स्वास्थ्य संस्थालाई विवादित नबनाऊ



कहिले चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु त कहिले डाक्टरको दुव्र्यवहार, अनि कहिले नक्कली डाक्टरको विषयलाई लिएर स्वास्थ्य संस्थाहरू विवादमा तानिने गरेका छन् । चिकित्सकबाट दुव्र्यवहार भएको अनि चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भनी स्वास्थ्य संस्थामा तोडफोड र चिकित्सकमाथि आक्रमणका घटना अधिक हुने गरेका छन् । यस्ता क्रियाकलापले बिरामीको उपचारमा झनै असहजता उत्पन्न हुने गरेको पछिल्लो घटनाले पनि पुष्टि गरेको छ । डोटी जिल्ला अस्पतालमा कार्यरत डा. जितेन्द्रकुमार सिंहमाथि केही दिनअघि भएको आक्रमणका कारण सो अस्पताल ठप्प रहेको छ । उपचार गराउन आएकी स्थानीय महिलासँग भएको सामान्य विवादलाई लिएर डा. सिंहलाई स्थानीय युवाले कुटपिट गरेका थिए । डा. सिंहको दाँत भाँचिनुका साथै टाउकोमा गम्भीर चोट लागेको छ  । कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीले सार्वजनिक मुद्दा दायर गरेका छन् । जिल्ला अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेन्टसहितका चिकित्सकले भयरहित वातावरण नबनेसम्म जिल्ला बस्न नसकिने भन्दै मंगलबार जिल्ला छाडेको समाचार छ । आकस्मिक सेवाबाहेक अस्पतालका सबै सेवा ठप्प भएकाले अहिले सो अस्पतालमा उपचाररत बिरामीहरू मर्कामा परेका छन् ।

यता काठमाडौंको अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा भर्ना भएकी २१ महिने शिशुको मृत्यु भएपछि अस्पतालमा केही दिनअघि तनाव सृजना भएको समाचार छ  । गत आइतबार राति अस्पताल भर्ना गरिएकी सानरा श्रेष्ठको सोही रात मृत्यु भएपछि मृतकका आफन्तले आक्रोश पोखेका थिए । सामान्य श्वासप्रश्वासको समस्यामा पनि जबरजस्ती आईसीयुमा लगेर मुखबाट पाइप घुसार्दा अत्यधिक रगत बगेकाले बालिकाको मृत्यु भएको आफन्तको भनाइ छ । मृतकको अन्त्येष्टि गरिएको भए पनि अस्पताल र पीडित पक्षबीच समझदारी हुन सकेको छैन । यी त भर्खरका ताजा घटना । यस्ता घटना बारम्बार दोहोरिइरहेका छन् । यसले गर्दा एकातिर डाक्टरप्रतिको विश्वासमा प्रश्नचिह्न खडा भएको छ भने अर्कोतिर बिरामीको उपचारमा अवरोध सृजना भएको छ । आखिर यस्ता घटनाको असर स्वास्थ्य संस्था, बिरामी र डाक्टर सबैलाई परेको हुन्छ ।

उपचारका क्रममा आकस्मिकरुपमा बिरामीको मृत्यु भएको अवस्थामा मृतकका आफन्तले स्वास्थ्य संस्थामा तनाव सिर्जना गर्ने क्रम रोकिएको छैन । अस्पतालले भित्रभित्रै क्षतिपूर्ति दिएर घटनालाई सामसुम पार्ने प्रवृत्ति पनि बढ्दै गएको छ । उपचारका क्रममा कुनै बिरामीको मृत्यु भएमा चिकित्सकको लापरबाही भनेर क्षतिपूर्ति लिने प्रवृत्ति मात्र बढेको छैन, लापरबाही नै भएको रहेछ भने पनि दोषीमाथि कारबाही नहुने अवस्था सृजना भएको छ । गुरु–विद्यार्थीको जस्तै डाक्टर–बिरामीबीच सुमधुर सम्बन्ध नभएसम्म यो समस्या यथावत् रहनेछ । त्यसैले एक–अर्कामा विश्वासको वातावरण सृजना गर्ने उपायहरू अवलबम्बन गर्नुपर्छ । साथै सरकारी निकायबाट यस्ता घटनाको तुरुन्तै छानबिन गरी दोषीलाई कारबाही र निर्दोषीलाई उन्मुक्ति दिन ढिलाइ गर्नुहुँदैन । कुनै पनि बहानामा स्वास्थ्य संस्थालाई विवादित बनाइनुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्