वैदेशिक रोजगारीमा जाने ९ प्रतिशतले घटे



 

रोविन पौडेल, काठमाडौं

रोजगारका सिलसिलामा विदेशिनेको गत वर्षको भन्दा घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिई विदेश जाने नेपालीको संख्या प्रतिदिन १ हजार ३७ जनामा सीमित भएको छ। अघिल्लो वर्षसम्म विदेशिने नेपालीको संख्या प्रतिदिन १ हजार १ सय ४७ रहेको थियो।
आर्थिक वर्ष २०७३⁄७४ मा वेदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको कुल संख्या ३ लाख ७८ हजार ३ सय ४२ रहेको वैदेशिक रोजगार विभागले जनाएको छ। यो संख्या विगतको भन्दा ९ दशमलव ६४ प्रतिशतले कम हो। विभागको प्रतिवेदनअनुसार असार मसान्तसम्म संस्थागततर्फ श्रम स्वीकृति लिनेको संख्या ३ लाख ६९ हजार ७ सय ७३ रहेको छ। त्यस्तै व्यक्तिगततर्फ ८ हजार ५ सय ६९ जनाले श्रम स्वीकृति लिएका छन्। गत आर्थिक वर्ष २०७३⁄७४ मा रोजगारीको क्रममा विदेशिनेको संख्यामा अघिल्लो आवको तुलनामा ४० हजारले कमी आएको हो।

गत आवको तथ्यांकले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा प्रतिवर्ष कमी हुँदै आएको देखाएको छ। आव २०७१⁄७२ मा कुल ५ लाख १२ हजार ८ सय ८७ जनाले नयाँ श्रम स्वीकृति लिएकोमा आव २०७२⁄७३ मा सो घटेर ४ लाख १८ हजारमा सीमित भएको थियो। त्यस्तै आव २०७३⁄७४ मा पनि सो संख्या घट्नुले रोजगारीको सिलसिलामा नयाँ श्रम स्वीकृति लिई विदेशिने नेपालीको संख्यामा गिरावट आएको पुष्टि हुन्छ। आव २०७३⁄७४ मा संस्थागततर्फ श्रम स्वीकृति लिने नेपालीको संख्या ५ दशमलव ९९ प्रतिशतले घटेको छ। अघिल्लो आवमा कुल ३ लाख ९३ हजार ३ सय ५२ जनाले संस्थागततर्फ श्रम स्वीकृति लिएकोमा गत आवमा सोको संख्या ३ लाख ६९ हजार ७ सय ७३ रहेको देखिन्छ।

त्यस्तै गत आवमा व्यक्तिगत रुपमा वैधानिकरण प्रक्रिया पुर्याई नयाँ श्रम स्वीकृत लिनेको संख्यामा ६६ प्रतिशतले गिरावट आयो। अघिल्लो आवमा कुल २५ हजार ३ सय ६१ जनाले वैधानिकरण गरी श्रम स्वीकृति लिएकोमा गत आवमा यो संख्या घटेर ८ हजार ५ सय ६९ पुगेको हो।
नयाँ श्रम स्वीकृति लिनेको संख्यामा गिरावट आए पनि बिदामा नेपाल आई पुनः श्रम स्वीकृति लिनेको संख्यामा भने वृद्धि भएको छ। अघिल्लो आवमा कुल २ लाख ३८ हजार ९८ जनाले पुनः श्रम स्वीकृति लिएकोमा गत आवमा सो संख्या बढेर २ लाख ६० हजार २ सय ५२ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ९ दशमलव ३ प्रतिशत बढी हो।

तर सबैलाई जोड्दा गत आवमा श्रम स्वीकृति लिनेको संख्यामा खासै फरक भने नदेखिने विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो–‘संस्थागत रुपमा श्रम स्वीकृति लिनेको संख्या घटे पनि व्यक्तिगत रुपमा पुनः स्वीकृति लिनेको संख्या भने बढेको छ। यस हिसाबमा विदेशिने संख्या घटेको भन्न मिल्दैन।’ उहाँका अनुसार रोजगार व्यवसायीमा कामदार भर पर्न छाडेको कारण संस्थागत रुपमा सो संख्या घटेको हो। उहाँले विदेशमा काम गरी फर्कने नेपाली त्यहाँको सुविधा तथा राम्रो आयका कारण आकर्षित हुने गरेको समेत जानकारी दिनुभयो।

गत आवमा चैत महिनामा सबैभन्दा धेरै कामदारले श्रम स्वीकृति लिएका थिए। चैतमा सर्वाधिक ३८ हजार ७ सय ५० जनाले श्रम स्वीकृति लिएकोमा २०७३ असोजमा सबैभन्दा कम २३ हजार ३२ जनाले श्रम स्वीकृति लिए। विभाग अनुसार गत वर्ष सबैभन्दा बढी नेपाली कतार गएका छन्। यो अवधिमा कतारमा १ लाख २४ हजार नेपाली कतार गएका छन्। अघिल्लो वर्ष कतार नेपाली कामदारका लागि जाने दोस्रो आकर्षणको केन्द्र थियो।

कतारपछि धेरै नेपाली कामका लागि जाने मुलुकमा मलेसिया दोस्रो स्थानमा रहेको छ। तेस्रो स्थानबाट उक्लिएर मलेसिया गत आवमा दोस्रो बनेको हो। गत वर्ष ९७ हजार ९ सय नेपाली कामदार मलेसिया गएका छन्। आव २०७१⁄७२ सम्म पहिलो रोजगार गन्तव्यका रुपमा रहेको मलेसिया आव २०७२⁄७३ मा जम्मा ६० हजार मात्र नेपाली रोजगारीको लागि गएका थिए।

खाडी मुलुकमा तेलको मूल्य घटेर आर्थिक वृद्धि हासिल नहुँदा नयाँ रोजगारी सिर्जना भएको छैन। त्यसमाथी कतारसँग अन्य छिमेकी देशले कूटनीतिक सम्बन्ध विच्छेद गर्दा त्यसको विकल्प मलेसिया बनेको जानकारको बुझाई छ।

मलेसियापछि साउदी अरेबिया नेपाली कामदारका लागि रोजगार गन्तव्यमा तेस्रो नम्बरमा परेको छ। गत आवमा ७६ हजार ९ सय जना कामदार रोजगारीको क्रममा साउदी अरेबिया गएका छन्। अघिल्लो आवमा पहिलो रोजगार गन्तव्यमा परेको साउदीमा १ लाख ३९ हजार नेपाली रोजगारीको लागि गएका थिए।
त्यस्तै संयुक्त अरव ईमिरेट्स (युएई) चौथो स्थानमा रह्यो। गत आवमा ५५ हजार नेपाली कामदार वैदेशिक रोजगारीको क्रममा युएई गएको वैदेशिक रोजगार विभागले तथ्यांकमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षमा यो संख्या ५३ हजार रहेको थियो।

आर्थिक वर्षको अन्त्यमा खाडी मुलुकले कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेपछि कतार जाने नेपालीको संख्यामा गिरावट आएको छ। गत आवको अन्तिम तीन महिनामा कतार जाने कामदारको संख्या मासिक औसत ८ हजार रहेको तथ्यांकले देखाएको छ।

त्यसपूर्व सो संख्या औसत १२ हजार रहेको देखिन्छ। कतार जान श्रम स्वीकृति लिने नेपालीको संख्या चैतमा १३ हजार ७ सय रहेकोमा वैशाख, जेठ र असारमा सो संख्या क्रमशः १० हजार १ सय, ९ हजार ५ सय र ५ हजार ८ सय रहेको छ। चैतको तुलनामा असारमा कतार जानेको संख्यामा ६० प्रतिशतभन्दा बढीले गिरावट आएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्