आरन रेटेरै लखपती बने विष्णु



सिर्जना पन्त, बागलुङ ।

उमेरले ५२ वर्ष पुरा भएका बागलुङको बडिगाड गाउँपालिका–५ खाराका विष्णु विकको जोश भने २२ वर्षीय युवाको भन्दा कम छैन । १६ वर्षको उमेरबाट आरन चलाउँन सुरु गरेका विकले जीवनको ३६ वर्ष फलाम पिटेर बिताउँनुभयो । त्यो समयमा सबैले भन्नेगरेको जस्तो जातले पाएको र पुर्खाको पेशालाई निरन्तरता दिएका विकको लागि त्यही आरन परिवारको पेट पाल्ने माध्यम मात्र बनेन् लाखौंको सम्पत्तीको मालिक बन्ने आधार बन्यो । बाउँ बाजेबाट सरी आएको एक मुरी अन्न उत्पादन हुन जेनतेन आदा दिनको पुर्खेउली सम्पत्ती भएका विकले त्यही आरन पेशाबाट अहिले करोड मुल्य पर्ने सम्पत्ती आर्जन गर्नुभएको छ । एक श्रीमती तिन छोरा, एक बुहारी र एउटा नाती समेत रहेका विक पारिवार र आफ्नो समुदायको मात्र नभएर यो क्षेत्रकै नमुना व्यक्ती बन्नुभएको छ ।

बडिगाड गाउँपालिका संगैं बागलुङको ढोरपाटन नगरपालिकामा समेत पुगेर विकले हसिया, बाउसो, बन्चरो, गाग्री ताउँला जस्ता फलाम र तामाका समानहरु समानहरु बनाउँदैं आउँनुभएको छ । बालिघरे प्रथाको अन्त्य हुनुपर्ने र ज्यालमा काम गर्नु गराउँनुपर्ने भन्ने कुरा विकले पनि नसुन्नुभएको हैन । तर विकलाई ज्यालामा भन्दा बालि लिएर काम गर्न मन पर्छ । ‘ज्याला लिएर के गर्नु हजार प्रन्ध्र सयले के हुन्छ, विकले भन्नुहुन्छ, अन्न ल्याउँनेहो भने वर्षभरी परिवार पाल्न सजिलो हुन्छ बाँकी रहेको बेच्न पाईन्छ ।’ विकले अझैपनि बालि उठाउँदैं आउँनुभएको छ । ९० घरधुरीबाट वार्षीक ३५ मुरी अन्न बालि उठाउँदैं आएको विकले बताउँहुन्छ ।

विकले आरन चलाएर कमाएको १४ लाख २० हजार रुपैयाले ७ वर्ष पहिले खारा बजारमा ९ आना जमिन किन्नुभयो । ४ वर्ष पहिले सोही जमिनमा दुई तले घर समेत बनाउँनुभयो । स्थानिय सरकार गठन भएसंगैं गाउँपालिकाको पाएक पर्ने स्थानमा सुविधा सम्पन्न घरको खोजी हुने क्रममा विकको घर रोजाईमा प¥यो । अहिले विकको घरमा वडिगाड गाउँपालिकाको कार्यालय बसेको छ । उहाँले मासिक १७ हजार १ सय रुपैया घरको बाहाल समेत बुझदैं आउँनुभएको छ । गाउँपालिका बसेको घरको छेउमै विकको आरन छ । त्यहाँ पुग्ने जो कोहीलाई गाउँपालिकाको कार्यालय बसेको यो घर त्यही आरनवालाको हो भन्दा विश्वास नै लाग्दैंन विकका कान्छा छोरा चुणा विकले भन्नुहुन्छ ।

विकका जेठा छोरा लोकमान विक र माईला छोरा वैदेशिक रोजगारीको लागि कतार र मलेसियामा छन् । कान्छा छोरालले गाउँमै ठेक्का पट्टाको काम गर्छन । विष्णुले आफ्ना छोराहरुले पनि आफुले जस्तै बाबु बाजेको पेशा अंगालिदिउँन भन्ने चाहान नराख्नुभएको होइन ।

तर छोराहरुको यो पेशा प्रति लगाव नदेखेपछि विक आफैले आफ्नो रुचि अनुसारको पेशा गर भनेर छुट दिएको बताउँनुहुन्छ । माईलो छोराले त आरन चलाउँन जानेको छ अरु दुई भाईले जान्दैनन् विकले भन्नुभयो, आजकलका केटाकेटीले मनमा लागेर कहाँ यस्तो काम गर्छन तेसैले तिमीहरुलाई जे मन लाग्छ तेही गर भन्दिए ।

‘छोराहरुले कमाउँन थालेपछि मलाई आरन छोड्न भन्न थालेका थिए विकले भन्नुभयो, यो पेशा छोडेर कहाँ बाच्न सक्छु बाँचुजेल र सकुन्जेल फलाम पिटेर बस्छु ।’ छिमेकीहरुले समेत यति धेरै सम्पत्तीको मालिकले यस्तो पेशा गरेको सुहाएन भन्न थालेका छन् विकले भन्नुभयो, ‘यो पेशा नगरेको भए यो सम्पत्ती कहाँबाट कमाउँथे आफ्नो पेशाप्रति सम्मान भएन भने आफुप्रतिको सम्मान पनि हराउँछ ।’

प्रतिक्रिया दिनुहोस्