प्राध्यापक संघमा लफडा, निर्वाचन गर्ने सहमतिमै किचलो



नेपाल समाचारपत्र, काठमाडौं
आन्तरिक किचलोको कारण १६औं महाधिवेशन सम्पन्न गर्न नसकेको नेपाल प्राध्यापक संघले आफ्नो स्थापना दिवस पनि मनाउन सकेन।

प्राध्यापकहरूको विभिन्न वैचारिक संगठनबीच सहमति गरी चुनावी प्रक्रियासम्म पुगेको संघले मंगलबार स्थापना दिवस मनाउनु पर्ने थियो। प्राध्यापकको साझा संस्था नेपाल प्राध्यापक संघको अधिवेशन चुनावी प्रक्रियामा गएर स्थगित भएको लामो समय भइसकेको छ।

२०१९ साल साउन २८ गते स्थापना भएको नेपाल प्राध्यापक संघ २०२४ सालमा राजा महेन्द्रले विघटन गरेका थिए। २०३६ सालबाट चुनावी प्रक्रियाद्वारा नेतृत्व छान्दै सक्रिय भएको संघको अधिवेशनमा नेतृत्वका लागि प्रजातन्त्रवादी र प्रगतिशिल समूहबीच चुनावी प्रतिस्पर्धा भइरहन्थो।

प्राध्यापक संघमा कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघ, एमाले निकट प्रगतिशिल प्राध्यापक संघ र तत्कालीन माओवादी निकट राष्ट्रिय प्राध्यापक संगठनका नेतृत्वका बीच भागबन्डा गरी कार्यसमिति निर्वाचित गर्ने सहमति भएको थियो।

गत असार १९देखि २१सम्म महाधिवेशन सम्पन्न गर्न खोजेको संघले साउन ४ गते निर्वाचन सम्पन्न गरी नेतृत्व चयन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। अघिवेशनमा प्रजातन्त्रवादी समूहले अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षसहित कार्यसमितिमा ११ जना सहभागी हुने र प्रगतिशिल तथा राष्ट्रिय प्राध्यापक संगठनबाट महासचिव र सचिव दुई पदाधिकारीसहित १० जना कार्यसमितिमा सहभागी हुने सहमतिका साथ साउन ४ गते निर्वाचन प्रक्रिया अघिबढेको थियो ।

कुल २१ जनाको कार्यसमिति रहने प्राध्यापक संघमा अध्यक्षमा सहमति अनुसार प्राडा. बुद्धबहादुर थापा एकजनाको मात्र उम्मेदवारी परे पनि सदस्यमा भने ८ जना बढीको उम्मेदवारी परेको थियो।

प्रजातन्त्रवादी प्राध्यापक संघभित्र जगत तिमिल्सेना र प्रा.वाशुदेव घिमिरेलगायतको एक समूह छ भने अर्कोतर्फ प्रा. प्रकाससिंह प्रधान, प्रा. गुणनिधि न्यौपाने, प्राडा. हरिदर्शन श्रेष्ठ, प्रा. कपिल श्रेष्ठ, त्रिवि प्राध्यापक संघका अध्यक्ष प्राडा. वसन्त ढकाल, निवर्तमान अध्यक्ष योगेन्द्र नारायण वरवडरिया लगायत अर्को समूह छ।

गत शनिबार प्रजातन्त्रवादी प्राध्यापकहरूको समूहबीच भएको सहमति कार्यान्वयन गर्न प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालका अध्यक्ष जगत तिमल्सिनाले इमान्दारिता नदेखाएको भन्दै केही प्राध्यापकहरूले आक्रोश पनि पोखेका छन्।

समाचार स्रोतका अनुसार अध्यक्ष तिमल्सिनासँग असन्तुष्ट समूहले प्रजातन्त्रवादी प्राध्यापक संघमा २ जना सदस्य मनोनित गर्ने र नेपाल प्राध्यापक संघमा एक कोषध्यक्ष र एक सदस्य निर्वाचित गराउने सर्तमा सहमति भएको थियो। गत शनिबार भएको सहमतिमा अध्यक्ष तिमल्सिनाले लिखित प्रतिवद्धता नगर्ने बताएको स्रोतको भनाइ छ।

नेपाल प्राध्यापक संघमा बागी उम्मेदवारी दिने समूहले प्रजातन्त्रवादी प्राध्यापक संघमा डा. सत्यनारायण शाह र प्रा. गोपाल पाण्डेलाई सदस्य मनोनित गर्नुपर्ने र नेपाल प्राध्यापक संघमा प्रा. देवराज अवस्तीलाई कोषाध्यक्ष र डा. विपिन रायलाई सदस्य बनाउने कुरामा सहमति गरेका थिए। यस बारेमा प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष तिमल्सिनालाई जिज्ञासा राख्दा कुनै सहमति नभएको नेपाल समाचारपत्रलाई प्रतिक्रिया दिनुभएको छ। साढे दुई वर्षअघि अधिवेशन भएको प्रजातन्त्रवादी प्राध्यापक संघमा ६ जना सदस्य मनोनित गर्न बाँकी छ।

नेपाल प्राध्यापक संघको महाधिवेशनमा ३ सय २० महाधिवेन प्रतिनिधिमध्ये प्रजातन्त्रवादी समूहका १ सय ९० र वामपन्थी र अन्य गठबन्धनका १ सय ३० रहेको बताइएको छ। नेपाल प्राध्यापक संघको विधान अनुसार अध्यक्ष प्रत्यक्ष निर्वाचित हुने र अन्य २० समानुपातिक प्रकृयाबाट निवाचित हुने हुँदा अध्यक्ष र सम्पूर्ण पधाधिकारीसहित प्रजातन्त्रवादीका १३ जना र वामगठबन्धनका ८ जना निर्वाचित हुने देखिन्छ। प्रजातन्त्रवादी प्राध्यापक बीचको भागबन्डा नमेलेपछि निर्वाचन नै स्थगित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्