मुहार फेर्दै बझाङ अस्पताल



ललित सिंह, बझाङ

केही वर्षअघि जिल्ला अस्पताल बझाङको सेवा प्रवाहप्रति व्यापक असुन्तुष्टि रहेको थियो। अस्पतालमा आउने बिरामीहरूले उपचार सेवा राम्रो नपाउने र अस्पतालमा आवश्यक उपकरणसहित डाक्टरहरू नहुँदा कुनै बेला अस्पतालप्रति जनविश्वास घट्दो थियो।

आन्तरिक व्यवस्थापनको फितलो र वाह्य वातावरणसहित पूर्वाधारको अभावले अस्पताल आफैं बिरामी परेजस्तो थियो। तर अहिले दुर्गम जिल्ला बझाङ अस्पतालमा सात जना डाक्टर नियमित बस्ने गरेका छन्। अप्रेसनसहित अन्य बिरामीको उपचार यतै हुने गरेको र पूर्वाधारसहित बाह्य वातावरण पनि राम्रो हुँदा अस्पताल आउने जो कोही पनि अस्पतालको सेवा सुविधादेखि खुसी छन्।

आइतबार उपचार गर्न आएकी मस्टा गाउँपालिका–३ की सिन्की कठायतले भनिन्– ‘आजकाल जिल्ला अस्पतालको सेवा सुविधा राम्रो भएको देख्दा खुसी लागेको छ।’ उहाँ जस्तै अन्य अस्पतालमा सेवा लिन आएका सेवाग्राही पनि अस्पतालको सेवा प्रवाह देखेर सन्तुष्ट देखिन्थे।

अस्पतालको पुरानो अवस्थालाई सुधार गरी व्यवस्थित र सुविधा सम्पन्न अस्पतालका रुपमा विकास गर्न थालेको अस्पतालका सूचना अधिकारी गंगाप्रसाद जोशीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘केही वर्षअघि जिल्ला अस्पतालको सेवा सुविधाप्रति जनताहरूको गुनासो नआएको हैन् पछिल्लो समयमा कर्मचारी र अस्पताल प्रशासनको इच्छाशक्तिका कारण अस्पतालको अवस्थामा राम्रो सुधार भएको छ।’

२०४४ सालमा स्थापना भएको १५ शैयाको जिल्ला अस्पतालमा आन्तरिक व्यावस्थापन गरेर हाल ३२ शैयाको अस्पताल बनाएको छ। साथै अहिले इमरजेन्सी, प्रस्तूति, ओपीडी, डेन्टल, ल्याब, थाइराइट, ऐक्सरे, भिडियो एक्सरे अप्रेशन सेवालगायत अन्य बिरामीलाई आवश्यक उपचार सेवा छिटोछरितो दिइरहेको छ।

अस्पतालमा अहिले बिरामीहरू आउनेबित्तिकै चेकजाँच र उपचार छिटोछरितो हुनका साथै बिरामीहरूको गुनासो नआओस् भन्ने कुरामा अस्पताल सजक रहेको छ।

जिल्ला अस्पताल बझाङमा अहिले एडभान्स एसबीए प्राप्त डाक्टरसहित अन्य मेडिकल अधिकृतहरू चौबिसै घण्टा जिल्ला अस्पतालमा हुँदा उपचार गर्न आउने बिरामीहरूको संख्या पनि बढ्दै गइरहेको छ।

अस्पतालकी इन्डोर इन्चार्ज लक्ष्मीदेवी शाहीले भन्नुभयो– ‘हाम्रो बझाङमा डाक्टर नबस्ने धेरै समस्या थियो अहिले एकै अस्पतालमा सात जना डाक्टर पाउँदा सेवा प्रभावकारी भएको छ।’

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर खड्काले अस्पतालको टिम मिलेकाले सरकारी अस्पतालप्रति हेर्ने दृष्टिकोणमा सुधार आएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्