महोत्तरीमा चुनावी माहोल बढ्दै



लक्ष्मीकुमार साह, महोत्तरी
रकारद्वारा तोकिएको स्थानीय पुनर्संरचना तहको चुनाव नजिकिँदै जाँदा महोत्तरीमा चुनावी माहोल ह्वात्तै बढ्दै गएको छ। महोत्तरीको सदरमुकाम जलेश्वरमा अहिलेको कुराकानीको विषय भनेकै निर्वाचनमा केन्द्रित हुन थालेको छ।

सदरमुकामलगायत ग्रामीण क्षेत्रहरूमा पनि अहिले खास गरी जताततै चुनावी चर्चा मात्र शुरू हुन थालेको छ।

राजनीतिक दलका कार्यकर्तादेखि उम्मेदवारी दिने र मतदाताहरू जिल्लालगायत ग्रामिण क्षेत्रहरूमा चुनावी चर्चा व्यापक रूपमा देखिन थालेपछि महोत्तरी निर्वाचनमय देखिन थालेको छ। महोत्तरीका सदरमुकामस्थित चिया पसल, पान पसल, बजारहरूमा जहाँतहीं निर्वाचनको मात्र कुराहरू सुनिनुले महोत्तरी निर्वाचनमय हुन पनि स्वाभाविकै हो। राजनीतिक दलले चुनावी गतिविधिलाई तीव्रता दिन थालेका छन्। ठूला तथा साना दलले नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुखलगायतका उम्मेदवार छनोटको तयारी गरिरहेका हुन्।

स्थानीय तहको चुनावमा प्रमुख दलहरू माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले निर्वाचनमा जित हासिल गर्नका लागि आफ्ना कार्यकर्तालाई पूर्ण रूपमा लगाइरहेका छन् भने स्थानीय तहको निर्वाचन अगावै संविधान संशोधनको माग राख्दै निर्वाचनको विरोध जनाउँदै आएका मधेसी मोर्चा आबद्ध घटक दलका जिल्लास्तरीय नेतादेखि गाउँस्तरसम्मका नेता कार्यकर्ता बाहिर खुलेर नभए पनि भित्रभित्रै भने चुनावको तयारीमा खटिरहेका छन्।

मधेसी मोर्चाले संविधान संशोधन नभए निर्वाचनमा भाग नलिने र बिथोल्ने नीति लिएपछि महोत्तरीमा कुनै पनि राजनीतिक दल खुलेर चुनावी तयारीमा लाग्न सकेका छैनन्। तर चुनाव सबैलाई चाहिएकाले संविधान संशोधन गरेर मधेसी मोर्चालाई चुनावमा सहभागी गराएर भए पनि चुनाव तोकिएकै मितिमा सम्पन्न गर्नुपर्ने प्रतिक्रिया महोत्तरीका अधिकांश मतदाताको रहेको छ।

माओवादी केन्द्रका नेता अरविन्द साहले सरकारले संविधान संशोधनसहित मधेसीहरूको माग पूरा गरे आफू पनि मेयरमा लड्ने इच्छा जाहेर गरे। त्यस्तै नेपाली कांग्रेसका नगर सभापति अशोक साह र नेकपा एमालेका जलेश्वर नगर अध्यक्ष माधव मण्डलले जलेश्वर नगरको मेयरमा उम्मेदवारी दिन पार्टी पंक्तिमा लबिङ शुरू गर्नुका साथै चुनावी तयारीमा जुटिसकेको बताएका छन्।
प्रमुख दलहरू नेकपा कांग्रेस, नेकपा एमाले, एमाओवादी दलहरूले भित्रभित्रै आ–आफ्नो लबिङ शुरू गरिसकेको र प्रमुख दलहरूले हाम्रै पार्टी महोत्तरीमा जित्छ, हाम्रो पार्टी पुरानो पार्टी भएकाले सबै दलहरू आ–आफ्ना पार्टीलाई जिताउनका लागि कार्यकर्ता भेला, छलफलहरू गरेर कस्ता र कुन उम्मेदवारलाई टिकट दिए चुनावी प्रतिफल आफ्नो पक्षमा पार्न सकिन्छ भनी कसरतमा लागिसकेका छन्। सदरमुकामदेखि प्रमुख बजार क्षेत्रलाई ग्रामीण क्षेत्र जोड्ने सडक, पुल पुलेसाको स्थिति दयनीय हुनुले पनि स्थानीय तहको चुनाव जरुरी भएको अधिकांश मतदाताको रहेको छ।

जलेश्वर–२ का स्थानीय पवन साहले लामो समयदेखि स्थानीय तहको चुनाव नभएकाले विकासे योजनाहरू ठप्प भएका कारणले पनि अहिलेको माहोलमा चुनाव जरुरी हो भनी आफ्नो धारणा राखे।

‘निर्वाचन अपरिहार्य छ, तर यथास्थितिमा होइन, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन भएपश्चात मात्र हामी चुनावमा सहभागी हुन्छौं, अन्यथा त्यसबारे सोच्न पनि सकिँदैन –मोर्चाका नेता गजेन्द्र गुप्ताले बताए। हाम्रा माग सम्बोधन नगरी सरकारले जबरजस्ती चुनाव गराएमा हामी त्यो हुन्न दिँदैनौं र त्यसलाई बिथोल्ने हरेक प्रयास गर्दछौं भनी गुप्ताले थपे। जिल्ला निर्वाचन कार्यालयका अनुसार महोत्तरीमा २९ वटा राजनीतिक दलले दल दर्ता गराइसकेको जिल्ला निर्वाचनका कार्यालय प्रमुख पिंकी रायले बताइन्।

प्रतिक्रिया दिनुहोस्