगतदान गरेर १ सय १० जनाको ज्यान बचाएको छ। सुदूरपश्चि पृतना हेडक्वाटर दिपायल राजपुरले दिएको जानकारीअनुसार आर्थिक वर्ष विसं २०७६/७७ मा पृतना मातहत रहेका विभिन्न युनिटका ९२ जना अधिकृत तथा अन्य सैनिकहरूले आफ्नो रगत दिएर यहाँका १ सय १० जना स्थानीयको ज्यान जोगाएको बताएको छ।
सुदूरपश्चिमका स्वास्थ्य संस्थाहरूमा रगत नपाउने हुँदा यहाँका सैनिकले रगतको आवश्यकता परेका महिला तथा पुरुषहरूलाई निःशुल्क रूपमा रगत दान गरेका कारण उनीहरूको ज्यान जोगिने गरेको छ। सेनाले सुदूरपश्चिममा आफ्नो रक्तदान कार्यलाई निकै अग्रता दिएपछि स्थानीयमा पनि खुसी छाएको छ। कसैलार्ई रगतको आवश्यक परे यहाँ कार्यरत सैनिकले जुनसुकै अस्पतालमा गएर भए पनि रगतदान गर्दै आएका छन्।
समयमै रगत नपाउँदा विगतका वर्षमा यहाँका अधिकांश महिला तथा पुरुषको अकालमै ज्यान जाने गरेको भए पनि पछिल्लो समयमा नेपाली सेनाले भनेकै समयमा सहजै रूपमा रगत दिन थालेपछि स्थानीयवासीहरूले निकै राहत पाउनुका साथै उनीहरूको ज्यान जोगिन थालेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी स्थानीय तथा वडा सदस्य पार्वती विकले बताउनुभयो। यति मात्र नभएर जिल्लामा स्थानीय तहको पहलममा एउटा यहाँ ब्लड बैंक तत्कालै स्थापना गर्नुपर्ने अति जरुरी भएको उहाँको भनाइ छ।
सेनाले प्रायः गरी अछाम, बझाङ, बाजुरा, बैतडी, दार्चुला, डडेल्धुरा तथा डोटीका सुत्केरी महिला तथा विभिन्न घटनामा परी घाइते भएकालाई रगतदान गरेर ज्यान बचाएको नेपाली सेनाको डोटीको सिलगढीमा तैनाथ रहेको रुद्रध्वज गणका गणपति तथा प्रमुख सेनानी रत्नकेशर खड्काले बताउनुभयो।
डोटीलगायत समग्र सुदूरपश्चिम प्रदेशका कुनै पनि व्यक्तिलाई रगतको आवश्यक परे उनीहरू नेपाली सेनाको ब्यारेक धाउने गर्छन्। सेनाले आफू मातहत रहेका सम्पूर्ण सैनिक कर्मचारीको रगत ग्रुप पहिले नै छुट्याएर राख्ने तथा भनेको बेलामा जुनसुकै समयमा पनि रगत दिन तयार हुने भएकाले यहाँका स्थानीय सेनाका ब्यारेक तथा युनिटमा रगत माग्न धाउने गरेको आफूले पाएको दीपायल पिपल्ला स्थित शैलेश्वरी अस्पतालका निर्देशक आइजंङ कुँवरले बताउनुभयो।
उहाँले भन्नुभयो– ‘रगतको अभावमा बिरामीको ज्यान नै खतरामा परिसकेको हुन्छ, नयाँ मान्छे बोलाएर रगत ग्रुप पत्ता लगाउँदासम्म ढिलो भइहाल्छ, सेनाले पहिले नै रगत ग्रुप छुट्याएर राख्ने भएकाले हामी पहिलो खबर ब्यारेकमै गर्छौं र सहजै ब्लड पाइन्छ।’ यहाँका पहाडी जिल्लाहरूमा रगत अभावका कारण कैयौं स्थानीयको अकालमै ज्यान गइसकेको छ।
जिल्लामा रहेका स्थानीयहरूमा रगत दान गर्नुपर्छ भन्ने बानीको विकास भइनसकेकाले जिल्लामा रगत सहजै पाउनमा समस्या हुने गरेको चोपडा अस्पताल दिपायल पिपल्लाका निर्देशक हिक्मतसिंह चोपडाले बताउनुभयो। जिल्लामा रगत संकलन गर्नका लागि नेपाल रेडक्रस सोसाइटीले खोलेको ब्लड बैंकमा रगत नपाउँदा वर्षौदेखि बन्द अवस्थामा रहेको छ।
त्यस्तै, यहाँको निजी क्षेत्रको अस्पातल शैलेश्वरीले पनि रगत संकलन गर्न अभियानको शुरुआत गरे पनि रगतदान गर्ने व्यक्ति नपाउँदा बन्द अवस्थामा रहेको सो अस्पतालका चिकित्सकहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्