इरानमा रहेका नेपालीबारे सरकारको चासो



काठमाडौं, (नेस)।

इरान र अमेरिकाबीचको पछिल्लो सम्बन्ध युद्धमा परिणत हुने चर्चा भइरहेका बेला सरकारले इराकमा रहेका नेपालीबारे चासो लिएको छ। सो मुलुकमा रहेका नेपालीलाई दूतावाससँग सम्पर्कमा रहन सरकारले ध्यानाकर्षण गराएको हो।

इरानसहित इराक, खाडी र मध्यपूर्वी मुलुकमा रहेका नेपालीको अवस्था बुझ्न र पछिल्लो सूचना नियमित अद्यावधिक गराउन परराष्ट्रले सम्बन्धित दूतावासलाई निर्देशन दिएको हो।

‘इरान र आसपासका मुलुकमा हाम्रा नागरिक भएकाले नियमित सम्पर्कमा रहन आग्रह गरिएको छ, अप्ठ्यारो परिस्थिति सिर्जना भए सहयोग लिन अनुरोध गरेका छौं।’ –सो मन्त्रालयका सहसचिव एवं प्रवक्ता भरतराज पौडेलले भन्नुभयो।

इरानलाई पाकिस्तानस्थित नेपाली दूतावास र इराकलाई कुवेत दूतावासले नियाल्दै आएको छ। असुरक्षाका कारण जनाउँदै सरकारले इरान र इराकमा श्रम अनुमति नदिए पनि भारतसहित अन्य मुलुक हुँदै रोजगारका लागि यी मुलुक पुग्ने नेपालीको संख्या वर्षेनी थपिइरहेको छ।

रोजगार प्रतिबन्धित सूचीमा रहेकाले इरान र इराकमा रहेका नेपालीबारे आधिकारिक तथ्यांक उपलब्ध हुन नसकेको पौडेलले बताउनुभयो।

इरान र अमेरिकाबीचको सम्बन्ध चिसिन थालेपछि पाकिस्तानस्थित नेपाली दूतावासलाई त्यहाँ रहेका नेपालीले पछिल्लो सुरक्षा अवस्था ‘ब्रिफिङ’ गर्न थालेको उहाँले जानकारी दिनुभयो।

अमेरिकाले गत शुक्रबार इरानका शक्तिशाली जर्नेल कासिम सुलेमानीको हत्या गरेपछि अहिले विश्वको ध्यान इरान–अमेरिकातर्फ सोझिएको छ।

इराकले हत्याको बदला लिने चेतावनी दिन थालेपछि पश्चिम एसिया र खाडी क्षेत्रमा भय र अस्थिरता बढिरहेको छ।उक्त क्षेत्रमा बिकसित हुनसक्ने परिस्थतिबारे सतर्क रहन जरुरी रहेको ठहर गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवबीच आइतवार छलफल भएको थियो।

वैदेशिक रोजगार विभाग, यस्ता विषय नियाल्ने दुवै मन्त्रालय मातहतका महाशाखा प्रमुखहरू छलफलमा सहभागी थिए।
बैदेशिक रोजगारका सिलसिलामा इराकमा करिव १५ हजार र इरानमा एक हजारका हाराहारीमा नेपाली रहेको अनुमान गरिएको
गैर आवासीय नेपाली संघ (एनआरएनए)का निवर्तमान मध्यपूर्व उपसंयोजक गोपाल कँडेलले बताउनुभयो।

खाडी तथा मध्यपूर्वी मुलुकमा करिव २० लाख नेपाली रहेको अनुमान गरिएको छ।इरान–अमेरिका तनाव युद्धतर्फ मोडिएमा रोजगारका लागि अन्य छिमेकी मुलुकमा पुगेका नेपाली प्रत्यक्ष प्रभावित बन्ने बैदेशिक रोजगार विभागको ठहर छ।

दुई मुलुकको तनावका कारणले इन्धनको अन्तर्राष्ट्रिय मूल्यसमेत प्रभावित बन्ने र नेपालमा समेत त्यसको असर पर्ने विश्लेषण गर्न थालिएको छ।

प्रतिक्रिया दिनुहोस्