कुखुराको अन्डाबाट क्यान्सरको उपचार हुने



लन्डन, (एजेन्सी)
बेलायतका वैज्ञानिकहरूको एक टोलीले लामो समयसम्मको अनुसन्धानपछि क्यान्सर समाप्त पार्ने प्रोटिनयुक्त अन्डा उत्पादन गर्न सफलता हासिल गरेको छ।

ती अन्डामा हुने प्रोटिनबाट क्यान्सर उपचारका लागि औषधि बनाउन सकिने र यसरी औषधि बनाउँदाको खर्च प्रयोगशालामा बनाइने औषधिको तुलनामा १ सय गुना सस्तो हुने वैज्ञानिकहरूले बताए। यसका लागि कुखुराको आणुवंशिक परिवर्तन गरी क्यान्सर प्रतिरोधी प्रोटिन निकाल्न सक्ने गुण जिनमा हालिन्छ। केही समयमा यस प्रकारका अन्डा व्यापक स्तरमा उत्पादन गर्न सम्भव हुने अनुसन्धानकर्ताहरूको टोलीले जनाएको छ।

एडिनबरास्थित रोसिन टेक्नोलोजिज नामक कम्पनीमा आवद्ध डा। लिसा हेरानका अनुसार सोधमा प्रयोग भएका ती कुखुरालाई कुनै प्रकारको समस्या झेल्न नपरेको र उनीहरूलाई पोल्ट्री फर्मका कुखुराका तुलनामा विशेष ध्यान दिइएको बताइन्। यसअघिका सोधबाट बाख्रा, खरायो र कुखुरामा आणुवंशिक परिवर्तन गरी उनीहरूको दूध तथा अन्डाबाट रोगको रोकथाम गर्ने प्रोटिन प्राप्त गर्न सक्ने देखाएको थियो।

यो नयाँ तरिका अत्यन्त प्रभावशाली र किफायती भएको र पुरानो तरिकाको अपेक्षामा यसबाट अत्यन्त धेरै मात्रामा प्रोटिन उत्पादन गर्न सक्ने अनुसन्धानकर्ताहरूले बताए। डा। हेरानले भनिन्– ‘कुखुराको मद्दतबाट प्रोटिनको उत्पादन कारखानामा हुने उत्पादनको तुलनामा १० देखि सय गुणा सस्तो छ।’ यसबाट औषधि उत्पादनमा हुने कुल खर्चभन्दा कम्तिमा दश गुणा कम खर्चमा यी अन्डाको उत्पादन गर्न सकिने अपेक्षा गरिएको छ।

यो प्रक्रियामा सबैभन्दा धेरै बचत आधारभूत ढाँचासँग सम्बन्धित छ। प्रयोगशालामा यी औषधि बनाउनका लागि जीवाणुरहित प्रयोगशालाको निर्माण गर्नुपर्ने हुन्छ। जबकी यी औषधियुक्त अन्डाका लागि सामान्य कुखुराको खोर आवश्यक हुन्छ। कयौं रोगका कारण रोगीको शरीरले प्राकृतिक रुपमा कुनै एक रासायन वा प्रोटिन उत्पादन गर्न नसक्ने हुन्छ। यस्तोमा शररीमा एक निश्चित प्रोटिनको आपूर्ति गर्ने औषधि यी रोगको रोकथाम गर्न सकिनेछ। फर्मास्युटिक कम्पनीहरू यस प्रकारका औषधि प्रयोगशालामा बनाउँछन्, जुन अत्यन्त खर्चिलो प्रक्रिया हो। डा। हेरान र उनको टोलीले कुखुराको अन्डाको सेतो भाग बनाउने डीएनएको हिस्सामा यो प्रोटिन उत्पादन हुने मानव जिन प्रत्यारोपण गरेका थिए।
उक्त टोली जब ती कुखुराले पारेको अन्डा फुटालेर सेतो भागको जाँच गरे, त्यसमा पर्याप्त मात्रमा क्यान्सर प्रतिरोधी प्रोटिन पाइएको थियो।

प्रतिक्रिया दिनुहोस्