ललितपुर १२ र १६ वडा पुँजीगत खर्चमा सबैभन्दा कमजोर



ललितपुर।

ललितपुर महानगरपालिकाको मध्यभाग पाटन दरबार क्षेत्र पर्ने १२ र १६ वडा पुँजीगत खर्च औसत भन्दा तल रहेको छ ।
महानगरपालिकाले नगरसभामा बाँडेको तथ्यांक अनुसार वडा नं १२ को चालू आर्थिक वर्ष पुँजीगत ४९ दशमलब ०९ प्रतिशत रहेको छ । त्यसैगरी १६ वडाको पुँजीगत खर्च ४५ दशमलब ११ प्रतिशत रहेको छ । यो एकदेखि २९ वडामध्ये सबैभन्दा कम पुँजीगत खर्च भएको वडाको सूचीमा महानगरपालिकाले राखेको छ । महानगरपालिकाले २०८० श्रावण १ गतेदेखि २०८१ असार १० गतेसम्मको अवधिमा भएको खर्चको आधारमा महानगरपालिकाले एक देखि २९ वडाको पुँजीगत खर्च विवरण निकालेको थियो।

२०७३ सालमा स्थानीय तहको पुनःसंरचना हुँदा साविकको ११ र १२ लाई मर्ज गरी १२ र साविकको १८ र १६ लाई मर्ज गरी १६ वडा बनाएको थियो।यी दुवै वडा महानगरपालिकाको कोर पाटनको सबैभन्दा बढी जनघनत्व रहेको वडा हुन्।यस वडाको कुल जनसंख्या १० हजार भन्दामाथि रहेको छ।दुवै वडाको कुल पुँजीगत खर्च ४ करोड रहेको छ । यस अनुसार सो अवधिमा १२ वडामा कार्यालय खर्च वापत प्रत्येक ६ महिना दिइने १० लाख रुपैयाँ (चालू खर्च ) समेत जोड्दा सो वडामा १ करोड ५५ लाख रुपैयाँ खर्च भएको पाइएको छ । त्यसैगरी १६ वडामा १० लाख रुपैयाँ चालू खर्च समेत जोड्दा एक करोड ७८ लाख रुपैयाँ भएको छ । असार २५ गतेसम्म आउँदा यो संख्यामा केही तलमाथि पर्ने छ ।

कोर एरियामा विकास गर्नुपर्ने कार्यहरु कमै भएको, कतिपय काममा ढिलाई भएको र भएका असार मसान्तसम्ममा सबै बजेट खर्च भएको १२ वडाका अध्यक्ष नारायणलाल अवालेको दाबी रहेको छ । असार १० गतेसम्म ४९ प्रतिशत खर्च रहेको बजेट असार भित्रमा १ सय प्रतिशत खर्च भएकोले महानरपालिकाको पुँजीगत खर्चको सूची सच्याउनुपर्ने उनको भनाई थियो।जनताको लागि ल्याइएको बजेट लक्ष्य अनुसार खर्च नहुँदा यसको सोझो प्रभाव पुँजी निर्माण र सम्ुदायमा परेको स्थानीयवासीहरुको गुनासो रहेको छ ।

योजनाको काममा ढिलाई, समयमा सम्झौता गर्न नआउने, सम्झौता भएपनि काममा हुने ढिलाई, वर्षको अन्तिममा हतारहतार काम हुने प्रवृतिले गर्दा पुँजीगत खर्च परिचालन हुन नसकेको १६ वडाका वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताए। ‘वडाभवन बनाउने योजना जग्गा प्राप्तिका कारणले बीचमै तुहियो। रकमान्तर गरिएका योजनाहरुको काम हुन सकेन।भएका काममा ढिलाई, अनेक प्रक्रिया कारणले यस्तो अवस्था आएको हो ।’ वडाअध्यक्ष शाक्यले भन्नुभयो । त्यसैगरी वडा नं १४ को ५० दशमलब ६५ रहेको छ । अरु वडाहरु ५५ प्रतिशत भन्दा रहेको छ।

पुँजीगत खर्च परिचालनमा सबै भन्दा बढी वडा नं को ८३ प्रतिशत, त्यसपछि वडा २ को ७० दशमलब ५९ प्रतिशत र वडा नं ६ को ६९ दशमलब ६६ प्रतिशत रहेको छ।

वडामा योजना बनाउँदा सहभागितामूलक प्रक्रिया नह्ुने, पूर्व तयारीको कमी, योजनाहरु मागमा आधारित नहुने,काममा ढिलासुस्ती, आवश्यकता र प्राथमिकता अर्कोतिर, उपभोक्ताको सक्रियताको कमी, उपभोक्ताको काम ठेकदारले गरिदिने जस्ता समस्या पूर्वाधार विकासमा देखिएको महानगरपालिकाको पूर्वाधार महाशाखाले जनाएको छ । अन्तिम समयमा आएर योजनाको रकमान्तर गर्ने हो भने शुरुमा योजना बनाउँदा किन राखियो।राखिएपछि काम गनुपर्ने होइन । १० प्रतिशत जनसहभागिताको बजेट नराख्ने प्रवृतिले गर्दा समस्याहरु देखिएको पनि ती कर्मचारीको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्