बजेटको तयारीः कर्मचारी झिसमिसेदेखि अबेरसम्म व्यस्त



हेटौंडा, (नेस) ।
प्रदेश–३ को आर्थिक मामिला मन्त्रालय आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने अन्तिम तयारीमा जुटेको छ । बजेटको तयारीका लागि मन्त्रालयका कर्मचारीहरु झिसमिसेदेखि अबेरसम्म काममा खटिएका छन् ।

चालु आर्थिक वर्षमा पुँजीगत खर्च रकम खासै खर्च गर्न नसकेको प्रदेश सरकार आगामी आर्थिक वर्षका लागि गत वर्षभन्दा बढी रकमको बजेट ल्याउने तयारीमा जुटेको छ ।

बजेटका लागि सात वटै मन्त्रालयमा पठाइएको बजेट सिलिङअनुसार आगामी वर्षभर गरिने कामका योजना छनौट भएर आइसकेको आर्थिक मामिला मन्त्री कैलाशप्रसाद ढुंगेलले बताउनुभयो । गत वर्षसमेत समेट्न नसकिएका योजना बजेटमा समेट्ने तयारी भएको उहाँले बताउनुभयो ।

बजेट कति रकमको ल्याइने भन्ने उहाँले खुलाउन चाहनुभएन । तर, सबभन्दा बढी रकम भौतिक पूर्वाधार क्षेत्रमा खर्च गरिने उहाँले जानकारी दिनुभयो । प्रदेशका गौरवका योजनाहरु छनौट गरेर काम गर्ने तयारी भएको छ ।

असार १ गते ल्याइने बजेटमा चालु आर्थिक वर्षमा भन्दा चालु खर्च बढ्ने अनुमान गरिएको छ । कर्मचारी अभावका कारण चालु खर्च थोरै भएको प्रदेशमा आगामी आर्थिक वर्षमा भने चालु खर्च बढ्ने छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि ३५ अर्ब ६१ करोड ५६ लाख रुपियाँको बजेट ल्याएको थियो । जसअन्तर्गत् आन्तरिक राजस्वबाट ९ अर्ब ३३ करोड ३६ लाख ७३ हजार, संघीय समानीकरण अनुदानबाट ५ अर्ब ९६ करोड ९७ लाख, राजस्व बाँडफाँटबाट ८ अर्ब १९ करोड ६६ लाख २७ हजार, सशर्त अनुदानबाट १० अर्ब ६१ करोड ५६ लाख र नगद मौज्दात ७० लाख रुपियाँ थियो ।

मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक गठन भएका प्रदेश सरकारको गत वर्ष पहिलो बजेट थियो । संघीय सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँट, खर्च नभएर जोहो रहेको रकम र केही आन्तरिक स्रोतको अनुमानका आधारमा बजेट आएको थियो ।

मन्त्री ढुंगेलले स्थानीय तहलाई प्रमुख प्राथमिकतामा पार्दै १ सय १९ स्थानीय तहलाई ५ अर्ब २८ करोड ८२ लाख बजेट विनियोजन गर्नुभएको थियो । प्रदेशका आधारको रुपमा रहेको पूर्वाधार विकास, पर्यटन तथा कृषिलाई उच्च प्राथमिकतामा राखिएको छ । प्रदेशको राजस्व दायरा वृद्धि गर्ने बजेटको मुख्य उद्धेश्य थियो ।

आव २०७४/०७५ को कुल बजेट १ अर्ब २ करोड ५ लाखमध्ये मन्त्रालय एवम् निकायलाई विनियोजित ३८ करोड ३५ लाख प्रदेशस्तरीय मन्त्रालय एवम् निकायको कार्यसञ्चालन सम्बन्धि क्रियाकलाप सञ्चालनार्थ विनियोजन भएकाले सोको समग्र नतिजा चालु आर्थिक वर्षको अन्त्यसम्ममा प्राप्त हुने अपेक्षा छ ।

चालु आवको अर्थ बजेटमा राखिएको बचत रकम ६३ करोड ७० लाखलाई आगामी आवको आम्दानी स्रोतका रुपमा हिसाबमिलान गरिसकिएको छ । जेठ मसान्तसम्म कुल विनियोजित रकम ३८ करोड ३५ लाखमध्ये ५ करोड २२ लाख अर्थात् १३.६१ प्रतिशत् रकम खर्च भएको छ ।

आव २०७५÷०७६ का लागि स्रोत बाँडफाँट गर्दा कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण, पर्यटन प्रवद्र्धन र विकास, ऊर्जा र पूर्वाधार विकास, स्वास्थ्यमा सरल र सहज पहुँच, शिक्षाको गुणस्तर विकास, बन र वातावरण संरक्षण, भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार, औद्योगिकीकरण र उत्पादकत्व वृद्धि, साझेदारी कार्यक्रम र एकीकृत वस्ती विकासलाई प्राथमिकतामा राखिएको छ ।

स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताका आधारमा प्राकृतिक स्रोत तथा वित्त आयोगबाट निर्धारित मापदण्डअनुसार प्रदेशका १ सय १९ वटै स्थानीय तहका लागि समानीकरण अनुदान बाँडफाँट गर्न १ सय करोड रकम छुट्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्