जङ्गलका भेडामा देखिएको महामारी ‘पिपिआर’



नरेन्द्र केसी, दाङ।

रुकुम पूर्वबाट दाङमा चराउन ल्याइएका भेडामा देखिएको रोगको पिपिआर भएको पुष्टि भएको छ। भेटेरिनरी अस्पताल र घोराही उपमहानगरको पशु सेवा शाखाका चिकित्सकहरूले ल्याएको नमूना परीक्षणपछि पिपिआर पुष्टि भएको हो।२३ वटा भेडाबाख्राको रगतमा रहेको पानी (सिरम) जाँच गर्दा ३ वटामा पिपिआर रोगको संक्रमण देखिएको पशु सेवा शाखा घोराहीका प्रमुख जिवराज पौडेलले जानकारी दिनुभयो।

क्षेत्रिय पशु रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा जाँच गर्दा उक्त संक्रमण देखिएको हो। अब बुधबारदेखि भेडा राखिएका सैघा पाँचपोखरीका गाउँहरूमा रहेका बाख्राहरूमा समेत पिपिआर रोगविरुद्धको सुई लगाउने तयारी भएको उहाँले जानकारी दिनुभयो।भेडाबाख्राहरूको पशु चिकित्सकहरूले निरन्तर उपचार गरिरहेका छन्। तेस्रो चरणमा मंगलबार क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट आएको चिकित्सक डा. लक्ष्मीनारायण दास सहितको ४ जना प्राविधिक, भेटेनरी अस्पतालका पशु चिकित्सक शशिधर शर्मा, घोराही पशु सेवा शाखा प्रमुख जीवराज पौडेल, प्राविधिक महेन्द्र चौधरी सहित वडा सदस्य जंग रोकाको टोली भेडाबाख्राको उपचार गरेको छ।

सुर्खेतबाट आएको टोलीले भेडाका विभिन्न नमुनाहरू सङ्कलन गरेर जाँचका लागि लगेको जनाएको छ। रुकुमपूर्व लुकुमबाट चिसो छल्न र चराउन ल्याएका भेडाहरूमध्ये अहिलेसम्म रोल्पा र दाङमा गरी २ सय ५० बढी भेडा मरेको किसान पिलम पुनले जानकारी दिनुभयो।रुकुम पूर्वको भूमे गाउँपालिका १ लुकुमबाट दाङमा भेडा चराउन आएका भेडा पालक किसानलाई खाद्यान्न र त्रिपाल सहयोग गरिएको छ। घोराहीका युवा नरेन्द्र पुनको सतिामा घोराही १९ पाँचपोखरीमा बस्दै आएका चार जना भेडा पालक किसानलाई नगद सहित विभिन्न खाद्यान्न र अन्य सामग्रीहरू सहयोग गरिएको हो।

भेडा लिएका आएका रामकृष्ण पुन, पिलम पुन, प्रेमकुमारी पुन र प्रेम बुढालाई २ थान त्रिपाल, चामल, दाल, नुन, तेल, बेसार, मसला, साबुन, बाल्टिन, जग, बाटा, बिस्कुट, चिउरा, चिनी सहयोग गरिएको हो।पुस अन्तिम साता रोल्पाबाट सैघा ल्याइएका भेडाहरूमध्ये अहिलेसम्म झन्डै साढे २ सय मरेका छन्। जङ्गलमा भेडासँगै बसेका उनीहरूको स्वास्थ्यसमेत जाँच गरिएको छ। डा. वसन्त पुनले भेडा पालक किसानहरूको स्वास्थ्य जाँच गर्दै चिसोबाट बच्न सुझाव समेत दिनुभयो।

उनिहरूलाई नरेन्द्र पुन, लक्ष्मण गुरुङ, आदित्य भट्टराई, मुकेश डिसी, भ्यूकुमार पुन, दीपेन्द्र न्यौपाने, सकिल अहमद, डा. वसन्त पुन र नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखाले सहयोग सामग्रीहरू जुटाएका हुन्। साथै अमेरिकामा बस्दै आउनुभएका लक्ष्मण गुरुङले भेडा पालक किसानहरूलाई नगद पाँच हजार रुपियाँ उपलब्ध गराउनुभएको छ। भेडाहरू धमाधम मर्दै गएपछि भेटेरिनरी अस्पताल घोराही र घोराही उपमहानगरको पशु सेवा शाखाले भेडाहरूको उपचार गरेपछि अहिले मर्ने क्रम रोकिएको छ।

 

प्रतिक्रिया दिनुहोस्