चुनावपछि नेप्से निरन्तर ओरालो



रोविन पौडेल, काठमाडौं

पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि निरन्तर ओरालो लागेको नेप्से परिसूचकमा सोमबार पनि जारी रह्यो। पहिलो चरणको निर्वाचनको अन्तिम परिणाम आउँदै तथा सरकार परिवर्तनको तयारी हुँदै गर्दा लगानीकर्ता भने लगानीका लागि तयार देखिएका छैनन्।

नेप्से परिसूचक निरन्तर घट्ने क्रममा सोमबार १० दशमलब ८४ अंकले गिरावट हुँदै १ हजार ६ सय १६ दशमलम ४० विन्दुमा पुगेर रोकिएको छ। अघिल्लो दिन पनि नेप्सेमा १६ दशमलव ६३ अंकले ओरालो लागेको थियो।

सोमबार १ सय ४५ कम्पनीका ९ लाख ८५ हजार ५ सय ५० कित्ता शेयर ५२ करोड ८६ लाख ८० हजार रुपियाँमा किनबेच भए। यो कारोबार रकम साताको पहिलो दिन तथा अघिल्लो साताको सोमबारको कारोबारभन्दा क्रमशः २१ दशमलव ३ र २१ दशमलव ७ प्रतिशतले कमी हो।

नेप्से चुनावपछिको पहिलो दिन नेप्से १ हजार ६ सय ५८ दशमलब ५८ को विन्दुबाट शुरू भएको थियो। साताको पहिलो दिन नेप्से शून्य दशमलब ६५ को झिनो अंकले बढे पनि त्यसयता निरन्तर घटेको छ। त्यसपछिका दिनमा नेप्से क्रमशः ९ दशमलब ९९, ४ दशमलब ९८ र शून्य दशमलब ३९ अंकले घटेको थियो।

आगामी जेठ ३१ मा हुन लागेको स्थानीय निकायको दोस्रो चरणको निर्वाचनले लगानीकर्तामा अन्योलको वातावरण सिर्जना गराएकाले बजार परिसूचक ओरालो लागेको विश्लेषकहरूको भनाइ छ। सरकार परिवर्तनको कुरा पक्काजस्तै भएको अवस्थामा संथागत खरिदकर्ताहरू पर्ख र हेरको अवस्थामा भई कारोबार नगरेकाले पनि यस्तो भएको हुनसक्ने उनीहरूको तर्क छ।

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक एवम् प्रवक्ता निरज गिरीले बजार तलमाथि हुनु स्वाभाविक भएको बताउँदै चुनावसँग यसको प्रत्यक्ष सरोकार हुन नसक्ने बताउनुभयो। ‘सरकार परिवर्तनको कुरा छ, संस्थागत लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन्। यसैको असर हुन सक्छ।’ उहाँले भन्नुभयो। आगामी दिनमा के कस्तो हुनेछ भन्न नसकिने भन्दै उहाँले लगानीकर्ता हौसिए बजार उकासिने बताउनुभयो।

अर्कोतर्फ नेपाली कांग्रेसको सरकार आए शेयर बजार सकारात्मक हुनसक्ने शेयर ब्रोकरहरूको भनाइ छ। आउनै लागेको नयाँ बजेटले पनि बजारमा सकारात्मक प्रभाव ल्याउने उनीहरूको आशा छ। तराईमा हुने भनिएको चुनाव सम्भव भए तथा नयाँ बजेटका कारण शेयर उकालो लाग्ने शेयर ब्रोकर सुचिता खनालको भनाइ छ। नेपाल समाचारपत्रसँग कुरा गर्दै खनालले भन्नुभयो–‘अन्योलको वातावरणले शेयर ओरालो लागेको हो। बैंकले शेयरका लागि लगानी गर्न प्रवाह गर्ने ऋणमा बढी ब्याजदर लगाउँछन्, न त राम्रो प्रिमियम छ। लिक्विडिटी क्रन्चको समस्या हल भए लगानी बढ्ने अपेक्षा छ।’

प्रतिक्रिया दिनुहोस्