सरकार,संचार र धार्मिक पर्यटकको आँखा पुग्न नसकेको सुवर्णेश्वर मन्दिर



पुष्कर बुढाथोकी, भक्तपुर । प्रचारप्रसारको अभावमा भक्तपुरको कटुञ्जेस्थित डाँडामा रहेको पुरातात्विक तथा धार्मिक महत्वको सुवर्णेश्वर मन्दिर ओझेलमा पर्दै गएको छ । बिक्रम संवत ८९७ मा स्थापना भएको यो मन्दिरमा बिसं १८४६ मा तत्कालीन श्री ५ रणबहादुर शाहको पालाबाट नियमित पुजाआजा सुरु भएको थियो । भक्तपुरको रमणीय धार्मिक क्षेत्र मध्येको एक सुवर्णेश्वर मन्दिर वरपर बिभिन्न प्राकृतिक फल सजिलै पाइनुका साथै बिहान सूर्योदय र साँझमा सूर्यास्त नजिकबाटै नियाल्न सकिन्छ ।

पछिल्लो समयमा भक्तपुरलाई चिनाउने विभिन्न थप आधारहरु तयार भएको देखिन थालेका छन् । यदि उचित संरक्षण ,बिकास र प्रचार प्रसार भए ती आधारहरु मध्ये एक सुवर्णेश्वर मन्दिर पनि हुन सक्ने स्थानीय बताउँछन् ।यो मन्दिर संचार ,सरकार र पर्यटकको आँखा पुग्न नसकेकोले ओझेलमा परेको स्थानीयको भनाई छ ।

यसको उचित संरक्षण र बिकास गर्न सके यसले धार्मिक पर्यटकलाई आकर्षित गर्न सक्ने बताउँछन् स्थानीय बृद्ध र नागरिक समाजका अगुवा व्यक्तिहरु ।मन्दिरको संरक्षणमा मोक्षद्धारी सन्यास आश्रम परिवार लागेपनि त्यसको मात्र प्रयास पर्याप्त हुन सकेको छैन ।

सन्यास आश्रमका अध्यक्ष मुकुन्दप्रसाद लुईंटेलले सरकारले सहयोग गर्ने हो भने हरेक कार्यमा आफूहरुको साथ र सहयोग सधै रहने बताउनुभयो ।उहाँले समाज सेवा गर्नका लागि नै आफूहरुले यस क्षेत्रको पर्यटकीय बिकासका लागि पहल गरिरहेको बताउनुभयो ।उहाँले सरकारले अबको विकास यस्ता धार्मिक महत्व भएका तर आर्थिक अभावका कारण संरक्षण हुन नसकेका सम्पदामा केन्द्रीत गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

भक्तपुरको सूर्यविनाक पाण्डोबजारचोकबाट करिब २ किलोमिटर दूरिमा रहेको सो मन्दिरलाई भक्तपुरकै प्रमुख पर्यटकीय क्षेत्र निर्माण गर्न आश्रम परिवार निरन्तर लागि परे त्यो पहल पर्याप्त हुन सकेको छैन । मन्दिरलाई संरक्षण गर्न समितिको पहलमा अहिले यहाँ सन्यासीहरुको बासस्थान भएकाले सन्यास आश्रमको नाममा संस्था दर्ता गरी कार्य भैरहेको छ ।मन्दिरको जीर्णोद्धार बिसं २०५४ मा गरिएको र हाल मन्दिर आसपास नगरपालिकाको रु १० लाख आर्थिक सहयोगमा सत्तल निर्माणका क्रममा ढलान कार्य सम्पन्न भएको भुपु प्रशासक समेत रहेका स्थानीय बिधाप्रसाद आचार्यले बताउनुभयो ।

१ सय ५८ रोपनी क्षेत्रफलमा रहेको मन्दिरमा आधिकारीक रुपमा पुजारीको नियुक्ति नभए पनि समिति आफैंले पुजारीको छुट्टै ब्यबस्था गरेको छ ।

मन्दिरमा बेलाबेलामा धार्मिक प्रवचन हुने गरेको छ । उहिले उहिले मन्दिरमा पहिला जो पुग्यो उसले सुन प्राप्त गर्ने भएकाले पनि यसको नाम सुवर्णेश्वर रहन गएको बिश्वास गरिन्छ ।मन्दिरलाई संरक्षण गर्ने पवित्र कार्यलाई अगाडि बढाउन सरकार,संस्कृति मन्त्रालय र सरोकारवाला सबैको साथ र सहयोगको आवश्यकता रहेको स्थानीय सन्तोष ढुंगेलले बताउनुभयो । उहाँले सन्यास आश्रमको शनिबार सम्पन्न १५ औं साधारणसभाले पनि यसतर्फ बिशेष कदम चाल्ने निर्णय गरेको जानकारी दिनुभयो ।

संक्षण,बिकास र प्रचार गर्न सके यो मन्दिर भक्तपुरकै महत्वपुर्ण पर्यटकीय धार्मिक क्षेत्र बन्न सक्ने स्थानीय ज्येष्ठ नागरिकहरुको भनाइ छ । स्थानीय ५५ बर्षिय शम्भु गौतमले भन्नुभयो, “यस क्षेत्रमा हिरै हिरा फलेको छ तर यसलाई बिकेक पुर्याएर टिप्न मात्र जान्नुपर्छ ।” उहाँले यस क्षेत्रबाट काठमाडौं,ललितपुर,भक्तपुर,काभ्रे जिल्ला त्यस्तै मनास्लुदेखि कञ्चनजंघासम्मका हिमाल सजिलै देख्न सकिने भन्दै यो आफैंमा भ्यु टावर जस्तो पर्यटकीय क्षेत्र भएको बताउनुभयो ।

यहाँ साउनको हरेक सोमबार र महाशिवरात्रीका दिन दर्शनार्थीको बिशेष आगमन हुने गर्दछ भने हरेक दिन मर्निङ्ग वाक गर्दै आउने पनि बढेका छन् ।यहाँ आउने जो कोहीले पनि एक पटक पुगेपछि सो क्षेत्र एक पटक पुग्नै पर्ने ठाउँ भन्दै मुक्त कण्ठले प्रशंसा गर्ने गरेका छन्, त्यसैले पनि अहिलेका नव पुस्ताले दरवारलाई संरक्षण गर्नु पर्ने उहाँले बताउनुभयो । नमूनाको रुपमा रहेको यस पवित्र क्षेत्रलाई बिगतमा सरकारले उपेक्षा गर्दा ओझेलमा परेको भन्दै पछिल्लो समयमा भने सरकारले स्थानीयहरुको गुनासोलाई केही हदसम्म भए पनि सुनुवाई गरेको तर अझ सरकारले धेरै काम गर्न बाँकी रहेको स्थानीयको भनाई छ ।

सरोकारला भन्छन्,यस्तो धार्मिक ,पुरातात्विक,मनोरम पवित्र पर्यटकीय क्षेत्रमा सरकाको ध्यान जान नसक्दा सरकारलाई पनि कडोरौंको राजस्व आम्दानीमा घाटा भएको छ । यस क्षेत्रलाई सरकाले पर्यटकीय क्षेत्र घोषणा गरी संरक्षण र संम्बद्र्धनमा पहल गर्ने हो भने स्थानीयबासी र सरकार दुबै पक्षको लागि लाभदायक हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्