भेनेजुयलाका विपक्षी नेतालाई देश छोड्न प्रतिबन्ध



खाता पनि रोक्का
काराकास, (एजेन्सी)
भेनेजुयलाको सर्वोच्च अदालतले बुधबार विपक्षी राजनीतिक नेता जुआन गुआइदोलाई देश छोडेर जान प्रतिबन्ध लगाउँदै उनका सम्पूर्ण बैंक खाताहरु रोक्का गरेको छ। गत साता गुआइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेका थिए। गतवर्ष भएको आम निर्वाचनमा धाँधली भएको आरोप लगाउने उनी र वर्तमान राष्ट्रपति निकोलस माडुरोबीच सत्ता भिडन्त चलिरहेको छ।

उनलाई संयुक्त राज्य अमेरिका र केही युरोपेली राष्ट्रले समर्थन गर्दै आएका छन्। यता माडुरोलाई रसिया र चीनलगायतका राष्ट्रले समर्थन गर्दै आएका छन्।

अमेरिकी सुरक्षा सल्लाहकार बोल्टनले विपक्षी नेता गुआइदोलाई कुनै पनि तलमाथि गरे अमेरिकाले कडा कारबाही गर्ने चेतावनी दिएका थिए। यसैगरी मंगलबार अमेरिकाले भेनेजुयलाको तेल बिक्रीमाथि पनि प्रतिबन्ध लगाएको थियो। यसैबीच माडुरोले एक अन्तर्वार्ता दिने क्रममा आफू विपक्षी राजनीतिक नेतासँग वर्तमान राजनीतिक संकट समाधानका लागि वार्ता गर्न तयार रहेको बताएका छन्।

भेनेजुयलाको राजधानी काराकासस्थित रुसी सरकारी समाचार निकाय रिया नोभोस्तीका अनुसार माडुरोले भेनेजुयलाको हितका लागि आफू सो वार्ताको टेबुलमा बस्न तयार रहेको बताएका छन्।
तर चाँडै राष्ट्रपतीय चुनाव हुने कुनै छाँट नभएको बताउँदै माडुरोले आगामी सन् २०२५ सम्म सो चुनाव हुनै नसक्ने स्पष्ट पारेका छन्। उनले आफूले निर्धारित समयअगावै संसदीय चुनाव गराउने बारेमा समर्थन गर्न सक्ने तथा यो पनि राजनीतिक छलफल गर्ने एक राम्रो उपाय हुन सक्ने विचार व्यक्त गरेका छन्। शनिबार युरोपेली संघले माडुरोलाई आठ दिनभित्र नयाँ चुनावका लागि आ≈वान नगरेको खण्डमा आफूले गुआइदालाई नै राष्ट्रपति घोषित गर्ने चेतावनी दिएको थियो। बुधबार पनि विपक्षी राजनीतक समूहले आफ्ना समर्थकलाई दुई घन्टे शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन आ≈वान गरेको छ।

तर सो प्रदर्शनमा गुआइदोको सहभागिता हुने वा नहुनेबारे केही पनि बताइएको छैन। यसैगरी उत्तर र दक्षिण अमेरिकाका केही राष्ट्रहरुको समूहले भने भेनेजुयलामा बा≈य सेनाको संलग्नताको विरोध गरिने जनाएको छ। पेरुका विदेशमन्त्री नेस्टोर पोपोलिजिओले सन् २०१७ मा गठित क्यानाडालगायतको चौध राष्ट्र सम्मिलित लिमा गु्रपले भेनेजुयला समस्याको शान्तिपूर्ण समाधानको अपेक्षा राखेको बताएका छन्।

अमेरिकी अधिकारीहरूले समस्या समाधानका सम्पूर्ण विकल्प वार्ताको टेबुलमा रहेको बताएका छन्। गम्भीर आर्थिक संकटबाट समेत गुज्रिरहेको भेनेजुयलामा केही सातादेखि हिंसात्मक विरोध प्रदर्शन हुँदै आएका छन्।

गत १० जनवरीमा मादुरोले दोस्रो कार्यकाल संहालेयता राजनीतिक संकट शुरू भएको हो। गत वर्षको राष्ट्रपतीय चुनावको दौरान मादुरोले अधिकांश विपक्षी नेतालाई चुनाव लड्नबाट वञ्चित गर्नुका साथै अन्य धेरैलाई जेलमा कोचेका थिए।

संयुक्त राष्ट्र संघका अनुसार गत २१ जनवरीयता प्रदर्शनका क्रममा कम्तीमा ४० जनाको ज्यान जानुका साथै सयौंलाई गिरफ्तार गरिएको छ। अति मुद्रा अवमूल्यन र खाद्यान्न तथा औषधिजस्ता अत्यावश्यक वस्तुहरुको अभाव हुन थालेकाले लाखौं भेनेजुयाली छिमेकी मुलुकतर्फ पलायन भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्