निगमको जहाज किन्न दुई कम्पनी इच्छुक



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल वायुसेवा निगमको बी ७५७–२००, ९ एनएसीए एयरक्राफ्ट खरिदको लागि दुई कम्पनीले इच्छा देखाएका छन्। एपीएस एयरपोर्टस् सर्भिस एन्ड सप्लार्स इजरायल, अमेरिकाको एभिएसन सिस्टम इंकले खरिदको लागि इच्छा देखाएको निगमले जनाएको छ।

अमेरिकाको एभिएसन सिस्टम इंक कम्पनीले १४ लाख अमेरिकन डलरमाको प्रस्ताव राखेर खरिद पत्र पठाएको छ। एपीएस एयरपोर्टस् सर्भिस एन्ड सप्लार्स इजरायल कम्पनीले भने कतिमा खरिद गर्न भनेर मूल्य अंकित नगरी प्रस्ताव आएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले बताउनुभयो।

चाँडै नै निगमले खरिद गर्न इच्छुक कम्पनीलाई समझदारीका लागि आह्वान गरेर सञ्चालक समितिले यसको टुंगो लगाउने उहाँले बताउनुभयो।‘खरिद गर्न प्रस्तावसहित दुई कम्पनीले इच्छा देखाएको छ, हामी चाँडै इच्छुक कम्पनीसँग समझदारी गरी एक कम्पनीलाई एयरक्राफ्ट बिक्री गर्ने छौ।’ निगमका सञ्चालक समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन सचिव शंकरप्रसाद अधिकारिले नेपाल समाचारपत्रलाई बताउनुभयो।

नेपाल वायुसेवा निगमले विगतमा दुई पटकसम्म न्यूनतम १७ करोड रुपिँया मूल्यांकन गरेर बिक्री नभएको बी ७५७–२००, ९ एनएसीए एयरक्राफ्ट आपसी समझदारीमा बिक्री गर्न प्रक्रिया थालेको थियो।

निगमले पटक–पटक सूचना प्रकाशित गर्दा समेत खरिदको लागि कुनै पनि आवेदन परेको थिएन। पछिल्लोपटक भने उक्त जहाज किन्न कम्पनी र व्यक्तिगत गरी सात वटा प्रस्ताव आएको थियो। एयरक्राफ्ट खरिद गर्न नेपालकै वायुसेवा कम्पनीदेखि विदेशीले आवेदन दिएको वायुसेवा निगमका सहप्रवक्ता शैलेन्द्र कंसाकारका अनुसार पछिल्लो प्रस्तावमा १२ करोडदेखि १६ करोड रुपियाँसम्मको मूल्य राखेर ७ वटा कम्पनीले प्रस्ताव राखेका थिए। तर दुई कम्पनीले मात्र खरिदको लागि इच्छा देखाएका छन् भने दुई कम्पनी सम्र्पकमा नै नआएको र बाँकी ३ कम्पनीले खरिदको लागि आवेदन दिए पनि पछिल्लो समयमा खरिदको नगर्ने प्रस्ताव पठाएको कंसाकारले बताउनुभयो।

उक्त एयरक्रफ्ट खरिदको लागि आवेदन दिनेमा जनार्दनमान डंगोल, बीबी एयरवेज, टीबीआई गु्रप, अनु मानन्धर, एपीएस एयरपोर्टस् सर्भिस एन्ड सप्लार्स इजरायल, अमेरिकाको एभिएसन सिस्टम इंक, नेपालकै हिमालय एभिएसन कन्सट्ल्यान्टले प्रस्ताव राखेका थिए। जहाज मर्मत खर्च धेरै लाग्ने भएपछि बनाएर बेच्नेभन्दा सोही अवस्थामा नै बिक्री गर्ने र रकम थप गरी नयाँखरिद गर्ने योजना निगमको रहेको छ। अहिलेको समयमा जहाज खरिद गर्दा कम्तिमा ५ अर्ब रुपिँया लाग्ने अनुमान छ।

निगमले २०४३ सालमा १ अर्ब ३० करोड रुपियाँमा उक्त जहाज खरिद गरेको थियो। गत वर्ष स्वीटजरल्यान्डको फिनटेक एभिएसन सर्भिसले उक्त एयरक्राफ्टको मूल्य १६ करोड ६२ लाख तय गरिदिएको थियो । परामर्शदाताले तोकेको मूल्यमा १० प्रतिशतसम्म घटबढ गरी लिलाम गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्