५२ औं ‘साक्षर’ जिल्ला काभ्रेपलाञ्चोक घोषणा



मोतीराम तिमल्सिना, काभ्रे ।

काभ्रेपलाञ्चोक जिल्ला ९६.४८ प्रतिशत नागरिकलाई साक्षर भए सँगै ५२ औ साक्षर जिल्ला घोषणा गरिएको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको प्रस्तावमा काभ्रेपलाञ्चोक जिल्लालाई साक्षर घोषणा गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले मुलुकलाई साक्षरबाट शिक्षित नेपाल बनाउने बताउनु भयो । २०७१ बाट शुरु भएको साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रम निरन्तर चलिरहेको बताउँदै मन्त्री पोखरेलले दुई वर्ष भित्र मुलुकलाई शिक्षित नेपाल घोषणा गर्ने बताउनु भयो ।

‘काभ्रैपलाञ्चोक जिल्ला शैक्षिक हबका रुपमा विकास भएको छ, काठमाडौ विश्वविद्यालय मात्रै नभई अन्य थप विश्वविद्यालयहरुका लागि काभ्रे उपयुक्त स्थानका रुपमा छनौट भएको छ’–मन्त्री पोखरेलले भन्नु भयो–‘भाषाका नाममा नेपाली भाषा कमजोर बनाउने शिक्षा प्रणाली भन्दा जनशक्ति निर्माण गरी सिकाई केन्द्रित अध्ययनमा लाग्नु पर्छ ।’ शिक्षा नीतिका आधारमा तीनवटा विधेयक तयार गरिएको बताउँदै मन्त्री पोखरेलले प्राविधिक र कम्प्युटर शिक्षामा जोड दिन विद्यालयहरुलाई आग्रह गर्नु भयो ।

‘शिक्षामा आधारभुत परिवर्तन गर्न सकेका छैनौ’–उहाँले भन्नुभयो–‘घोकाउने, कण्ठस्थ गराएर तीन घण्टाको परिक्षा लिएर वर्ष दिनको परिणाम खोज्ने थोत्रो र खोक्रो शिक्षा प्रणालीको अन्त्य गरी सिकाई केन्द्रित गरिनु पर्छ ।’ शिक्षाको आफ्नै मौलिकता भएकाले स्थानीय, राष्ट्रिय र अन्र्तराष्ट्रिय पक्षलाई समेत समेट्न सक्नु पर्ने उहाँले बताउनु भयो । जिल्लाको शैक्षिक हबलाई अगाडी बढाउन जिल्ला स्तरीय शैक्षिक सम्मेलनका लागि मन्त्री पोखरेलले प्रस्ताव गर्नु भएको थियो ।

प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर दोङ्गले जिल्लाको साक्षरता प्रतिशतलाई पूर्ण बनाउने अभियानमा स्थानीय सरकार कृयाशिल बनाउनु पर्ने बताउनु भयो । प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले शिक्षाको मियो आधारभुत तह देखि नै गुणस्तरीय र प्राविधिक हिसावले दक्ष जनशक्ति उत्पादनमा जोड दिनु पर्ने बताउनु भयो । नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले काभ्रेपलाञ्चोक जिल्लालाई शैक्षिक हब बनाउने गरी शैक्षिक अभियानलाई अगाडी बढाई रहेको बताउनु भयो । गाउँपालिका अध्यक्ष सलामसिं लामाले स्थानीय सरकारले शैक्षिक क्षेत्र सुधारका लागि कार्य गरिरहेको बताउनु भयो । शिक्षा मानव संसाधन विकास विभागका महानिर्देशक तुलसीप्रसाद थपलियाले देशभर साक्षर अभियानलाई तिब्र बनाएको बताउनु भयो ।

कार्यक्रमम शिक्षा विकास समन्वय इकाई प्रमुख गोकर्णध्वव कार्कीले जिल्लाको साक्षरताको अवस्थाका बारेमा बताउनु भएको थियो । समन्वय प्रमुख उद्धव केसीले जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख, उपप्रमुखहरुलाई साक्षर घोषणा गरेकोमा प्रमुख अतिथी मन्त्री पोखरेलबाट प्रशंशापत्र प्रदान गर्नु भएको थियो ।

यस्तो छ साक्षर काभ्रेको तथ्याङ्क

२०६८ सालको जनगणना अनुसार काभ्रेपलाञ्चोक जिल्लामा १५–६० वर्ष उमेर समुहका ३ लाख ७३ हजार ७ सय २७ मध्ये ३ लाख ६० हजार ५ सय ६० जनालाई साक्षर बनाईएको छ । ९६.४८ प्रतिशत नागरिकलाई साक्षर बनाईएको समन्वय समितिका प्रमुख उद्धव केसीले बताउनु भयो । जिल्लामा रहेका १३ वटा स्थानीय तहले पालिकाहरुलाई साक्षर घोषणा गरे सँगै जिल्लालाई साक्षर घोषणा गरिएको हो । साक्षर काभ्रे घोषणाका लागि स्थानीय तहहरुमा निरन्तर ६ वर्ष देखि साक्षरता कक्षा संचालन गर्दै आएको थियो । स्थानीय तह अनुसार रोशी गाउँपालिका सबै भन्दा धेरै साक्षर भएको पालिका हो । ९८.९८ प्रतिशत नागरिक रोशीमा साक्षर भएका छन् ।

त्यस्तै धुलिखेल नगरपालिकामा ९८.०७, महाभारत ९७.९८, बनेपा ९७.०९, खानीखोला ९६.७१, नमोबुद्ध ९६.४०, मण्डनदेउपुर ९५.२७, बेथान्चोक ९५.०१, भुम्लु ९५.०५, पनौती ९६.०५, चौरीदेउराली ९६.८३, पाँचखाल ९५.४३ र तेमाल गाउँपालिका ९५.९७ प्रतिशत नागरिक साक्षर भएका छन् ।

काभ्रेपलाञ्चोक जिल्लालाई साक्षर सँगै पूर्ण साक्षर बनाउने अभियानमा स्थानीय तहहरु सक्रिय भएका छन् । यस अघि काभ्रेपलाञ्चोक जिल्लालाई पूर्ण खोप, खुल्ला दिशामुक्त, दुध। मासु र अण्डामा आत्मनिर्भर जिल्ला घोषणा गरिएको छ । पूर्ण सरसफाई र पूर्ण साक्षर लगायतका कार्यक्रममा जिल्लाका विकास निर्माणहरु अगाडी बढेका छन् । दिगो विकास लक्ष्यका लागि यि कार्यक्रमहरु प्रभावकारी मानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्