गण्डकी प्रदेशमा जडिबुटी प्रशोधन केन्द्र बनाउँदैछौं : मन्त्री पुन



नेपाल समाचारपत्र, म्याग्दी।

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशभित्र रहेको जडिबुटीको उपयोग गर्नेगरी प्रशोधन केन्द्र बनाउन लागिएको बताउनुभएको छ। शनिबार म्याग्दी उद्योग वाणिज्य संघको २६औं वार्षिक साधारण सभाको बेनीमा उद्घाटन गर्दै उहाँले प्रदेश सरकारमार्फत जडिबुटी प्रशोधन केन्द्र निर्माणको तयारी थालिएको जानकारी दिनुभयो।

मन्त्री पुनले गण्डकी प्रदेशका सबै जिल्लामा पर्याप्त जडिबुटीको भण्डार रहेको बताउँदै जडिबुटीको सङ्कलन, प्रशोधन र बजारीकरणका लागि जडिबुटी प्रशोधन केन्द्र बनाइने बताउनुभयो। ‘जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न जग्गाको खोजी गरिए पनि जग्गा पाउन समस्या भैरहेको छ, उहाँले भन्नुभयो–‘प्रशोधन केन्द्र पिपिए मोडेलमा निर्माण गरिने हुँदा निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने छौं।’

आयातलाई प्रतिस्थापन गर्न नसके व्यक्ति धनी बन्न नसक्ने बताउँदै मन्त्री पुनले उत्पादनको विविधिकरण गरी अर्गानिक उत्पादनको प्रयोगमा जोड दिन आवश्यक रहेको बताउनुभयो। उहाँले पछिल्लो समय गाउँघरमा समेत बजारको खाना तथा खाजाको प्रयोग बढ्दै गैरहेको भन्दै स्थानीय उत्पादनको प्रोत्साहन र बजारीकरण गर्नुपर्नेमा जोड दिनुभयो। उद्योग वाणिज्य संघले विभिन्न किसिमका सिपमूलक तालिमका साथै कृषि उपजको उत्पादन र प्रयोगमा जोड दिन पहल गर्नुपर्ने उहाँको भनाइ छ।

सामाजिक विकास मन्त्री पुनले आफ्नो मन्त्रालय शिक्षास म्बन्धी नीति तथा ऐन बनाउन लागिपरेको बताउँदै युवा पलायन रोक्न प्रदेशभित्र गण्डकी विश्वविद्यालय स्थापनाको तयारी गरिएको जानकारी दिनुभयो। उहाँले गण्डकी प्रदेशभित्र कक्षा १ मा भर्नादर ७० हजार रहेपनि स्नातक तह चौथो वर्षमा पुग्दा २७ हजारमा झरेको भन्दै बिचमा रहेको विद्यार्थीको खोजी गरेर उनीहरूलाई सिपमूलक रोजगार दिन स्याङ्जामा गण्डकी प्राविधिक प्रतिष्ठान बनाउन लागिएको बतानुभएको थियो।

स्थानीय स्रोतसाधनलाई एकीकृत गर्न र बसाइसराइलाई रोक्न नमुना आवासीय विद्यालय स्थापनाको अवधारणा अगाडि सारिएको मन्त्री पुनले बताउनुभएको छ।गण्डकी प्रदेशको ३६ ओटै निर्वाचन क्षेत्रमा नैतिक शिक्षा पढाउने उद्देश्यसहित आदर्श विद्यालयको परिकल्पना गरिएको बताउँदै मन्त्री पुनले खेलकुद र सङ्गीतलाई पनि प्राथमिकता दिइएको जानकारी दिनुभयो।

उहाँले म्याग्दी जिल्लामा २ ओटा नमुना आवासीय, २ ओटा विशेष र २ ओटा आर्दश विद्यालय स्थापना गरिने बताउनुभयो। ‘सुरुङमार्ग बनाउन आवश्यक पाठ्यक्रम निर्माण र जनशक्ति उत्पादनका लागि छलफल चलाइएको छ, उहाँले भन्नुभयो–‘नैतिकवान् र राष्ट्रलाई योगदान दिन सक्ने नागरिक उत्पादन गर्न संस्कारयुक्त शिक्षा दिन आवश्यक पहल थालिएको छ ।

कार्यक्रममा पूर्व सांसदद्वय नवराज शर्मा र रेशमबहादुर बानियाँले देश विकासमा निजी क्षेत्रको पनि योगदान रहेको चर्चा गर्नुभएको थियो। गण्डकी प्रदेशका सदस्य विनोद केसीले उद्योगी व्यवसायीले नीति नियम अनुसार आफ्नो पेशा व्यवसाय सञ्चालन गर्नुपर्ने र राज्यलाई कर तिनुपर्ने बताउनुभयो। धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन र म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले निजी क्षेत्रसँग आवश्यक समन्वय गरेर अगाडि बढ्ने बताउनुभएको छ।

साधारणसभाको अवसरमा हालै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेताहरू महिला भलिबलका कप्तान अरुणा शाही, कमला पुन, उसु खेलाडी विन्दु पुनमगर र भारोत्तोलनकी तारादेवी पुनलाई नगद सातहजार रुपैयाँका दरले दोसल्ला ओढाएर प्रशंसापत्र सहित सम्मान गरिएको थियो।

यसैगरी गत शैक्षिक सत्रमा उत्कृष्ट अङ्क ल्याउने व्यवस्थापन सङ्कायतर्फ म्याग्दी बहुमुखी क्याम्पसका हरिप्रसाद उपाध्याय र निता शर्मालाई पनि नगद पाँच हजार रुपियाँ, दोसल्ला र प्रशंसापत्र सहित उद्योग वाणिज्य अवार्ड–२०७६ बाट सम्मान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्