दूध बेचेर मासिक दुई लाख



नेपाल समाचारपत्र
हेटौंडा
मकवानपुरगढी गाउँपालिका–३, देवीडाँडामा प्रेमप्रसाद दाहालले गाईपालनबाट मासिक दुई लाख रुपियाँ आम्दानी गर्दै आएका छन्। आठ वर्षअघिबाट व्यावसायिकरूपमा गाईपालन व्यवसाय गरिरहेका दाहालको गाई फर्म मकवानपुरको नमूना फर्मका रूपमा परिचित छ।

दाहालको गोठमा जर्सी र होलिस्टन गरी २० वटा गाई छन्। यी गाईंबाट दैनिक दुई सय लिटर दूध दाहालले बिक्री गर्दै आएका छन्। उहाँलाई दूध बिक्री गर्न बजारसम्म आइरहनुपर्ने झन्झट छैन। घरबाटै दैनिक संकलित दूध बिक्री भइरहेको दाहाल बताउँछन्।‘उत्पादनमात्र गर्न सक्नुपर्छ, किन्ने मान्छे घरमै आउँछन्।’ दूध बिक्रीबाट आएको कमाई दाहाल परिवारले घरखर्च, शिक्षादीक्षामा लगाउने गरेको छ।

‘आम्दानी भइरहेको छ र सजिलैसँग छोराछोरीको शिक्षादीक्षा अनि घर चलेको छ,’ दाहाल भन्नुहुन्छ–‘सोचेजस्ता अझ गर्न सकिएको छैन। नत्र, आम्दानी अहिलेको दोब्बर हुन्थ्यो।’ गाईपालन व्यवसायका लागि दाहालले १६ लाख रुपियाँ लगानी गर्नुभएको छ।

गाईको रेखदेख, गोठ सरसफाइ तथा दूध संकलनका लागि दाहालको गोठमा दुई जना विहान–बेलुका खटिने गर्दछन् गाईपालनका लागि दाहालले आवश्यक व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिएका छन्। अढाई बिगाहा क्षेत्रमा स्वीस, नेपियर, मलाटोलगायत जातका घाँस लगाएका छन्। दूध बढाउन अथवा गार्इंका लागि उपयुक्त भएकाले घाँस व्यवस्थापन गरिएको उहाँको भनाइ छ।

गाईको पिसाब र गोबर संकलनका लागि दाहालले ७२ हजार लिटरको प्लास्टिक पोखरी निर्माण गरेका छन्। ‘व्यवसायलाई आवश्यक पर्ने सबै पूर्वाधारमा ध्यान पनि दिनुपर्ने भएकाले सकेसम्म व्यवस्थापन गरेको छु,’ दाहाल भन्छन्। गाईगोठमा शुरूमा बनाइएको ट्रसलाई उहाँले आधुनिकीकरण गरेका छन्।

दाहालको गाईफार्म परिचित भएकाले विभिन्न जिल्लाका कृषक तथा कृषिसँग सम्बन्धित संस्थाका व्यक्ति गाईफर्म अवलोकनका लागि आउने गर्दछन्। कृषि मन्त्रालय, जिल्ला कृषि कार्यालय, पशु सेवा कार्यालयलगायत कार्यालयका साथै प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारीलगायतले गाईपालनमा उनले पाएको सफलता गाईफर्ममै पुगेर सोधीखोजी गर्ने गरेका छन्।

दाहालको गाईपालन व्यवसायप्रतिको लगाव देखेर गाईफर्म अवलोकनकर्ताले आफू प्रेरित भएको बताउने गरेका छन्। गाईगोठलाई आधुनिकीकरण गरेर दूधका परिकार घरमै बनाएर बजारसम्म लैजाने व्यवस्थापन गरेर आम्दानी बढाउन उनीहरूले सुझाव दिने गरेका छन्।

आफ्नो व्यावसायिक कार्यप्रति प्राप्त सुझावलाई आफूले लिए पनि मेहनती जनशक्ति बिना कृषि क्षेत्रमा विकास सहज नभएको उनी बताउँछन्। भन्छन्–‘योजना त कति छन् कति। तर, ती योजना पूरा गर्न आर्थिक र सिपालु जनशक्ति पनि चाहिन्छ।’

शुरूमा ६० हजार लगानी गरी थालिएको दाहालको गाईपालन व्यवसाय अहिले जिल्लामा नमूना कृषि कार्यका रूपमा परिचित हुनु पक्कै पनि मेहनती किसानका लागि ठूलो सफलता हो।

प्रतिक्रिया दिनुहोस्