दुर्गमको विद्यालयमा स्वास्थ्य सेवा



महेश न्यौपाने, रोल्पा।

रोल्पा सदरमुकाम लिवाङमा रहेको बालकल्याण माध्यमिक विद्यालयले स्वास्थ्य सेवा सुरु गरेको छ। स्वास्थ्य सेवावाट सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले सेवा लिईरहेका छन।विद्यार्थीको स्वास्थ्यलाई ध्यान दिदै सो विद्यालयले केही महिना अघि हेल्थ डेस्क स्थापना गरेको हो।

विद्यालय स्वास्थ्य सेवाका लागि एक जना नर्सको दरवन्दी सिर्जना गरि खुला प्रतिस्पर्धावाट भर्ना गरिएको विद्यालयका प्रधानाध्यापक मधुसूदन पोख्रेलले जानकारी दिनु भयो। ‘आन्तरिक श्रोतवाट तलब सुविधा दिइरहेका छौ’ –प्रधानाध्यापक पोख्रेलले भन्नुभयो।

विद्यालयको एक कोठामा स्थापना गरिएको हेल्थ डेस्कमा महिनावारी व्यवस्थापनका लागी प्याडका साथै बिरामी विद्यार्थीको स्वास्थ्य परीक्षणपछि सामान्य औषधीसमेत वितरण हुँदै आएको छ। ‘कडा खालको विरामी देखिए जिल्ला अस्पताल जान परामर्श दिने गरेको छु’ सो विद्यालयका नर्स जोशना डाँगीले भन्नुभयो।

हालसम्म कडा खालका विरामी देखिएका छैनन् ,त्यतो देखिए जिल्ला अस्पतालमा पठाउने गरी परामर्श दिन्छु’ –डाँगीले भन्नु भयो। महिनावारी व्यवस्थापनमा समस्या भोग्दै आएका छात्रालाई हेल्थ डेस्कले निकै सहयोग गरेको छ डाँगीले भन्नु भयो।

दैनिक २० भन्दा वढी विरामी विद्यार्थीले डेस्कवाट सेवा लिने गरेको विद्यालयले जनाएको छ। अधिकांश ज्वरो, झाडापखाला, आउँ, रुघाखोकी, टाउको दुख्ने जस्ता समस्या लिएर आउने गरेको बताईन्छ। जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा छात्राका लागी महिनावारी प्याड व्यवस्था गरिएको विद्यालयले जनाएको छ।

‘नमूना विद्यालय गुरुयोजना वमोजिम विद्यालय हाताभित्र वितरण गर्न मिल्ने औषधी मात्रै जिल्ला स्वास्थ्य कार्यालयसँगको परामर्शका आधारमा वितरण गरिरहेका छौं’ विद्यालय व्यवस्थापन समितिका महिला सदस्य निमकुमारी सिंहले भन्नु भयो।

‘महिनावारीले छात्राको उपस्थितिमा केही प्रभाव पारेको देखिनुका साथै विद्यालयवाट स्वास्थ्य संस्था टाढा रहँदा दैनिक १५ देखि २० जना विद्यार्थीको पढाई प्रभावित हुने गरेको महसुस भएपछि यस्तो सेवा दिन सुरु गरेका हौँ’ –सदस्य सिंहले भन्नु भयो।

स्वास्थ्य सेवा प्रवाहसँगै विरामी भई विदामागेर जाने विद्यार्थीको संख्या शुन्यभएको विद्यालयले जनाएको छ। नर्सले विरामीको उपचारका साथै परामर्श सेवासमेत दिने गरेको बताईन्छ।हेल्थ डेस्कवाट दैनिक एक बजेपछि विरामी उपचार गर्ने समय निर्धारण गरिएको छ।

अधिकाँश विद्यार्थी एक बजेपछि मात्रै विदा मागेर स्वास्थ्य केन्द्र जाने गरेको देखिएकाले सोही समय रोजेको विद्यालय व्यवस्थापन समितिका सदस्य जीतवहादुर डाँगीले जानकारी दिनु भयो।

एक बजे अघिको समय विद्यार्थीलाई महिनावारी व्यवस्थापन, सरसफाई, पानीशुद्धिकरण, साबुन–पानीले हात धुने तरीका, पोषणयुक्त खानो, बालविवाह जस्ता विषयवस्तुमा परामर्श सेवा दिने गरेको सदस्य डाँगीले जानकारी दिनुभयो।

केही कक्षामा स्वास्थ्य तथा वातावरण शिक्षा सम्बन्धी कक्षा सञ्चालन गर्ने गरी जिम्मेवारी पनि तोकेका छौ, सदस्य डाँगीले भन्नु भयो।

प्रतिक्रिया दिनुहोस्