बुद्धशिक्षा : चतुरार्यसत्य



कोण्डन्य
बुद्धविहार भृकुटीमण्डप

अनित्य, दुःख र अनात्म (जसलाई त्रिलक्षण पनि भन्दछ) लाई बौद्ध–दर्शनका रूपमा अंगिकार गरिन्छ। अनित्य, दुःख र अनात्मवादभित्र मानिसले चार आर्यसत्य–क्षणिकवाद, प्रतित्य समुत्पाद, अभौतिकवाद, अनिश्वरवाद, निर्वाण आदि विषयलाई बोध गरी लान सक्दछ।

पहिलो धर्मरूपी चक्र घुमाउने धर्मोपदेश अति नै महत्वपूर्ण छ। यस सूत्रभित्र हामीले बौद्ध दर्शनलाई बुझ्न सक्दछौं। यस सूत्रको देशनापछिको पाँच दिनपश्चात् बुद्धद्वारा जुन अनत्त लक्खण (अनात्म लक्षण) सूत्र देसना भएको हो, त्यसमा आनात्मवादलाई स्पष्ट गरिदिइएको छ।

लोकमा कुनै पनि वस्तु यस्तो छैन जुन स्थिर भई बस्छ, जसको स्वभाव एउटै रूपमा भइरहन्छ, जसलाई नित्य, धु्रव, शाश्वत र अविपरिणाम धर्म भन्न सकियोस्। बुद्धदर्शनअनुसार सब्बं अनिच्चं अर्थात् जीवनजगत् साथै यससँग सम्बन्धित जुनसुकै वस्तु, अवस्था आदि यावत् सांसारिक भौतिक सुख भनेको क्षणिक र गौण सुख मात्र हो।

त्यसैले सुख पाउँछ भन्दाभन्दै दुःखको भूमरीमा अल्झिने हुन्छ भने हरेक वस्तु अनित्यताले प्रभावित भएको हुन्छ।
यसको तात्पर्य के हो भने, जुनसुकै वस्तु उत्पत्ति हुन्छ, विनाश हुन्छ, देखापर्छ, टाढिएर जान्छ, राम्रो भनी सम्झिएको नराम्रो भएर जान्छ।

त्यस्तै नराम्रो भनी सम्झिएको अर्थात् छि, छि, दुर, दुर गरेको राम्रो भएर सुन्दर लोभ लाग्दो, बोकेरै हिँडुँ–हिँडुँ जस्तो आशक्ति वृद्धि हुन्छ। मिलन हुन जान्छ भने यसैमा विछोड पनि गराउँदछ, राम्र्रो जीवन यापन गर्दागर्दै विचलन पनि आउन सक्दछ।

खराब व्यक्तिको हृदय परिवर्तन भएर एक महान् व्यक्ति हुन सक्दछ। विकास–विनाश, धर्म–अधर्म, हुने–नहुने भन्ने एउटै स्वरूपमा अगाडि बढिरहेको हुँदैन। स्वभावतः चक्र (चक्का) अनुसार अनित्य भनिएको हो।

चतुरार्यसत्य

दुःखआर्य सत्य, दुःख समुदय सत्य, दुःख निरोध सत्य, दुःख निरोधगामिनी प्रतिपदा मार्गसत्यलाई चतुरार्यसत्य भनिन्छ। यी शब्दावलीको व्याख्या निम्न अनुच्छेदमा गरिन्छ ः

दुःख आर्यसत्य के हो ?

जन्मनु (जाति) दुःख हो। वृद्धावस्था (जीर्ण) हुनु दुःख हो, शोक गर्नु दुःख हो, विलाप गर्नु दुःख हो, दौर्मनस्य उपायास दुःख हो।

त्यस्तै, अप्रिय संयोग दुःख हो, प्रिय वियोग दुःख हो, इच्छा भएअनुसार पूरा नहुनु दुःख हो, संक्षेपमा भन्ने हो भने पञ्च उपादानस्कन्ध (सबै भौतिक विषयवस्तुहरू) अर्थात् रूप, वेदना, संज्ञा, संस्कार र विज्ञान नै दुःख हुन्।

दुःख समुदय सत्य (दुःखको कारण)

जो फेरि–फेरि जन्म लिनुको कारण हो, जो लोभ तथा रागयुक्त छ, जसले जहींतहीं आनन्द लिन्छ, यो त्यही तृष्णा हो– काम तृष्णा, भव तृष्णा तथा विभव तृष्णा। यही तृष्णा नै दुःख समुदय आर्यसत्य हो। यसले दुःखको उदय हुने कारणलाई इंगित गर्दछ।

दुःख निरोध सत्य (दुःखको अन्त)

दुःख निरोध आर्यसत्य भन्नाले दुःख निरोध गर्ने आर्यसत्य हो। तृष्णाबाट विल्कुल विराग हुनु, तृष्णालाई निरोध गर्नु, त्यसलाई त्याग गर्नु, परित्याग गर्नु, यसबाट मुक्त हुनु, अनाशक्त हुनु नै दुःख निरोध गर्ने आर्यसत्य हो।

दुःख निरोध गामिनी प्रतिपदा मार्गसत्य
दुःख निरोधको मार्गतिर लैजाने आर्यसत्य के हो ?

काम वस्तुमा छन्दराग नामक क्लेश, कामले युक्त सुखको बारबार भोग गर्नु, जुन हीन, ग्राम्य, अशिष्ट, अनार्य, अनर्थपूर्ण छ र जुन आफ्नो शरीरलाई व्यर्थ क्लेश दिने, दुःखमय अनार्य, अनर्थकर छ।

यी दुवै अन्तलाई छोडी तथागतले मध्यम मार्गको ज्ञान प्राप्त गर्नुभएको छ, जसले आँखा खोलिदिन्छ, जुन शान्तिको निमित्त, अभिज्ञाको निमित्त, बोधिको निमित्त, निर्वाणको निमित्त हो, त्यही नै दुःख निरोधको मार्गतिर लैजाने आर्यसत्य अर्थात् दुःख निरोध गामिनी प्रतिपदा मार्गसत्य हो।

यसरी हेर्दा जन्म (जाति), वृद्धावस्था (जीर्ण), व्याधि, मृत्यु, शोक, सन्ताप र विलाप हुनु, शारीरिकदेखि मानसिक पीडाले मनमा अशान्ति हुनु, मन नपर्नेसँग सहवास गर्नु, मन परेकोबाट विछोडिएर बस्नु, इच्छा भएअनुसार पूरा नहुनु जस्ता अवस्थाहरू हुन्छन्।

यसैलाई वास्तवमा दुःख आर्यसत्य भनिन्छ भने यसलाई संक्षेपमा पञ्च उपादानस्कन्ध अर्थात् रूप, वेदना, संज्ञा, संस्कार र विज्ञान भनिन्छ।

जुन रागयुक्त तृष्णाले फेरि नयाँ जन्मलाई निम्त्याउँछ, जसमा आनन्द मानेर टाँसिने स्वभाव हुन्छ, देखेपिच्छै वस्तुहरूमा आत्मभाव बढाएर, त्यसैको आलम्बनमा आनन्द र रमाइलो मानेर बस्ने तीन तृष्णाहरू, जस्तै (१) काम, (२) भव र (३) विभव हुन्।

यसैलाई नै दुःख समुदय आर्यसत्य भनिन्छ। तृष्णालाई एकरति पनि नराखेर त्याग, निरोध र नाश गर्नु, त्यसबाट मुक्त भएर अनाशक्त हुने अवस्था पनि छ, जसलाई दुःख निरोध आर्यसत्य भनिन्छ।

दुःखको यथार्थतालाई स्वीकार गर्दै त्यस्को कार्यकारणलाई जानेर जुन निरोधतिर बढ्दै जानुपर्नेे हो, त्यस मार्गलाई मध्यममार्ग भनिन्छ। यसैलाई मज्झिम पटिपदा वा आर्य अष्टांगिक मार्ग पनि भनिन्छ।

अष्टांगिक मार्ग

दुःख निरोध गामिनी प्रतिपदा मार्ग आर्यसत्य भन्नाले दुःख निरोध गर्ने मार्ग जनाउँछ। यो मार्गलाई आर्य अष्टांगिक मार्ग भनिन्छ। किनकि यसमा निम्न उल्लेख्य आठवटा मार्ग सम्मिलित छन् जसको अभ्यासबाट निर्वाण प्राप्त गर्न सकिन्छ ः

सम्यक् दृष्टि (ठीक धारणा)

जब आर्य श्रावकले अकुशललाई चिन्दछ, अकुशलको मूल कारणलाई चिन्दछ। कुशललाई चिन्दछ, कुशलको मूललाई चिन्दछ। त्यस बेला उसमा सम्यक् दृष्टि हुन्छ वा सोझो दृष्टि हुन्छ। त्यस बेला यस धर्ममा उसको अचल श्रद्धा हुन्छ। ऊ यस धर्ममा आएको हुन्छ।


सम्यक् संकल्प (ठीक संकल्प)

नैस्क्रम्य–संकल्प, अव्यापाद–संकल्प, अविहिंसा–संकल्पलाई नै सम्यक् संकल्प भनिन्छ।

सम्यक् वाचा (ठीक वचन)

जुन मानिसले झूटो बोल्न, चुगली गर्न, कडा बोल्न, नचाहिँदो फोस्रो गफ गर्न छोड्छ, त्यसलाई नै सम्यक् वचन भनिन्छ।

सम्यक् कर्मान्त (ठीक कर्म)

जुन मानिसले जीव हिंसा, चोरी गर्ने काम, काम–भोगसम्बन्धी मिथ्याचार छोड्छ, त्यसलाई नै सम्यक् कर्मान्त भनिन्छ।

सम्यक् जीवन (ठीक आजीविका)

जसले मिथ्या आजीविकालाई त्यागेर सम्यक् आजीविकालाई अंगाल्दछ, जसले यी शस्त्र, प्राणी, मासु, मद्य तथा बिष गरी पाँच व्यापारमध्ये कुनै एकको पनि व्यापार गर्दैन, त्यो नै सम्यक् आजीविका हुन्छ।

सम्यक् व्यायाम (ठीक प्रयत्न)

जसले संयम प्रयत्न, प्रहाण प्रयत्न, भावना प्रयत्न, अनुरक्षण प्रयत्न गरी चार प्रकारका प्रयत्न गर्दछन् त्यसलाई नै सम्यक् व्यायाम भनिन्छ।

सम्यक् स्मृति (ठीक संकल्प)

जसले काय (रूप समूह) प्रति कायानुपश्यी भएर, वेदनामा वेदनानुपश्यी भएर, चित्तमा चित्तानुपश्यी भएर, धर्ममा धर्मानुपश्यी भएर तपस्या गर्दछ, सम्पूर्ण रूपले जानेर, स्मृतिवान भई लोकमा लोभ र दौर्मनष्यलाई हटाएर विहार गर्दछ, त्यसलाई नै सम्यक् स्मृति भनिन्छ।

सम्यक् समाधि (ठीक एकाग्रता)

एउटै आलम्बनमा मन एकोहोरो लगाइरहनुलाई सम्यक् समाधि वा चित्त एकाग्रता भनिन्छ।दुःख के हो ? तृष्णाको अन्त्य गर्नाले दुःख नाश हुन्छ। कुशल र अकुशल चिन्ने र त्यसको कारण बुझ्नु अर्थात् ठीक समझदारी सम्यक् दृष्टि हो।

नैस्क्रम्य, अव्यापाद, अविहिंसालाई दृढतापूर्वक पालन गर्नु अर्थात् जीवन सार्थक हुने गन्तव्यतिर पुग्ने संकल्पलाई सम्यक् संकल्प भनिन्छ। वचनलाई संयम गरेर, आपराधिक कर्मबाट टाढिएर, सत्यवादी भएर अप्रिय र कटु वाक्य नबोली नरम, आनन्दित हुने वचन बोल्नु सम्यक् वचन हो।

जीव हिंसा, चोरी, व्यभिचार आदि नराम्रा कुकर्मदेखि टाढिएर, निःस्वार्थी भएर परार्थी हुने काम सम्यक् कर्मान्त हो। शोषण, दमन, भ्रष्टाचार, अत्याचार र अन्याय गरी जीविकोपार्जन नगर्ने, शस्त्र मंस–बिष, प्राणी र मानिस (देहव्यापार, दासप्रथा) को व्यापार नगर्नु सम्यक् आजीविका हो।

अनैतिक कामदेखि टाढिएर मानसिक र चेतसिक नियन्त्रण गरी आत्म नियन्त्रण अभिवृद्धि गर्नेतिर अग्रसर हुने सम्यक् व्यायाम हो। जीवनमा भइरहने जीवन प्रवाहलाई र कुशल–अकुशलप्रति सजग भएर निरन्तर होस राख्नु, जसबाट शुभ संस्कारको सञ्चय हुन्छ, यसलाई सम्यक् स्मृति भनिन्छ।

भावनामय विषयमा आनन्दित भएर चित्त एकाग्र गर्ने क्षमता विकास गर्ने, जसबाट जीवन के हो भन्ने कुरा विस्तारै बुझ्न सकिने हुन्छ, विस्तारै चित्त समाधिस्थ हुन्छ, त्यस अवस्थालाई नै सम्यक् समाधि भनिन्छ।

प्रतिक्रिया दिनुहोस्