भीनपामा दिशाजन्य फोहर व्यवस्थापन परियोजना सञ्चालन हुने



मनोज भट्ट, महेन्द्रनगर ।
भीमदत्त नगरपालिका र नेपाल नगरपालिका एसोसिएसनबीच दक्षिण एशियाली नगरपालिका सञ्जाल सरसफाई सम्बन्धी पैरबी परियोजना सञ्चालनका लागि समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।

भीमदत्त नगरपालिका कार्यालयमा आइतबार भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्ट र नेपाल नगरपालिका संघका सह कोषाध्यक्ष एवम् काठमार्डौं महानगरपालिकाका नगर उप प्रमुख हरिप्रभा श्रेष्ठ खड्कीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा धनगढी उप महानगरपालिकाका नगर प्रमुख नृप बहादुर ओड, नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्मा लगायतका सहभागी भएका छन् ।

वातावरण तथा जनसंख्या संस्थाको प्राविधिक सहयोगमा नेपालका ५ नगरपालिकाकामध्ये सुदूरपश्चिम प्रदेशमा भीमदत्त नगरपालिकामा परियोजना सञ्चालन गरिएको हो । भीमदत्त नगरपालिका सहित धुलीखेल, लमही, वालिङ्ग र लाहान परियोजना सञ्चालनका लागि छनौट गरिएका छन् । यो परियोजना नेपाल बाहेक बंगलादेशमा सञ्चालनमा छ ।

समझदारी पत्रमा हस्ताक्षरपछि नेपाल नगरपालिका संघका सह कोषाध्यक्ष खड्कीले परियोजना सञ्चालनका लागि भीमदत्त नगरपालिका छनौट भएकोमा धन्यवाद दिदैं परियोजना नमूना बनाउन सुझाव दिइन् ।

स्थानीय तह निर्वाचनमा चुनाव प्रचार गरिए जसरी सिहदरबारको अधिकार गाउँ घरमा पुग्न नसकेकोले सडक, ढल, खानेपानी, विद्युत लगायतको अधिकार स्थानीय तहमा आउनु पर्ने सह कोषाध्यक्ष खड्कीले बताइन् ।

धनगढी उप महानगरपालिकाका नगर प्रमुख ओडले स्थानीय सरकारले फोहरमैला व्यवस्थापनको सबैभन्दा ठूलो समस्या भएकाले परियोजनाले भीमदत्त नगरपालिकालाई दिशाजन्य फोहर व्यवस्थापनमा सहयोग पुग्ने बताए । सुदूरपश्चिम सरकारको भीमदत्त र धनगढी उप महानगरपालिकालाई हेर्ने दृष्टिकोण समान भएकाले दुबै नगरपालिकाले सोच विचारका साथ कार्यक्रम बनाउनु पर्ने अवस्था रहेको बताए ।

भीमदत्त र धनगढीको विकास सुदूरपश्चिम प्रदेशका ८८ तहका लागि फलदायी हुने नगर प्रमुख ओडले बताए ।

भीमदत्त नगरपालिका त्रिदेशीय नाकाका रुपमा रहेको उल्लेख गर्दैै नगर प्रमुख विष्टले भीमदत्तको विकास र समृद्धि सुदूरपश्चिमको समृद्धिसित जोडिएको उल्लेख गरे ।
महाकाली नदीको बहु उपयोगका लागि छलफल अघि बढाएको उल्लेख गर्दै नगर प्रमुख विष्टले धार्मिक पर्यटन प्रवद्र्धनका लागि उत्तरी क्षेत्रमा जैविक मार्ग निर्माण गरिएको बताए ।
कार्यक्रममा नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक देवकोटाले समझदारीको औचित्यबारे उल्लेख गर्दै वातावरणीय जोखिम न्यूनीकरणका लागि परियोजना लागू गरिएको बताए ।

संघका कार्यकारी निर्देशक देवकोटाले नेपाल र बंगलादेशका ५÷५ नगरपालिकामा परियोजना सञ्चालन गरिएको बताए । नेपालमा देशभरबाट परियोजना सञ्चालनका लागि १० नगरपालिकाले प्रस्ताव पेश गरेका थिए ।

संघका इन्जिनियर मुस्कान श्रेष्ठले परियोजना सम्बन्धी जानकारी गराए । तीन वर्षसम्म सञ्चालन गरिने परियोजना अन्र्तगत फोहर व्यवस्थापनका लागि नीति निर्माण, योजना निर्माण, आर्थिक सहयोग सम्बन्धी कार्यक्रम समावेश गरिएका छन् ।

दिशाजन्य फोहरबाट जैविक इन्धन, निर्माण सामग्री, जैविक मल, किराहरुका लागि प्रोटिन बनाउन सकिने लगायतका कार्यमा प्रयोग गर्न सकिने इन्जिनियर श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्