दुगड ग्रुपको विकास : नागरिकको आँखामा आँसु, मालिकलाई खुसी पार्न गाडीमा राखेर बैवाहिक बर्षगाँठ



रामचन्द्र वि.क., रामेछाप ।

दुगड समूहको सहायक कम्पनीहरुले रामेछाप र सोलुखुम्बुको बीच भाग भएर बग्ने लिखुखोलमा तीन ठूला जलाविद्युत आयोजना निर्माण गरी त्यहाँका स्थानीलाई समेत विकासको मूल प्रवाहमा ल्याउँछु भनेर बाचा गरेर काम थालेको एक दशक भईसक्यो । सन् २०१० देखि जग्गा खरिदबाट सुरु भएको दुगडको काम अहिले धेरैजसो सकिएको छ ।

दुगड समूहका सहायक कम्पनी पान हिमालय इनर्र्जी प्रालिले ७७ मेगावाटको लिखु १, ग्लोवल हाइड्रोपावर एसोसियट्स प्रालिले ५१ मेगावाटको लिखु २ र नुम्बुर हिमालय हाइड्रोपावर प्रालिले २९ मेगावाटको लिखु ए जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गर्ने गरी रामेछापको उमाकुण्ड गाउँपालिकाको वडा नम्बर १, २, ३ र सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका केही वडाको भूभागमा काम गरीरहेका छन् ।

तीन आयोजनाबाट १ सय ५७ मेगावाट विद्युत उत्पादन गरेर त्यहाँका स्थानीयलाई समेत विकासमा जोडेने बाचा गरेको दुगड ग्रुपले अहिले स्थानीयलाई रुवाउँदै आफ्ना स्वार्थ पुरा गर्न थालेको छ ।

जागिरको प्रलोभन देखाएर सस्तो मूल्यमा जग्गा खरिद, काम माग्दा सिप छैन भन्दै फर्काउँदै

आयोजना निर्माणको लागि २०६६ साल देखि त्यहाँका स्थानीयलाई गाउँमा विकासको आश्वासन देखाएर जग्गाधनीलाई जागिर दिन्छौ भन्दै प्रलोभनमा पारेर सयौं रोपनी जग्गा कौडीको भाउमा फुत्काउन सफल भएको दुगडले अहिले जागिर दिन्छु भन्ने मौखिक सहमतीलाई तोड्दै पहुँचमा भएका केही व्यक्ति बाहेक त्यहाँका स्थानीयलाई कुनै पनि काममा लगाएको छैन् ।

गाउँको विकास हुने र आफूले जानेको काम सहजै पाउँछु भनेर रोपनीको पाँच हजार देखि माथीको मूल्यमा सहजै जग्गा दिएका गाउँका सोझा स्थानीयलाई अहिले काम माग्दा परिक्षाको लागि काठमाण्डौ पठाउँदै अन्तरबार्तामा फेल गराउँदै उल्टै ऋणमा डुबाउन थालेको स्थानीयको गुनासो रहेको छ ।

हाइड्रोका लागि आवश्यक पर्ने सबै सीप नजानेको भए पनि आयोजना प्रभावित क्षेत्रका स्थानीयले कुल्ली काम गर्न आफूहरु सक्षम भएको तर काम दिन अनुरोध गर्दा स्थानीयलाई नलाउने निर्णय भएको छ भन्दै फर्काइएको एक स्थानीयले बताउनुभयो ।

हाइड्रोको जालसाँझीले स्थानीयको उठिबास हुने अवस्था

आफ्नै गाउँमा हाईड्रोपावार बन्ने खुसीमा आफ्नो जग्गाबाट सडक दिनुभएका उमाकुण्ड गाउँपालिका वडा नं १ ठाडोखोलाका दिप बहादुर बस्नेतले आँखाभरी आँसु पार्दै भन्नुभयो–‘ तपाईको जग्गा प्रयोग गरे बापत जागिर दिन्छु भनेर हाइड्रोले कागज समेत गरायो ।

तर अहिले जागिर त हैन मिलेर बसेका दाजुभाईलाई समेत झगडा हुने गरी तपाईको जग्गा नै छैन् । तपाईले घर बनाएको जग्गा त तपाईको दाईको रहेछ भन्दै हाइड्रोका मान्छेहरु हिडीरहेका छन् । यो कुरा सुन्दा सुकुमबासी भइएला जस्तो छ ।

विकास होला भनेर हाइड्रोले जे भन्यो त्यहि मानियो तर अहिले त जालसाँझी गरेर उल्टै सुकुमबासी बनाउने भयो ।’

जग्गाको भाडा दिन्छु भनेर बैंकमा खाता खोल्न लगाए तर अहिले सम्म एक पैसा दिएन

लिखु १ जलविद्युत आयोजनाको ड्याम निर्माणको लागि पान हिमालय इनर्र्जी प्रालिले उमाकुण्ड गाउँपालिका वडा नम्बर १ का नागरिकको जग्गाबाट जग्गाको भाडा दिन्छु भनेर मनलाग्दी तरिकाले सडक बनाएर लगेपनि एक पैसा नदिएको गुम्देलका स्थानीयले गुनासो गरेका छन् ।

दुदुलेमा स्थानीयको जग्गामा मनलाग्दी सडक विस्तार

दुदुलेमा रहेको आफ्नो जग्गाबाट सडक नखन्नु भनेर अनुरोध गर्दा हाईड्रोपावारले उल्टै पुलिस लगाएर धम्क्याएको गुम्देलका मिङमार शेर्पाले गुनासो गर्नुभयो । २०३१ सालमा आफूहरुको नाममा नापजाँच भई जग्गाधनीपूर्जा वितरणको लागि २०३४ सालमा राजपत्रमा सूचना पनि प्रकाशित भईसकेको तर जग्गाधनीपूर्जा नभएको दुधुलेको आफ्नो जग्गाको प्रति रोपनी एक हजार भाडा दिन्छु भनेर कागज गरेर सडक बनाएको हाईड्रले आफूलाई झुक्याएको स्थानीय मिङमार शेर्पाले दुखेसो पोख्नुभयो ।

उहाँले भन्नुभयो –‘तपाईको जग्गा प्रयोग गरे बापत हामी पैसा दिन्छौ भनेर सनराइज बैंकमा खाता खोल्न लगाए अहिले एक पैसा पनि दिएनन् । हाम्रो जग्गाबाट सडक लैजनको लागि हामीलाई झुक्याएको रहेछ । केको पैसा दिन्थ्यो ।’

केही बस्ती र धार्मिक स्थलहरु लोप हुने अवस्थामा

उमाकुण्ड गाउँपालिका वडा नम्बर १ गुम्देल, वडा नम्बर २ बाम्ती र वडा नम्बर ३ कुबुकास्थलीका अधिकासं बस्तीहरु आयोजना निर्माण क्षेत्रभित्रै परेका छन् ।

बस्तीका केही घरहरुलाई जोखिमका हिसाबले अन्तै स्थानान्तरण गर्नु पर्ने भए पनि हाईड्रोपावरले त्यसको बेवास्ता गर्दै आफ्नो काम अगाडि बढाइरहेको स्थानीयको गुनासो रहेको छ ।

जोखिममा परेको बस्ती

५१ मेगावाटको लिखु २ आयोजना निर्माण गर्ने जिम्मा लिएको ग्लोवल हाइड्रोपावर एसोसियट्स प्रालिले बाल्दिङको फेदमा ड्याम बनाएर गुम्देलको चरी, पत्करी, ज्याम्दे, सानो बाल्दिङ लगायतका मानब बस्ती मुनीबाट सुरुङ मार्फत डाडोखोलमा विद्युत गृह बनाउने गरी सुरुङको काम अगाडि बढाइरहेको छ ।

बस्ती मुनीबाट सुरुङको काम भइरको भएपनि कम्पनीले ति बस्तीलाई पर्न सक्ने असरका बारेमा केही पनि सोचेको छैन् । जसको कारण त्यो सुरुङ माथि रहेका बस्तीका नागरिकहरु आफ्नो बस्ने घरहरुनै उच्च जोखिममा पर्ने हुँदा आफूहरु भविष्यमा कहाँ गएर बस्ने भन्नेमा अन्यौलमा रहेको दुखेसो पोख्न थालेका छन् ।

त्यस्तै लिखु २ को विद्युत गृह निर्माण गरिने ठाउँमा रहेको ठाडोखोलाको आफ्नो बस्ती पनि जोखिममा हुँदा समेत सरोकारवाला निकायले केही चासो नदेखाएको स्थानीयको गुनासो रहेको छ ।

हाईड्रोलाई आफ्नो बस्ती जोखिममा पर्ने कुराको जानकारी सहित बस्ती स्थानान्तरण गर्नु पर्ने या अन्य केही व्यवस्थापन गरिदिनको लागि पटक–पटक अनुरोध गर्दा स्थानीयको अनुरोधलाई बेवास्ता गर्दै हाईड्रो अगाडि बढेको पत्करीका दिनेश कार्कीले गुनासो गर्नुभयो ।

लिखु १ हाईड्रोको ड्याम निर्माणको कारण उमाकुण्ड गाउँपालिकाको मात्रै नभई नेपालकै प्रसिद्ध धार्मिक स्थलको रुपमा परिचित उमातिर्थ (उत्तरकाशिका) मन्दिर पनि लोप हुने अवस्थामा पुगेको छ ।

दुई खोलको दोभानमा रहेको मन्दिरको पहिचान नै मेटिने गरी हिमगंगा नदी र लिखु नदीलाई मन्दिर भन्दा माथीबाटै सुरुङ मार्गमा लगिने हुँदा मन्दिरनै लोप हुने अवस्थामा पुगेको स्थानीयको भनाई रहेको छ ।

सस्तो मूल्यमा जग्गा फुत्काउन पल्केको हाइड्रो क्षतिपुर्तीको त कुरै सुन्दैन

सस्तो मूल्यमा जग्गा खरिद गर्न पल्केको हाईड्रोपावारले विभिन्न ठाउँमा स्थानीयलाई प्रभावित बनाएको छ । तर क्षतिपूर्ती उपलब्ध गराउनु पर्ने कम्पनीले आफूहरुको गुनासो समेत नसुनेको गुम्देलका अधिकासं नागरिकहरुले गुनासो गरेका छन् । अझै पनि कम्पनीले जग्गा खरिद गर्दा सोझा–साझा नागरिकलाई उचित मूल्य नदिएको स्थानीयको भनाई रहेको छ ।

स्थानीको आँसुमा रमाउने हाईड्रोका कस्ता मालिक हुन् ?

मोतीलाल दुगडको पचासौ बैवाहिक वर्षगाँठ

दुगड ग्रुपको साहायक कम्पनीका मालिक र कर्मचारीको व्यवहारबाट दिक्क भएका स्थानीयहरु पौष महिनाको १९ गते शनिबारका दिन दुगड ग्रुपका अध्यक्ष एवं मालिक मोतिलाल दुगड विवाहको पचासौ वर्षगाँठ मनाउन हेलिकप्टर मार्फत सोलुखुम्बुको किन्जा आए पछि झन दिक्क भए ।

शनिबार विहान हेलिकप्टर मार्फत हाईड्रो प्रभावित क्षेत्रमा आएका दुगडले स्थानीयको केही पीडा बुझिदिन्छन कि भन्ने त्यहाँका नागरिकहरुले आश गरेका थिए । तर दुगड नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको कडा सुरक्षाका बीच रामेछाप जिल्लाबाट पञ्जेबाजा सहित आफ्नी धर्मपत्नीलाई गाडीको छतमा राखेर स्थानीयको आँसुलाई बेवास्ता गर्दै रमाउँदै सोलुखुम्बुको किन्जा बजार तर्फ लाग्नुभयो ।

दुगडको पचासौ विहे वर्षगाँठका लागि कम्तिमा पनि एक करोडको हाराहारीमा खर्च हुने एक शिक्षकले विश्लेषण दर्गै भन्नुभयो –‘यसरी विहेको बहानामा गरिने खर्च यहाँका गरिब नागरिकलाई दिएको भए कति खुसी हुन्थेहोलान ।

त्यस्तै विहेको रौणकलाई नजिकबाट नियालीरहेका एक पत्रकारले विद्युत उत्पादक कम्पनीले विभिन्न बहानामा भएको खर्च र दुगडको विहेमा भएको खर्च समेत विद्युत उत्पादन खर्चमा जोड्ने हुँदा भविष्यमा हामीले उपयोग गर्ने विद्युतको महसुल समेत महगो पर्ने बताउनुभयो ।

स्थानीय सरकारसँग समन्वय नगरी काम अगाडि बढाईयो : अध्यक्ष सुनुवार

विगत लामो समय देखि उमाकुण्ड गाउँपालिकाको विभिन्न ठाउँमा गरी पाँच ओटा हाईड्रोपावार संचालनामा रहेको भएपनि काम गर्ने क्रममा स्थानीय सरकारसँग समन्वय नगरी काम अगाडि बढाईएको रामेछापको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले बताउनुभयो ।

आफू निर्वाचित भएर आएको साँढे दुई वर्ष भइसक्दा पनि समन्वय गरेर काम गर्नको लागि पटक–पटक अनुरोध गर्दा समेत स्थानीय सरकारको अनुरोधलाई अस्वीकार गर्दै हाइड्रोपावारहरुले मनलाग्दी तरिकाले काम अगाडि बढाईरहेको अध्यक्ष सुनुवारको आरोप रहेको छ ।

अध्यक्ष सुनुवारले आयोजनाबाट प्रभावित भएका स्थानीयहरुको गुनासोलाई समेत लत्याउँदै दुगड ग्रुपका सहायक कम्पनीले काम गरीरहेकाले अब पनि स्थानीय सरकारसँग समन्वय नगरे स्थानीय सरकारले आफ्नो नीति नियमको दायरामा ल्याएर काम गराउने चेतावनी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्