आगलागी न्यूनिकरण गर्न सचेतना जरुरी



 

कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा आगलागी हुँदा ४ घरगोठ जलेर नष्ट भएका छन् । शुक्रवार दिउँसो स्थानीय प्रदीप नेपालीको घरबाट फैलिएको आगोले छिमेकी रमेश, धनबहादुर र पूर्ण नेपालीको घरगोठ सहित लत्ता कपडा, भाँडाकुँडा, गरगहना अन्य सामग्री जलेर नष्ट भएका छन् । आगलागीका कारण चार परिवारका १७ जना घरवार विहिन भएका छन्, पीडित परिवार खुला आकाशमुनी बस्न बाध्य भएका छन् । उता सिन्धुलीमा पनि एक हप्ताको अवधिमा २ ठाउँमा आगलागी हुँदा ६ घर र ४ गोठ जलेर नष्ट हुँदा घर गोठ भित्रको अन्नपात र अन्य सामग्री नष्ट भएको छ ।

शुक्रवार सिन्धुलीको सुनकोशी गाउँपालिका–५ हाईडाँडामा आगलागी हुँदा एक घर र एक गोठ नष्ट भएको छ भने गत बुधवार जिल्लाको तीनपाटन गाउँपालिकामा ४ घर जलेर पूर्ण रुपमा क्षति पुगेको छ । त्यसैगरी विहीवार दिउँसो इलामको माइपोखरी आसपासका ४ घर पनि आगलागीले क्षति पु¥याएको छ । स्थानीय निमदोर्जे शेर्पा, कमल मुखिया, चक्र मुखिया र लाक्पा शेर्पाको घर जलेर नष्ट हुँदा ७ परिवारको विचल्ली भएको छ । कपिलवस्तु, सिन्धुली र इलामका यी पछिल्ला प्रतिनिधी घटना मात्रै हुन्, गर्मीयाम बढेसँगै मुलुकका अन्य भेगमा पनि आगलागी भएका खवर सार्वजनिक हुन थालेका छन् । सुख्खायाममा वस्ती आसपासका डाडाँपाखामा डडेलो लगाउँदा त्यसको प्रभाव वस्तीमा पनि फैलिने गरेको छ भने धेरै घटना घर गोठमा कुडो पकाउँदा अन्य प्रयोजनका क्रममा भएका उदाहरण धेरै छन् ।

भनिन्छ–प्रकोपका धेरै घटनाका बाजा बजाएर अर्थात् पूर्व सूचना वा जानकारी दिएर हुँदैन । जानाजान घर गोठ वा अन्य भौतिक संरचनामा आगलागीका घटना हुँदैनन् । चुलो र अगेनो प्रयोगपछि दाउरा र कोइलालाई व्यवस्थित गर्न नसक्दा, विजुली सर्ट हुँदा, ग्यास सिलिन्डर र ग्यास चुलोको प्रयोग व्यवस्थित ढंगमा नहुँदा आगलागीका घटना वर्षेनी दोहोरिने गरेका छन् । सुख्खा क्षेत्रमा जथाभावी चुरोटको ठुटो फ्याक्दा अनि सलाई, लाईटर जस्ता आगो वाल्न प्रयोग हुने वस्तु स–सना वच्चा मात्रै होइन वयस्क व्यक्तिले पनि चलाउन हेलचेक्रयाईँ गर्दा दुर्घटना निम्तिने गरेको छ । यस्तै कारणले बाक्लो वस्ती खासगरी पराल, खर र फुसले छाउने गरिएका परम्परागत शैलीमा बनेका घर गोठमा यस्ता घटना धेरै हुँदै आएका छन् । तराईमा पनि वर्षेनी धेरै घर परिवारले ठूलो क्षति व्यहोर्नु पर्ने अवस्था छ ।

आगलागी सहित अन्य प्रकोप र दुर्घटना शतप्रतिशत नियन्त्रण गर्न सकिन्न । तर पूर्व सावधानी अपनाइएको खण्डमा मानवीय र भौतिक क्षति न्यूनिकरण गर्न भने पक्कै सकिन्छ । आगलागी नियन्त्रण गर्न दमकल खरिद गर्नु, प्रयोगमा ल्याउनु र अग्नी नियन्त्रक खटाउनु मात्रै समाधान होइन । सुगम भनिएका सहर बजारमा मात्रै होइन भौगोलिक विविधताका कारण अन्यत्र पनि समयमा दमकल नपुगेका उदाहरण धेरै छन् । त्यसैले सरकार, खासगरी स्थानीय निकाय मार्फत आगलागी सहित अन्य प्रकोपका घटना न्यूनिकरण गर्न सचेतना मुलुक गतिविधी गरिएको खण्डमा क्षति घटाउन सकिन्छ । आमसञ्चार माध्यम मार्फत स्थानीय मातृभाषामा पनि सचेतनामूलक सन्देश सम्प्रेषण गरियो भने त्यसले पक्कै पनि सकारात्मक प्रभाव पार्छ ।

प्रतिक्रिया दिनुहोस्