पेरुमा बली दिइएका बालबालिकाको सामूहिक चिहान



लिमा, (एजेन्सी)। दक्षिण अमेरिकी मुलुक पेरुका पुरातत्वविद्ले २ सय २७ जना बालबालिकाको सामूहिक चिहान फेला परेको जनाएका छन्। यसलाई विश्वको इतिहासकै अहिलेसम्मको सबैभन्दा ठूलो सामूहिक बाल बलीको घटना मानिएको छ।

यो चिहान कोलम्बियाली चिमु संस्कृतिभन्दा धेरैअघिको भएको अनुमान गरिएको छ। उत्खननको क्रममा पेरुको राजधानी लिमादेखि उत्तरमा पर्ने समुद्री तटीय शहर हुआन्चाको नजिक फेला परेको यस चिहानमा करिब ५ देखि १४ वर्ष उमेरका बालबालिकाका अस्थिपन्जर फेलापरेको हो।

पुरातत्वविद्ले यस स्थानमा गत वर्षदेखि उत्खनन काम सुरु गरेका थिए। हुआनचाकोमा प्रागैतिहासिक कालका भग्नावशेष पाइन्छन्। यस स्थानमा बालबालिकाको बली दिने पुरानो चलन रहेको किंवदन्ती पनि छ।

‘ प्रमुख पुरातत्वविद् फारेन क्यास्टिल्लोले यस ठाउँमा बली चढाइएका बालबालिकाको अहिलेसम्मकै सबैभन्दा ठूलो सामूहिक चिहान भेटिएको ठोकुवा गरेका छन्।
क्यास्टिल्लोले ४ देखि १४ वर्ष उमेरका यी बालबालिकालाई चिमु संस्कृतिका देवता खुसी पार्न बली चढाइएको हुनसक्ने पनि बताएका छन्।

उनले अझै पनि यस्ता धेरै चिहान भेटिनसक्ने अनुमान गरेका छन्। ती बालबालिकालाई करिब ५ सय वर्षअघि बली दिइएको हुनुपर्ने अनुमान गरिएको छ। एक वर्षअघि अन्य २ वटा स्थानमा करिब २ सय जना बाल बली दिइएको अवशेष फेला पारिएको थियो।

क्यास्टिल्लोले भनेका छन्, ‘यो घटना निकै हृदयविदारक छ, बालबालिकामाथि घोर अन्याय भएको छ। जहाँ खन्यो, त्यहाँ बच्चाका अवशेष भेटिने गरेको थियो।
प्राय सबैजसो अस्थिपन्जर समुद्रतर्फ फर्किएको अवस्थामा छन्। कतिपयको त अझै पनि छाला र कपाल समेत भेटिएको छ।

हुआनचाकोमा चिमु सांस्कृतिक कालमा धेरै बालबालिकालाई बली चढाइएको इतिहासमा उल्लेख भएको पाइन्छ। यो कालखण्ड सन् १२०० देखि १४०० रहेको थियो।
पुरातत्वविद्को टोलीले पहिलो बच्चाको अवशेष पाम्पा ला क्रुज सहरमा सन् २०१८ मा भेटेको थियो।

पाम्पा ला क्रुज हुआनचाकिटो नजिकै पर्दछ। हुआनचाकिटोमा पनि २०१८ को अप्रिलमा बली चढाइएका अन्य १ सय ४० जना बालबालिकाको अवशेष फेला परेको थियो।
चिमु सभ्यता पेरुको तटीय इलाकादेखि इक्वेडरसम्म फैलिएको थियो, तर इन्काले परास्त गरेपछि चिमु सभ्यता सन् १४७५ मा पतन भएको थियो।

प्रतिक्रिया दिनुहोस्