‘जोखिम’ घटाउन ‘ख’ वर्गको एम्बुलेन्स



मोतीराम तिमल्सिना, काभ्रे ।

दैनिक सवारी दुर्घटना भई व्यक्तिको ज्यान जान थालेपछि जिल्लामा सुविधासम्पन्न एम्बुलेन्सहरू व्यवस्थापन हुन थालेका छन्। धुलिखेल अस्पतालले यसअघि व्यवस्थापन गरेका दुईवटा एम्बुलेन्सको अलावा चौरी देउराली र बेथान्चोक गाउँपालिकालाई ‘ख’ वर्गका एम्बुलेन्स हस्तान्तरण गरिएका छन्।

नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले ग्रामीण आपतकालीन तथा ट्रमा प्रणाली सुदृढीकरण परियोजनाअन्र्तगत उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको हो। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले रेडक्रस काभ्रेका सभापति रघुवर चौ प्रधानसहित बेथान्चोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, चौरी देउराली गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतमलाई हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले एम्बुलेन्सको सुविधासहित सडकको अवस्था सुधार गरी मनावीय सेवामा सक्रिय हुन रेडक्रसकर्मीहरूलाई अनुरोध गर्नुभयो। ‘सरकारले रेडक्रससम्बन्धी थप ऐन निर्माण, टोल फ्री नम्बरको व्यवस्थापन र विपदसम्बन्धी कार्यका लागि सहकार्य गर्नेछ’ –मन्त्री बास्कोटाले भन्नुभयो– ‘रेडक्रसकर्मीहरू राजनीतिमा नभई एकतासहितको शान्ति निर्माण अभियानमा सक्रिय बन्नुहोस्।’
‘ख’ वर्गका एम्बुलेन्समा बिरामीको प्राथमिक उपचार चालक आफैँले गर्ने व्यवस्था मिलाइएको छ। चालकलाई प्राथमिक उपचारको तालिमसहित औषधीहरूको व्यवस्था एम्बुलेन्सभित्रै हुनेछ। धुलिखेल अस्पताल इमरजेन्सी विभागका डा. सम्झना बस्नेतले दुर्घटनास्थलमा सामान्य प्राथमिक उपचार आवश्यक रहेकाले बिरामीहरूका लागि त्यसको व्यवस्थापनका लागि यस्ता एम्बुलेन्स र एम्बुलेन्समा आवश्यक औषधीसहितको जनशक्ति आवश्यक रहेको बताउनुभयो।

धुलिखेल अस्पतालमा क वर्गका एम्बुलेन्स भए पनि मेडिकल अफिसरको व्यवस्था नभएकाले ख वर्गको एम्बुलेन्सका रूपमा कायम गरिएको बताउनुभयो। ‘दुर्घटनामा पहिलो चरणमा बिरामीको अवस्था हेरेर प्राथमिक उपचार गर्नु आवश्यक छ’ –डा बस्नेतले भन्नुभयो– ‘अस्पताल आउनुअघि बिरामीको निधन नहोस् भनेर सुविधासहितको जनशक्ति र एम्बुलेन्स आवश्यक छ।’

‘पहुँच र गुणस्तरीय सुविधासहितको एम्बुलेन्स देशभर व्यवस्था गर्ने गरी तयारी गरिएको छ’ –नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य शाखा उपनिर्देशक बालकृष्ण सेढाईले बताउनुभयो– ‘क्यानेडियन रेडक्रसको सहयोगमा सिन्धुपाल्चोक जिल्लामा तीन र काभ्रे जिल्लामा दुईवटा एम्बुलेन्स उपलब्ध गराइएको छ।’ चालकलाई प्रशिक्षणसहित तलब र अन्य व्यवस्था परियोजना अवधिभर रेडक्रसमार्फत् उपलब्ध हुनेछ।
सेवाग्रहीसँग असुल गरिएको रकम कोषमा जम्मा गरी एम्बुलेन्सको मर्मत सम्भार गरिनेछ। कार्यक्रममा प्रदेशसभा सदस्य रत्न ढकाल, नेकपा अध्यक्ष रुकु चौलागार्इं, नेपाली कांग्रेसका उपसभापति अच्युत पौड्याल, गाउँपालिका अध्यक्ष दिनानाथ गौतम, प्रेमबहादुर तिमल्सिना, केन्द्रीय कोषाध्यक्ष देवेन्द्र प्रधान, जिल्ला सभापति रघुवर चौ प्रधान लगायतले रेडक्रसको संक्रमणकालीन अवस्था र सेवाको बारेमा मन्तव्य राख्नुभएको थियो। लामो समयदेखि हुन नसकेको रेडक्रसको जिल्ला अधिवेशन आगामी शनिबार हुँदै छ।

प्रतिक्रिया दिनुहोस्