अर्थतन्त्र बाह्य तत्त्वबाट प्रभावितः प्रम



नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक समृद्धिको व्यवस्थापन नेपालको सन्दर्भमा मिश्रित अनुभव रहेको बताउनु भएको छ। नेपाल व्यवस्थापन संघको ३६औं वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।

उहाँले तथ्यांकलाई हेर्ने हो भने निर्माण क्षेत्रले वस्तुको निर्यात विस्तारमा अपेक्षाकृत प्रभाव राख्न सकेको देखिँदैन। सेवा क्षेत्र शहरी इलाकामा विशेष रुपले विकास र विस्तार भइरहेको संकेत देखिन्छ। सेवा क्षेत्र नै आर्थिक विकासको क्रियाकलापको सन्तुलन बनाउन सफल रहेको पाइन्छ। अब, ग्रामीण क्षेत्रमा समृद्धि ल्याउन इकोनमी ल्यान्डस्केपमा रुपान्तरण गर्नु जरुरी रहेको बताउनुभयो।

प्रधानमन्त्रीले आर्थिक विकासमा सन्तुलन मिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सेवा क्षेत्रलाई ग्रामीण क्षेत्रमा विस्तार गर्नुपर्ने बताउनुभएको छ। उहाँले पश्चिमा मुलुकमा आर्थिक विकास व्यवस्थापनले महवपूर्ण योगदान पुर्याएको र विकासोन्मुख मुलुकमा व्यवस्थापनलाई फरक तरिकाले हेर्नुपर्ने भन्दै प्रविधिको उच्चतम प्रयोग, कृषि, वन र ऊर्जामा लगानी वृद्धि गरी आर्थिक क्रियाकलापमा मानवीय संशाधनको अधिकतम् परिचालन गर्न सकेको खण्डमा आर्थिक समृद्धि प्राप्त गर्न सकिन्छ। यस दिशामा संघका क्रियाकलाप निर्देशित हुनुपर्ने प्रधानमन्त्रीले धारणा राख्नुभयो।

‘सन् १९८० को दशकदेखि सार्वजनिक क्षेत्र प्रवेश गरेका व्यवस्थापनका नवीन अवधारणाको आत्मसातिकरण पश्चिमा मुलुकहरूको आर्थिक वृद्धि र विकासमा महत्त्वपूर्ण योगदान पुग्यो। हामी र हामी जस्तै विकासोन्मुख मुलुकहरूले पनि ती अवधारणालाई अबलम्वन गर्ने प्रयास गर्यौं। तापनि विकसित देशको प्रणालीबद्ध शासन व्यवस्थाका लागि सिफारिस गरिएका अवधारणाद्वारा प्रणाली स्थापना नभएका हाम्रो जस्ता विकासोन्मुख मुलुकले हुबहू लागू गर्न असम्भव हुने यथार्थप्रति ध्यान दिन सकेनौं। उदारीकरणको कार्यान्वयनको सन्दर्भमा विकासोन्मुख मुलुकहरूका बजारबाट सामाजिक क्षेत्रमा पर्याप्त सहयोग नहुने, लगानीका लागि पुँजी बजारको विकास भइसकेको नहुने, अर्थतन्त्र बाह्य कारक तत्त्वबाट अत्याधिक प्रभावित हुने (जस्तै तेल तथा डलरको मूल्यमा हुने उतारचढाव) जस्ता सीमितताप्रति समेत ध्यान केन्द्रित नगरी लागू गर्न खोज्दा विकसित देशको विपरित नतिजा हात लाग्यो।’ प्रधानमन्त्रीको भनाइ थियो।

सीमान्तकृत र संकटासन्न वर्गलाई गुणस्तरीय वस्तु तथा सेवा प्रदान गर्नका लागि सरकारले परम्परागत भूमिका पूर्ण रुपमा छोड्न नसक्ने विषय अगाडि आएको भन्दै प्रधानमन्त्री दाहालले सार्वजनिक प्रशासनको क्षेत्रमा देखिएका कार्यकुशलता सम्बन्धी समस्या समाधान गर्ने उद्धेश्यले नतिजाप्रति उत्तरदायी हुनुपर्ने, निजी क्षेत्रको व्यावसायिक कार्यकुशलता सरकारी क्षेत्रमा शुरुआत गरी पैसाको मूल्य प्राप्तिको दिशामा बढ्नुपर्ने कुरा अगाडि आएको तर पनि यसलाई मुलुकको सामाजिक गतिशीलतामा ध्यान दिई लागू र आन्तिरिकीकरण गर्न नसक्दा अपेक्षित गति हासिल गर्न नसकिएको यसप्रति पनि संघले ध्यान पुर्याउन आग्रह गर्नुभयो।

वार्षिक साधारणसभा तथा अधिवेशन संघले व्यवस्थापनका क्षेत्रमा कार्यरत उत्कृष्ट व्यक्तिलाई गरेको थियो। त्यसक्रममा नेपाल व्यवस्थापन संघले म्यानेजर अफर दि इयर अवार्ड एनएमबी बैंकका प्रमुख कार्यकारी निर्देशक उपेन्द्र पौडेल, म्यानेजमेन्ट रिकग्नाइजेसन अवार्ड नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का महाप्रबन्धक सीताराम थपलिया र म्यानेजर टु वाच भिवोर सोसाइटी बैकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाललाई प्रदान गरेको छ। कार्यक्रममा राष्ट्रिय योजना अयोागका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले आर्थिक समृद्धिका लागि व्यवस्थापन विषयमा प्रस्तुत गर्नुभएको कार्यपत्रमा छलफल गरिएको थियो।

त्यस्ततै म्यानका प्रथम अध्यक्ष सुशील भट्टले मुलुकलाई आर्थिक समृद्धिको बाटामा लैजानका लागि म्यानले निरन्तर प्रयास गरिरहेको बताउनुभयो। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिई म्यानेजमेन्ट डेभलपमेन्ट क्याम्पसमार्फत इएमबीए कोर्ष सञ्चालन गर्दै आएको र आगामी दिनमा विभिन्न खाले तालिमसमेत सञ्चालनमा ल्याउने योजनासमेत रहेको संघका प्रथम उपाध्यक्ष भट्टले जानकारी दिनुभयो। अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ।

प्रतिक्रिया दिनुहोस्