शैक्षिक जिम्मेवारी



नयाँ र रङ्गीन पाठ्यपुस्तक पाउने आसमा बसेका विद्यार्थीलाई जनक शिक्षा सामग्री संस्थान लिमिटेडले निरास बनाएको छ। हिजोबाट शैक्षिक सत्र शुरू भएको कर्णालीका तीन र गण्डकी प्रदेशका दुई गरी पाँच जिल्लाका विद्यार्थीले रङ्गीन पुस्तक पाउन नसकेको समाचारमा जनाइएको छ।
जनक शिक्षाले हरेकपटक सरोकारवाला निकायको बैठकमा रङ्गीन पुस्तक पुर्याउने जनाउँदै आएको तर शैक्षिक सत्र शुरू भएको पाँच जिल्लाका विद्यार्थीको हातमा समेत पुस्तक पुर्याउन नसकेको अवस्था छ।
२४सै घण्टा प्रेस सञ्चालन गरी दैनिक एक लाख पुस्तक उत्पादन गर्ने लक्ष्य राखेको जनकले पछिल्लो समय कागजका अभावलाई कारण देखाउँदै पुस्तक उत्पादन गरेको छैन। गत वर्ष समयमै पुस्तक छपाइ गरेर वाहवाही कमाएको जनकले यो वर्ष पुस्तक छपाइ गर्न सक्ने अवस्था रहेन।
तथ्याङ्कअनुसार कक्षा ६–८ मा अध्ययनरत विद्यार्थीका लागि १ करोड १० लाख थान पाठ्ययपुस्तक आवश्यक पर्छ। तीमध्ये हालसम्म करिब २७ लाख थान मात्र पाठ्यपुस्तक छपाइ भएको छ। कक्षा १–३ र ९–१० कक्षाका पाठ्यपुस्तक छपाइ गरिसकेको बताइएको छ।

कक्षा ६–८ को अझै ८० लाख थान पाठ्यपुस्तक छपाइ हुन बाँकी छ। अनुगमकारी निकाय शिक्षा तथा मानव स्रोत केन्द्रका अधिकारीलाई झुटो तथ्याङ्क दिएर समयमै पुस्तक पुर्याउने दाबी गर्ने जनकका उच्च कर्मचारीले आफ्ना कर्मचारीलाई विश्वास नगर्दा समस्या बढेको बुझिएको छ। चार वर्षअघि १–३, दुई वर्षअघि ४ र ५ र यस वर्ष आगामी शैक्षिकसत्र २०७७ का लागि कक्षा ६–८ को रङ्गीन पुस्तक छपाउने निर्णय भएको थियो।

जनकले पाठ्यक्रम विकास केन्द्रले समयमै कम्प्युटर तयारीप्रति नदिएको बहानामा ढिलाइ गरेको आरोप लगाएको थियो। त्यसको प्रतिवाद गर्दै पाठ्यक्रम विकास केन्द्रले आफूले काम गर्न नसकेपछि अरूमाथि दोष थुपारेको जनाएको छ। पुस्तक छपाइ गर्ने सिजनामा ठेकेदारको भरमा चलिरहेको संस्था आफ्नै कारणले गर्दा बदनाम हुने अवस्थामा पुगेको छ।
अर्कोतिर स्टकमा रहेको एक रङ्गको पुस्तक बिक्री गर्ने योजनाले गर्दा अधिकांश विद्यार्थीले केही रङ्गीनसंगै एक रङ्गको किताब किन्न बाध्य हुनुपर्ने अवस्था आएको छ। हाल कक्षा ५ देखि १० सम्म ४१ लाख ९४ हजार ३७ विद्यार्थीका लागि १ करोड ९८ लाख पाठ्यपुस्तक छपाइ भइसकेको जनाइएको छ। कक्षा ६–८मा धेरै विद्यार्थी भएको कारण कसरी पुस्तक व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गर्नु आवश्यक छ। तथ्याङ्कअनुसार हाल कक्षा १–१० मा २ करोड २० लाख पाठ्यपुस्तक छपाइ गर्नुपर्छ।
आजको मुलुक विगत दशकमा जस्तो यातायात र प्राविधिक दक्षताको कमीका कारण विकल्परहित अवस्थामा गुज्रनुपर्ने अवस्थामा छैन। कतिपय क्षेत्रमा विकसित मुलुकसँग तुलना गरेर हेर्दा हाम्रो अवस्था कमजोर नै होला, तर हाम्रा विद्यार्थीले रङ्गीन पाठ्यपुस्तक पढ्नका लागि सपना मात्र देख्नु सुहाउने विषय होइन। यो सबै शिक्षा क्षेत्रलाई जुन परिमाणमा महत्व दिनुपर्ने हो, दिन नसकेका कारण भएको हो। आशा गरौं, जनक शिक्षाले आफ्नो जिम्मेवारीप्रति इमानदारी देखाउनेछ।

प्रतिक्रिया दिनुहोस्