राजधानीमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव, दर्शकको घुइँचो



काठमाडौंका ७ नाट्य संस्थाले राजधानीको अनामनगरस्थित मण्डला थिएटरलगायत ४ नाट्यघरमा संयुक्तरूपमा आयोजना गरेको ७ दिने नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७५ नाटकप्रेमीका लागि आकर्षणको विषय बन्न पुगेको छ। सोमबार मण्डला थिएटरबाट शुरू भएको महोत्सवमा सरिक हुन यी नाटक घरहरूमा नाटकप्रेमीहरूको घुइँचो लागेको छ।

महोत्सवको दोस्रो दिन मंगलबार ४ नाटक मञ्चन गरियो। जसअनुसार मण्डला थिएटरमा भिक्टरको निर्देशनमा मणिपुरी भाषामा ब्ल्याक एन्ड ह्वाइट, कौशी थिएटरमा प्रियंका झा र सविन कटेकको लोक सञ्चार, थिएटर मलमा केदार श्रेष्ठको भोको घर र शिल्पी थिएटरमा म्याकडोनियाबाट नीना निकोलिक्जको प्राइभेट कन्फेसन मञ्चन गरिएको छ। महोत्सवको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका थिए। शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालमा नाटकको सम्भावना धेरै देखिएको र यसका लागि सरकारले पूर्णरूपमा सहयोग गर्ने बताए।

‘नेपालमा नाटकको भविष्य राम्रो छ। चाहे नाटक लेखको क्षेत्र होस् वा अभिनय गर्नेको क्षेत्र अथवा दर्शकको क्षेत्र किन नहोस् यो विधा धेरैको रुचिको विषय भएको छ’, ओलीले आश्वासन दिँदै भने– ‘नाट्य क्षेत्रको विकासका लागि सरकारले बजेट पनि विनियोजन गर्नेछ।’ उनले सरकारले आगामी आर्थिक वर्षदेखि नाट्य विधाको उत्थानका लागि बजेट छुट्याउने र नाटकघर निर्माणका लागि जग्गा पनि उपलब्ध गराउने प्रतिबद्धता जनाए। यसका लागि छलफल थालिसकेको जनाउँदै ओलीले भने– ‘नाटक व्यक्तिको प्रतिभाको साधना पनि हो। मानसिकरूपमा आफूलाई अब्बल बनाउँदै समाज रूपान्तरण गर्ने माध्यममध्येको एक विशिष्ट माध्यम पनि हो। नाट्य विधा समाजको ऐना पनि हो टर्चलाइट पनि हो। ऐनाले वर्तमान देखाउँछ, टर्च लाइटले भविष्य।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले संस्कृतिविद् सत्यमोहन जोशी, नाट्यकर्मी अभि सुवेदी, सरुभक्त, शकुन्तला शर्मा गुरुङ, अशेष मल्ल, सुनिल पोखरेल, सूर्यमाला खनाल, सुभद्रा अधिकारी, सुनिल मिश्र, ग्रेटा राणालगायतलाई सम्मान गरे। सोही अवसरमा उनले जोशीद्वारा लिखित सुनकेसरी पुस्तकको विमोचन पनि गरे।

नाट्यकर्मीहरूले नेपालमा नाट्य विश्वविद्यालयको माग गरे। महोत्सवका निर्देशक तथा रंगकर्मी राजन खतिवडाले निजी क्षेत्रबाट नाट्य विधाको विकास र विस्तारको प्रयास भइरहे पनि पर्याप्त नभएको बताए। नेपालमा नाटकको अध्ययन संस्कृति र अवसर नरहेको चर्चा गर्दै खतिवडाले स्रोत साधनको अभावका बीच नेपाली नाट्य क्षेत्र अगाडि बढिरहेको बताए। नाट्यकर्मीले आफ्नै स्रोत र साधनमा नाटकघर बनाउने र नाट्य गतिविधि गर्दै आएको उल्लेख गर्दै खतिवडाले यस्ता नाट्यघर नेपाली कला, साहित्य र संस्कृतिको उजागर गर्न प्रत्येक नगरमा आवश्यक रहेको बताए। ‘हामीले सीमित स्रोतसाधनबाट गरेको प्रयासले मात्रै नेपाली रंगमञ्च समृद्ध हुँदैन। हरेक नगरमा नाट्यघर आवश्यक छ। म बाको हात समातेर नाट्य विद्यालय जान पाइनँ। म त्यो सपना देख्छु जो मेरा अग्रजहरूले पनि देख्नु भएको हो।’ –उनले भने।


समारोहमा परम्परागत एवं मौलिक झाँकीसँगै आधुनिक सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो भने अनुप बराल निर्देशित नाटक रेप मेसिन मञ्चनसमेत भएको थियो। महोत्सवअन्तर्गत मंगलबारदेखि काठमाडौंका चार थिएटर मण्डला थिएटर, शिल्पी थिएटर, कौसी थिएटर र थिएटर मलमा हरेक दिन ४÷४ नाटक मञ्चन शुरू गरिएको छ। हरेक दिन साँझ विभिन्न विषयमा अन्तक्र्रिया पनि हुनेछ। मंगलबार रंगमञ्चको किनारै किनार विषयमा अन्तक्र्रिया गरिएको थियो। अन्तक्र्रियामा सिर्जना सुब्बा, नाजिर हुसेन, सविन खतिवडालगायत सहभागी थिए। महोत्सवमा नेपाल, भारत, बंगलादेश, अफगानिस्तान, नर्वे, इटालीलगायत ८ देशका ३० नाटक मञ्चन गरिनेछन् भने विभिन्न विषयमा अन्तक्र्रियात्मक कार्यक्रम र बहस हुने रंगकर्मी सिर्जना सुब्बाले जानकारी गराइन्। उनका अनुसार हरेक दिन ४ नाटक मञ्चन गरिनेछन्।

महोत्सव शुभारम्भ समारोहमा अर्थमन्त्री युवराज खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, भौतिक पूर्वाधार एवं यातायात मन्त्री रघुवीर महासेठ, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, सांसद जुली महतो, पूर्वमेयर केशव स्थापित, पूर्वसंस्कृति मन्त्री दीपकराज जोशी, कांग्रेस नेता गगन थापा, जर्मन एम्बेसीका प्रतिनिधि एन्ड्री अर्सनल, जीआईजेडका नेपाल निर्देशक एल्क फर्सटर, जीआरजेड सिभिल पिस सर्भिसका संयोजक वेरेना हिंज र अमेरिकन राजदूतावासका ट्रेड ब्राउनलगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्