हात्ती नियन्त्रण भएन



उत्तम नेपाल, भद्रपुर।

निर्वाचनमा झापाका जनप्रतिनिधिले जङ्गली हात्ती नियन्त्रणलाई हतियार(एजेण्डा) बनाएर विजयी भएको दुई वर्ष बितिसक्दापनि यस विषयमा हालसम्म कुनै सम्बोधन नभएको मतदाताले गुनासो गरेका छन्।

झापाको उत्तरी क्षेत्रमा सोलार फेन्सिङ्(विद्युतीय तारबार) लगाइसकेपछि केही वर्ष यताबाट दक्षिण क्षेत्रमा सरेको जङ्ली हात्तीको समूहले जनधन र अन्नबालीमा क्षति पुर्याउदै आइरहेपनि सो समस्या तर्फ कसैको ध्यान नगएको उनीहरूको आरोप छ।

चन्द्रगढी, भद्रपुर, पृथीवीनगर, वनियानी लगायतका क्षेत्र दैनिक हात्तीको उपद्रोबाट अहिले आक्रान्त बनेका छन्। डिभिजन वन कार्यालयसँग भएको एउटा गस्ती गाडीमा जडित साइरन समेत सबै क्षेत्रमा नपुगेका कारण सो क्षेत्रका स्थानीयको अन्नबालीमा क्षति पुर्याउदै आइरहेको छ भने पीडितहरू कुन बेला हात्तीको शिकार बन्ने हो भन्ने त्रसमा छन्।

चुनावको समयमा घर–घर र चोक–चोकमा आएर हात्ती हेर्न चिडियाखाना जानुपर्ने भाषण गर्ने जनप्रतिनिधि अहिले हात्ती घर–वस्तीमा आइरहेको भद्रपुर ९ का नुतन पौडेलको आरोप छ। चुनावी घोषणा पत्रमा मात्र हात्ती नियन्त्रण भएको उहाँको भनाइ छ।

विद्युतीय तारबार(सोलार फेन्सिङ्) का लागि सांसद विकास कोषबाट ४० लाख रुपियाँ विनियोजन गरेपनि सो रकम पर्याप्त नहुने उहाँले बताउँनुभयो। हात्तीले मान्छे मार्यो भने केही महिनामा राहत दिएपनि अन्नबालीको चार वर्षसम्म क्षतिपूर्ति नपाएको उहाँको गुनासो छ।

वडा नम्बर ९ वडा सदस्य समेत रहेका पौडेलले राहत तथा क्षतिपूर्तिको लागि २ सय भन्दा बढी निवेदनको सिफारिस पठाएपनि हालसम्म केही हात्ती पीडितले मात्र रहत पाएको भन्दै उहाँले आक्रोस व्यक्त गर्नुभयो।

‘मङ्सिरमा क्षति पुर्याएको अन्नबाली चार मङ्सिर जादाँ समेत क्षतिपूर्ति नपाउने हो भने यो नाटक किन, उहाँले भन्नुभयो–‘हात्तीका कारण भएको क्षति पीडितलाइ राहत हुने गरी तत्काल उपलब्ध गराउने व्यवस्था मिलाउन पर्याे।’

हात्तीले पाँचवर्ष अघि धानमा क्षति पुर्यापछि क्षतिपूर्तिको लागि निवेदन दिएपनि हालसम्म राहत नपाएको ध्रुव कार्कीले बताउँनुभयो। वन कार्यालय धाउँदा–धाउँदा दिक्क भएर जानै छाडेको उहाँले गुनासो गर्नुभयो।

दैनिक हात्तीले उपद्रो मचाएपछि भद्रपुर नगरपालिका ७, ९ र १० वडाका हात्ती पीडितले संयुक्त रुपमा केही दिन अघि जिल्ला प्रशासन कार्यालय मार्फत सङ्घीय र प्रदेश सरकारलाई जिउधनको सुरक्षाकाको माग गर्दै ज्ञापन पत्र समेत पठाएका थिए। भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी उदयराना मगर र डिभिजन वन प्रमुख विष्णुलाल घिमिरेलाइ पत्र बुझाएका थिए।

हल्दीबारी स्थित जलथल जङ्गलमा सोलार फेन्सिङ समेत जडान भई सकेपछि नजिकै रहेको भेलागढी र चारआली जङ्गलबाट हात्ती गाउँपस्न थालेका छन्। ८/१० ओटाको सङ्ख्यामा रहेका हात्ती मध्ये एउटा अन्धो छ। अन्य हात्ती राती गाउँ छिर्छन् भने अन्धो हात्तीले दिउँसो गाउँ छिरेर आतङ्क मच्चाउँदै आएको छ। हात्तीबाट बच्न सो क्षेत्रका केही स्थानीयले विद्युतीय धराप थापेका छन्।

धरापका कारण मानिस तथा हात्तीको समेत अकालमा ज्यान गइसकेको छ। वन कार्यालयले समेत यस्तो गतिविधिमा कुनै नियन्त्रण गरेको छैन। विना अनुमति यसरी धराप राख्नु कानून विपरीत भएपनि वन कार्यालयका कर्मचारी नदेखे झै गरिरहेका छन्।

यता चालु आर्थिक वर्षदेखी मंसिर मसान्तसम्म राहतका लागि १ सय ८० निवेदन परेको वन डिभिजन हात्ती शाखाका कर्मचारी डिल्ली खरेल बताउँनुहुन्छ। परेका निवेदनमध्ये सभ डिभिजनबाट आएका ५६ ओटा कोशीटप्पु पठाइसकिएको उहाँले बताउनुभयो।

गत आर्थिक वर्ष ०७४/७५ सम्म ३ सय ४० जनालाई ४७ लाख १ हजार ७ सय ४५ रुपियाँ राहत वितरण गरिसकिएको लेखा शाखाले जनाएको छ। ०७५/७६ को कार्तिक २७ गतेसम्म ३ सय ७३ जनाको लागि ५० लाख ५३ हजार ७ सय ४५ रुपियाँ राहत रकम आएको उल्लेख छ।

सङ्घीयताका कारण कार्य विभाजनमा अन्यौल देखिएपछि एक वर्ष ढिलाइले गर्दा त्यसको असर पर्दै गइरहेको सहायक वन अधिकृत देवेन्द्र उप्रेती बताउँनुहुन्छ। राहत वितरणमा पछिल्लो समय ढिलो नभएको उहाँको भनाइ छ।

हात्ती नियन्त्रणको दीर्घकालिन समाधानका लागि जलथल जङ्गल हुँदै मागुरमाडीसम्म १ सय ४५ किलो मिटर क्षेत्रमा जैविक मार्ग सोलार फेनसिङका लागि काम शुरु भइसकेको उहाँको भनाइ छ।

गत वर्ष सोलार फेन्सिङका लागि प्रकृति संरक्षण कोषबाट ६ करोड र चालु आर्थिक वर्षमा २ करोड रुपियाँ विनियोजन भएको उहाँले जानकारी दिनुभयो।

विसं २०६२ साल यता ०७६ मङ्सिरसम्मकोे तथ्यांकले ११ वटा हात्ती मान्छेका कारण मरेका छन् भने ४१ जना व्यक्तिको ज्यान गएको छ। सयौँको घरगोठमा क्षति पुर्याएको छ भने करोडौं रुपियाँको नोक्सानी भएको छ।

प्रतिक्रिया दिनुहोस्