केरूङ नाकाबाट आयात ठप्प चारसय कन्टेनर नाकामै रोकिए



 

नेपाल समाचारपत्र
रसुवा
नेपालतर्फ निकासी हुने मालवस्तुको क्लिरियन्स शुल्कमा चीनको केरूङका स्थानीय भन्सारका प्रतिनिधिले दोब्बरभन्दा बढी वृद्धि गरेपछि आयात ठप्प भएको छ।

नेपाली व्यापारीले प्रतिगाडी एक हजारदेखि १५ सय आरएमबीसम्म तिर्दै आएकोमा भन्सार प्रतिनिधिले एकैचोटी पाँच हजार आरएमबी पुर्याएपछि चीनको केरूङ पुगेका नेपाली व्यापारीले सामग्री लोड नगरी बसेका छन्।

क्लिरियन्स शुल्कमा वृद्धि हुँदा यसअघि करिब २२ हजार रुपियाँ पर्नेमा अहिले प्रतिगाडी ८० हजार रुपियाँ तिर्नुपर्ने अवस्था आएपछि नेपाली व्यापारीको भनाइ छ। रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत केदार पनेरुका अनुसार समस्या समाधानका लागि चीनको केरूङस्थित जेलुंगका डेपुटी प्रमुख र भन्सार प्रतिनिधिसँग शुक्रबार छलफल गरिएको थियो।

बैठक सकरात्मक भएको र सोमबारदेखि शुल्क घटाउने सहमति भएको प्रमुख भन्सार अधिकृत पनेरुले जानकारी दिनुभयो। बैठकमा चीनको तर्फबाट जिलोङ पोर्ट एडमिनिस्ट्रेसका प्रमुख लिउ जियान, जिलोङ भन्सारका प्रमुख याङ फेई, भन्सार एजेन्टका प्रतिनिधि लि चौरेन र दावा सहभागी थिए।

यसअघि क्लिरियन्स शुल्क तिब्तीयन सरकारले फिर्ता गरिदिने गरेकोमा यसपटकदेखि फिर्ता नगर्ने निर्णय गरेपछि त्यसको मार नेपाली व्यापारीमाथि परेको हो। गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व असुली गरेको कार्यालयले आयात ठप्प भएपछि आर्थिक वर्षको पहिलो महिनामा नै समस्या देखिएको बताउनुभयो। आव २०७३⁄७४ मा २ अर्ब ४३ करोड राजस्व संकलन लक्ष्य राखेको कार्यालयले २ अर्ब ९२ करोड राजस्व असुल गरेको थियो।

यो आर्थिक वर्षको साउनको १३ गतेसम्म १ करोड ६४ लाख राजस्व संकलन गरेको छ। आयात ठप्प भएपछि करिब चार सय मालवाहक कन्टेनरको सामग्री गोदाममा थन्किएको छ। अन्य सामग्रीको आयात ठप्प भए पनि स्याउ र जलविद्युत् आयोजनाको सामग्री भने आयात भइरहेको छ।

यसैबीच नेपालबाट चीनमा लैजान सकिने सामग्रीको सूची उपलब्ध गराउन चिनियाँ टोलीले आग्रह गरेको छ। रसुवाको सदरमुकाम धुन्चेमा शनिबार बसेको सीमा सुरक्षा बैठकमा नेपालमा उत्पादन हुने कृषि तथा पशुजन्य वस्तु निर्यात गर्न तयार रहेकाले पहिलो चरणमा सामग्रीको सूची उपल्ध गराउन चिनियाँ टोलीले आग्रह गरेको हो। नेपालबाट जारी गरिने फाइटो स्यानिटरी प्रमाणपत्रका आधारमा साग सव्जी, मासुजन्य पदार्थ, बोडी, सिमी, आलुलगायतका सामग्री चीनतर्फ सहज रुपमा सामग्री निकासी गर्ने वातावरण सिर्जना गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिनुभयो।

नेपालको तर्फबाट सामग्रीको सूची उपलब्ध गराएपछि गुणस्तर परीक्षणका लागि चिनियाँ टोली आउने सहमति भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो।

रसुवागढी नाकामा रहेको क्वारेन्टाइनलाई थप व्यवस्थित गरी दुई देशको व्यापार सहज बनाउका लागि समन्वय संयन्त्र तयार गरिने बताइएको छ।

सीमा नाकामा हुन सक्ने मानव बेचविखन, लागुपदार्थ ओसार पसार, वन्यजन्तुको अंगहरुको निकासी, बहुमूल्य जडिबुटी तथा अवैध सुन नियन्त्रणका लागि नाकामा गस्ती निगरानी बढाउने तथा चेकजाँचमा कडाई गर्ने विषयमा समेत छलफल भएको छ।

प्रतिक्रिया दिनुहोस्