२७ अर्बको निर्यात हुँदा ३०७ अर्बको आयात



नेपाल समाचारपत्र, काठमाडौं ।

चालू आर्थिक वर्षको तीन महिनासम्ममा कुल वस्तु व्यापार घाटा १२ प्रतिशतले संकुचन भई ३०७ अर्ब ७८ करोड रुपियाँ रहेको छ।

यस अवधिमा कुल वस्तु आयात १०.३ प्रतिशतले घटेर ३३४ अर्ब ९५ करोड पुगेको छ भने निर्यात निर्यात १४.४ प्रतिशतले वृद्धि भई २७ अर्ब १७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयात ४३.६ प्रतिशतले बढेको थियो भने निर्यात निर्यात १६.१ प्रतिशतले वृद्धि भएको थियो।

चालू आवमा निर्यात–आयात अनुपात ८.१ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६.४ प्रतिशत रहेको थियो।

चालू आवमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.२ प्रतिशत र १९.१ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ११.६ प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, अन्य मेसिनरी तथा पार्टपुर्जा, विद्युतीय उपकरण, सोलार प्यानललगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाज तथा पार्टपुर्जा, एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका उपकरण तथा पार्टपुर्जालगायतका वस्तुको आयात घटेको छ।

समीक्षा अवधिमा भारततर्फ ३५.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १९.९ प्रतिशत र अन्य मुलुकतर्फ ११.७ प्रतिशतले कमी आएको छ।

वस्तुगत आधारमा पाम तेल, अलैंची, आयुर्वेदिक औषधि, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, जुस, तयारी पोशाक, ऊनी गलैंचा, तारलगायतका वस्तुको निर्यात घटेको छ।

भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगन्ज भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, मेची भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाहेकका मुख्य भन्सार नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ।

आयाततर्फ सुख्खा बन्दरगाह भन्सार कार्यालय, मेची भन्सार कार्यालय, कञ्चनपुर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाबाट भएको आयातमा ह्रास आएको छ।

विप्रेषण घट्यो

वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण आप्रवाह ४.९ प्रतिशतले घटेर २३० अर्ब २४ करोड रुपियाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३७.३ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४.६ प्रतिशतले कमी आएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २४.५ प्रतिशतले बढेको थियो।

सो अवधिमा खुद ट्रान्सफर प्राप्ति ३.७ प्रतिशतले कमी आई २६० अर्ब ७७ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ३३.४ प्रतिशतले बढेको थियो।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले घटेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३४.८ प्रतिशतले घटेको थियो। पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ०.९ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.७ प्रतिशतले घटेको थियो।

प्रतिक्रिया दिनुहोस्