गहुँ फल्ने खेतमा अब आलु



नेपाल समाचारपत्र, डडेल्धुरा।

व्यवसायिक तरकारी उत्पादनका लागि अग्रणी मानिएको डडेल्धुरा जिल्लामा चक्लाबन्दी गरी व्यवसायिक आलु खेती बिस्तार गरिएसँगै गहुँ उत्पादन हुने उर्बर फाँटहरू आलुमय बन्न थालेका छन्।

हिउँदमा गँहु खेती हुने फाँटहरूमा जताततै आलुखेती मात्रै देखिन थालेको छ। अमरगढी नगरपालिका–११ फिन्नीकोटमा गहुँ खेती बिस्थापित गरेर स्थानीयले चाक्लाबन्दीमा पूरै गाँउभरि आलु खेती गरिरहेका छन्।

गहुँउत्पादन गर्दा हुने फसलभन्दा आलु झनै राम्रो फल्ने गरेको र गहुँ वर्षभरिलाई खानपुग्ने खरिद गरेर पनि आलु उत्पादनबाट वार्षिक तीन लाखसम्म बचत गर्न सकिने भएकाले आलु उत्पादनमा लागेको स्थानीय अगुवा किसान पदम बोहराले बताउनुभयो।

अमरगढी नगरपालिकाकै राँवतगाउँ, सल्लागाउँ, भट्टराईगाउँ र दुमडा गाउँभरि चालु आर्थिक वर्षमा आलु खेती बिस्तार गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन कार्यान्वयन इकाइ डडेल्धुराले जनाएको छ। अमरगढी नगरपालिकामा मात्रै होइन, जिल्लाका सातवटै स्थानीय तहमा पछिल्लो समय व्यवसायिक आलु खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले हाल जिल्लाका सातवटै स्थानीय तहमा चक्लाबन्दीमा आलु खेती बिस्तार गर्न थालेपछि अधिकांश वस्तीहरू आलुमय बन्न थालेका छन्।

अमरगढी नगरपालिकामा मात्रै चालु आर्थिक वर्षमा २१ हेक्टर जग्गामा चाक्लाबन्दी गरी व्यवसायिक आलु खेती गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन कार्यान्वयन इकाइ डडेल्धुराका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत खेमराज जोशीले बताउनुभयो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन कार्यान्वयन इकाइ डडेल्धुराका अनुसार चालु आर्थिक वर्षमा मात्रै डडेल्धुराका थुप्रै गहुँ उत्पादन हुने खेतमा आलु खेती बिस्तार गरिएको छ।

यसैगरी आलु उत्पादनका लागि अग्रणी मानिने गन्यापधुरा गाउँपालिकामा ६ हेक्टर, परशुराम नगरपालिकामा ११ हेक्टर, आलिताल गाउँपालिकामा साढे ६ हेक्टर, भागेश्वर गाउँपालिकामा १२ हेक्टर क्षेत्रफलमा आलुखेती शुरुआत गरिएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन कार्यान्वयन इकाइ डडेल्धुराले चालु आर्थिक वर्षको हिउँदे सिजनमा ६५ हेक्टर क्षेत्रफलमा आलु खेती बिस्तार गर्ने लक्ष्य लिइएकोमा १ सय ५० भन्दा हेक्टरभन्दा बढी आलु खेती बिस्तार भएको छ।

आलु उत्पादनका लागि उपयुक्त माटोका साथै बेमौसमी आलु उत्पादन गरेर मनग्गे मुनाफा आर्जन गर्न सकिने भएकाले किसानहरू व्यवसायिक आलु खेतीतर्फ आकर्षित हुँदै गएको प्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजना आलु सुपरजोन कार्यान्वयन इकाइ डडेल्धुराका प्रमुख जोशीले बताउनुभयो।

किसानले व्यवसायिक आलु खेती प्रवद्र्धनका लागि किसानलाई ४५ वटा हाते ट्याक्टरका साथै यान्त्रीकरणमा परियोजनाले सहयोग गरेको जानकारी दिए। सिँचाइ योजना निर्माणका साथै मर्मत सम्भारमा परियोजनाले सघाइरहेको छ भने स्थानीय तहसँग समन्वय गरेर किसानलाई अनुदान र प्रावधिक सहयोगसमेत गरिरहेको छ।

उत्पादित आलु भण्डारका लागि शीत भण्डार निर्माण गरिएको र आलुको बीउ उत्पादनबाट समेत किसानले मनग्गे आम्दानी गरिरहेकाले आलुखेतीतर्फ किसान आकर्षित भइरहेको आलु सुपरजोन कार्यान्वयन इकाइ डडेल्धुराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्