व्यापारीको पक्षमा फैसला भएपछि पुन: चौपाय तस्करी शुरू



नेपाल समाचारपत्र, भद्रपुर।

पुनः चौपाय तस्करी शुरु हुने देखिएको छ। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनी बिरुद्ध परेको रिटमा व्यवसायीको पक्षमा फैसला भएपछि चौपाय तस्करी हुने देखिएको हो।झापाबाट भारततर्फ तस्करी बढेपछि प्रहरीले तस्करी नियन्त्रणमा कडाइ गरेको थियो।

कडाइ भएपछि व्यापारीले चौपायको व्यापार गर्न नसक्दा प्रहरी विरुद्ध उच्च अदालतमा कात्तिक २७ गते रिट दर्ता गराएका थिए। प्रहरीले गैरकानुनी रूपमा कार्यक्षेत्रभन्दा बाहिर गएर गाडी रोकेको, व्यापारमा अवरोध गरेको भन्दै सर्लाही जिल्ला बरहथवा–६ का निरज सिंहले प्रहरी विरुद्ध रिट दर्ता गराएका थिए

उच्च अदालत इलामले निवेदकका तर्फबाट न्यायाधीश शिवनारायाण यादव र विष्णुप्रसाद कोइरालाले मंसिर ८ गते फैसला गरेका थिए। प्रहरीले भने तस्करी रोक्ने अभियान सञ्चालन गरेपनि व्यापारमा अवरोध नपुर्याएको दावी गरेको छ। सबै चौपाय भारत तस्करी हुने गरेको स्रोतको दावी छ।

न्यायाधीशले गरेको फैसलाले व्यापारीको व्यापार बढ्ने र तस्करी मौलाउने बताइएको छ। केहि समय सुनसान बनेको तस्करी फेरि शुरु हुने स्रोतको भनाई छ।झापाको दक्षिण क्षेत्रबाट चौपाय तस्करी दिनहुँ बढेपछि जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानबाट गाडीसहित चौपाय बरामद गरेर भन्सार बुझायो।

दैनिक सयौं ठूला ट्रकमा आयात गरिने पशु चौपाय भारतमा तस्करी हुने निष्कर्ष पछि प्रहरीले अभियानकै रुपमै नियन्त्रणमा लिँदै आएको छ। भर्खरै झापाबाट सरुवा भएका एसपी दिनेश मैनालीले चौपाय तस्करीमा विशेष अभियान चलाउनुभएको थियो।

गत साउनदेखि हालसम्म झापा प्रहरीले २ सय ७४ थान पशुचौपाय नियन्त्रणमा लिई भद्रपुर भन्सार बुझाइसकेको छ। आवश्यक कारबाहीको लागि भद्रपुर भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो।

ठुलो परिमाणमा झापा आइरहेको चौपाय जिल्लामा खपत नहुने र रातभर भारततर्फ तस्करी हुने खबर आएपछि प्रहरीले तस्करीमा कडाइ गरेको बताइएको छ। झापाको विभिन्न बजारमा बिक्रीका लागि ल्याइएको भनिए पनि भारतीय व्यापारीले चौपाय रातारात भारत पुर्याउने गरेका छन्।

झापामा गौरीगन्ज, झापा बजार, राजगढ,कुन्जिवारीबाट भारत तस्करी हुने गरेको छ। मुलुकी अपराध संहिता २०७४ अनुसार गाई–गोरु काटमार गर्न, यातना दिन नपाइने व्यवस्था छ।

मासुको प्रयोजनका लागि झापाबाट तस्करी हुने चौपाय अन्य राष्ट्र पठाउनु दण्डनीय अपराध हो। पशु ढुवानी मापदण्ड २०६४ विपरित पशु ढुवानी समेत भइरहको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्