घरपरिवारबाटै महिला असुरक्षित, महिला हिंसाको कारक तत्व मदिरा



नेपाल समाचारपत्र, दैलेख
जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले पछिल्लो समय महिलाहरु घरपरिवारबाटै असुरक्षित भएको बताउनुभएको छ । जिल्ला सदरमुकाम दैलेख बजारमा मंगलवार आयोजित सार्वजनिक परामर्श कार्यक्रममा बोल्नुहुँदै जिसस प्रमुख थापाले भन्नुभयो “बालिका देखि बृद्धा सम्म आफ्नै आफन्तबाट बलात्कृत भएका छन्, हिंसामा परेका छन्, त्यसले पनि महिलाहरु घरपरिवारबाट असुरक्षित रहेका देखाँउछ । ”

संविधानमा महिलाहरुको थुप्रै अधिकार समेटिएको भएपनि महिला हिंसाका घटनाहरु बढ्दै गएको प्रमुख थापाले बताउनुभयो । सबै जातजाती र समुदाय भित्र हिंसाका घटनाहरु घटिरहेको छ, थापाले भन्नुभयो ‘बढि मात्रामा विपन्न परिवारका महिलाहरु हिंसामा पर्ने गरेका छन् ।’

महिला हिंसाका घटनाहरु बढ्नुमा मदिरा प्रमुख कारक तत्व भएको बताउदै थापाले यस्ता घटनाहरु न्यूनिकरण गर्न र महिलाका अधिकार संरक्षण गर्न स्थानीय सरकारले पहल थाल्नुपर्ने थापाले बताउनुभयो । उहाँले बाल विवाह अन्त्य गर्नका लागि विवाह गराइदिने ब्राह्मणहरुलाई केटा र केटिको जन्मदर्ता वा नागरिकता हेरेर मात्र विवाह गराउन सचेत गराउनुपर्ने धारणा राख्नुभयो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले महिला हिंसा अन्त्य गर्न ग्रामिण क्षेत्रका महिलालाई जागरुक बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले कानुन बनेपनि दिनप्रतिदिन महिला हिंसाका घटनाहरु बढ्दै गएको भन्दै त्यसका लागि स्थानीय तहहरुले पहल थाल्न आग्रह गर्नुभयो ।

दैलेख प्रहरी प्रमुख ठाकुर प्रसाद पोखरेलले महिला हिंसाका घटनाहरु न्यूनिकरण गर्न प्रहरी सजक रहेको बताउनुभयो । उहाँले हिंसाका घटनामा संलग्न जो कोहीलाई पनि कार्बाहीको दायरामा ल्याउने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले जिल्लामा महिला हिंसा अन्त्य गर्न तथा अधिकार संरक्षण गर्न सामाजिक अभियान्ताहरु एक जुट भएर लाग्नुपर्ने धारणा राख्नुभयो । उहाँले हिंसा अन्त्य गर्न स्थानीय तहहरुले बजेट विनियोजन गरेर महिला जनप्रतिनीधि मार्फत जनचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्ने धारणा राख्नुभयो ।

अधिवक्ता गोपाल विराजी नेपालीले बाल विवाह र महिला हिंसाका घटनामा समुदाय स्तर देखि जिल्ला स्तरसम्म मिलाउनु पर्छ भन्ने परिपाटीलाई अन्त्य गर्नुपर्ने बताउनुभयो । स्थानीय तहमा उपप्रमुख÷उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिलाई सक्रिय बनाउनुपर्ने धारणा राख्नुभयो ।

महावु गाउँपालिका ६ का वडासदस्य दल बहादुर विकले दलित महिला र बालबालिकाहरुको अधिकारका कुराहरु गाउँ गाउँमा लैजानुपर्ने बताउनुभयो । महिला शसक्तिकरण मञ्च दैलेखकी उपाध्यक्ष सविना विकले महिला अधिकारका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायहरुले कानुनी कुराहरु ग्रामिण क्षेत्रका महिलालाई जानकारी गराउन पहल थाल्नुपर्ने बताउनुभयो ।

संकल्प काठमाण्डौको सहयोग, इन्सेक दैलेखको समन्व्य तथा दलित महिला संघ दैलेखद्धारा आयोजित जिल्ला स्तरमा महिलाका सरोकारवाला सवाल र महिला अधिकार विषयक सार्वजनिक परामर्श कार्यक्रममा सहभागि सरोकारवालाहरुले महिला हिंसा अन्त्य र अधिकार संरक्षण गर्न सबै एकजुट भएर अभियान चलाउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्