‘पर्व संरक्षणमा स्थानीय तह उदासीन’ फागुन १४ र १५ मा सम्यक महादान



नेपाल समाचारपत्र ललितपुर।

पाँच वर्षमा एकपटक ललितपुरमा हुने सम्यक महादान पर्व यही फागुन १४ र १५ हुने भएको छ। हिरण्यवर्ण महाविहार (क्वाबहाः)का लागि इतिल्हने सम्यक महादान आयोजक समितिको व्यवस्थापनमा सो पर्व हुन लागेको हो। यस पर्वलाई लिच्छिविकालीन संस्कृति र सभ्यताको धरोहरको रूपमा लिइन्छ।

सात सय वर्षदेखि यो पर्व निरन्तर चल्दै आएको छ। १८६१ सालसम्म प्रत्येक वर्ष सञ्चालन हुँदै आएको सो पर्व १८६२ सालदेखि प्रत्येक पँँच वर्षको एकचोटि सञ्चालन हुन थालेको हो। तत्कालीन राजा रणबहादुर शाहले गुठीको जग्गा सरकारी गर्न थालेपछि गुठीको आम्दानी कम भयो। यसले गर्दा पाँच वर्षको एकचोटि सो पर्व आयोजना गर्न थालिएको हो। अब हुन लागेको पर्व ५३औं हो।

यस पर्व सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको प्रचारप्रसारका संयोजक लोकमान शाक्यले बुधबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिनुभयो। नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको संयोजनमा सो पत्रकार भेटघाट भएको थियो। यस पर्वले दानको महत्व, बौद्ध संस्कृति र संस्कारको अभिव्यक्त गरेको संस्कृति अध्येयता लोकरत्न शाक्यले पत्रकार भेटघाटमा बताउनुभयो।

पर्वको पहिलो दिन राति काठमाडौं उपत्यकाका विभिन्न विहार र महाविहारबाट ल्याइएका १ सय २६ देवी देवताका मूर्तिलाई पाटन दरबार क्षेत्रमा राखिनेछ।यसरी ल्याइएका दिपंकर बुद्ध, अवलोकितेश्वर, पसुन्धरादेवी, आर्यतारालगायत देवीदेवताहरूलाई परम्परागत बाजागाजाका साथ इतिहल्हने (नागबहालमा) लगिनेछ।

परम्परा अनुरूप फागुण १४ गते बुधबार बेलुकी ७ बजेदेखि देवीदेवतालाई क्रमबद्ध राख्न शुरू गर्ने र १० बजे सम्यक महादान हुने मुख्य स्थान नागबहालमा लगिने संयोजक शाक्यले बताउनुभयो।

त्यसको भोलिपल्ट अर्थात् फागुण १५ गते बिहीबार महाविहारका २० ज्येष्ठ व्यक्ति (बीस स्थवीर आजु) ले विशेष पूजाआजा गरी दान दिने परम्परा रहेको छ। यही दान दिने कार्य नै पर्वको मुख्य सार रहेको अध्ययेता शाक्यले बताउनुभयो।

यस पर्व भगवान् गौतम बुद्धको उपदेश दानपारमिता र त्यसको महत्वसँग सम्बन्धित रहेको छ। यसपर्वको शुरुआतसँग एउटा किंवदन्ती चलनचल्तीमा रहेको छ। ठकुरी वंशका राजा भाष्करदेवका एकजना सन्तान समयक्रममा निकै गरिब बन्दै गएको थिए ।

भरिभारो नाम गरेका ती व्यक्तिले आफ्नो गरिबी लुकाउन गोबर जम्मा गर्न थाले। भरिभारो गरिब भए पनि बुद्ध धर्मप्रति निकै आस्था र समर्पित थिए। धर्मप्रतिको आस्थाले गर्दा उनले जम्मा गर्न थालेको गोबर पछि सुनमा परिणत भएको थियो। धर्मकै कारणले सम्पत्ति प्राप्त भएको विश्वास गर्दै सम्यक महादान पर्व आयोजना गर्ने गरिएको जनविश्वास रहेको छ।

पर्वमा रोटी दान दिनका लागि धार्मिक विधिपूर्वक चुल्हो बनाउने, र फागुण ६ गते नागबहालमा रहेको वासुकी नागराज र चम्पक नागराजको पूजा गरिएको थियो। फागुण–८ गते बिहीबार योसि द्यः ठड्याउने कार्यक्रम रहेको पनि संयोजक शाक्यले बताउनुभयो।

‘पर्वको संरक्षणमा महानगरपालिको ध्यान गएन’

यस्तो अमूर्त संस्कृतिको धरोहरको संरक्षणमा ललितपुर महानगरपालिकाले उदासीनता देखाएको समितिका अध्यक्ष विकासरत्न धाख्वाले पत्रकार भेटघाटमा बताउनुभयो। ‘ललितपुरलाई सांस्कृतिक नगरी बनाउने भन्ने कुरो भाषणमा खुबै सुनिन्छ। तर, पर्वको संरक्षणतर्फ महानगरपालिकाका जनप्रतिनिधिहरूको ध्यान गएको देखिएन। यस्तो तरिकाले सांस्कृतिक नगरी कसरी बन्छ ?’ अध्यक्ष धाख्वाले भन्नुभयो।

१६ वडाबाट २ लाख ५० हजार सहयोग गरेकालाई नै महानगरपालिकाले गरेको सहयोग भनेर सम्झिनुपर्ने अवस्था रहेको बताउँदै अध्यक्ष्ँ धाख्वाले भन्नुभयो– ‘जबकि पर्व सञ्चालन गर्न करिब ४० लाख रुपियाँ आवश्यक पर्छ।’

प्रतिक्रिया दिनुहोस्