स्थानीय पाठ्यक्रममा विपद् व्यवस्थापनका विषय



दोलखा ।

दोलखाको भीमेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रममा विपद् र त्यसको न्युनिकरणको उपाएका विषय समेत समावेश गरेको छ ।

पारिस्थितिकीय प्रणालीमा आधारीत अनुकुलन आयोजना (इविए) को सहयोगमा तयार पारिएको स्थानीय पाठ्यक्रममा आधारित पुस्तक भीमेश्वर सेरोफेरोमा विपद् र त्यसको न्युनिकरणको उपाएका विषय समावेश गरिएको हो ।

नगरपालिकाको बिभिन्न क्षेत्र बाढी– पहिरो, चट्याङ, आगलागी जस्ता प्राकृतिक विपत्तिका घट्नाको हिसाबले जोखिममा रहेकोले प्रत्येक घरबाट त्यसको न्युनिकरणको लागि सचेतना अपनाउन सकुन भन्ने उदेश्यले स्थानीय पाठ्यक्रममा यो विषय समावेश गरिएको नगरप्रमुख इश्वर नारायण मानन्धरले बताउनु भयो ।

घरमा चेताना प्रवाह गर्ने काममा विद्यार्थीको भूमिका महत्वपूर्ण हुन्छ । उनीहरुले बाहिर सिकेका कुरा कार्यान्वयन गर्न अभिभावकलाई सहमत गराउन सक्छन र उनीहरु पनि सचेत हुन्छन्, नगरप्रमुख मानन्धरले भन्नु भयो– त्यसैले हामीले स्थानीय पाठ्यक्रममा आधारित पुस्तकमा विपद्को विषय समावेश गरेका हौ ।

भीमेश्वर नगरपालिकाको बिभिन्न क्षेत्रमा मौसम अनुसार हिमपात हुने, बिभिन्न रैथाने बालिहरु लगाईने, पानीको प्रचुरता जस्ता सबै कुरा भएपनि पछिल्लो समय जनवायु परिर्वतनका कारण भू–क्षय लगायतका प्राकृतिक विपत्तिका घट्ना बढी रहेको नगरप्रमुख मानन्धरको भनाई छ ।

भीमेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित कक्षा ६, ७ र ८ मा अध्यापन गराईने भीमेश्वर सेरोफेरो पुस्तकमा विपद् र त्यसको न्युनिकरणको उपाएका विषयहरु समावेश गरेको शिक्षा शाखा प्रमुख अर्जुन कार्कीले बताउनु भयो । स्थानीय पाठ्यक्रममा आधारित भीमेश्वर सेरोफेरोमा समावेश गराईएका विपद् सम्बन्धि विषयवस्तु निक्कै प्रभावकारी रहेको शिक्षा शाखा प्रमुख कार्कीको भनाई छ ।

सदरमुकाम चरिकोटमा रहेको कालिञ्चोक माध्यामिक विद्यालयका प्रधानाध्यापक शम्भु गौतम स्थानीय पाठ्यक्रममा आधारित भीमेश्वर सेरोफेरोमा विपद्को विषय समावेश गरेर अध्यापन गराउदा विद्यार्थीहरु दैवी विपत्तिका घट्नामा सर्तक हुने गरेको र प्राकृतिक प्रकोप न्युनिकरणका लागि बिभिन्न अभियानमा समेत सक्रिय बनेको बताउनु हुन्छ ।

यो किताव निक्कै उपयोगी छ, प्रधानाध्यापक गौतमले भन्नु भयो– विद्यार्थीहरुले विपद्का बिबिध पक्षलाई चासोका साथ छलफल गर्ने र त्यसको व्यवहारीक कार्यान्वयनको लागि प्रयास गर्ने प्रयत्न गरिरहेका छन् ।
पारिस्थितिकीय प्रणालीमा आधारीत अनुकुलन आयोजना (इविए) का दोलखा जिल्ला संयोजक विनोद थापा स्थानीय पाठ्यक्रममा विपद् र त्यसको न्युनिकरणको उपाएका विषय समावेश गर्न आयोजनाले लेखन र आर्थिक रुपमा सहयोग गरेको बताउनु हुन्छ ।

हामीले भीमेश्वर नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा आधारीत भीमेश्वर सेरोफेरोमा विपद् र त्यसको न्युनिकरणको उपाएका विषयहरु लेखन र पुस्तक छपाईको लागि आर्थिक सहयोग गरेका छौ संयोजक थापाले भन्नुु भयो– यो विषय विद्यालय स्तरमा निक्कै प्रभावकारी देखिएकोले देशभरका विद्यालयमा यस्तै पाठ्यपुस्तक निर्माण गर्न शिक्षा मन्त्रालयसंग छलफल समेत गरिरहेका छौ ।

भीमेश्वर नगरपालिकामा बिभिन्न तहको गरी ५१ वटा विद्यालय रहेकोमा कक्षा ८ सम्म सञ्चालनमा रहेको ३१ वटा विद्यालयमा स्थानीय पाठ्यक्रममा आधारित भीमेश्वर सेरोफेरोमा पढाई हुने गरेको नगर शिक्षा शाखाका स्रोत व्यक्ति सुन्दर खड्काले बताउनु भयो ।

३१ वटा विद्यालयमा कक्षा ६, ७ र ८ मा अध्यन गर्ने झण्डै १५ सय विद्यार्थीले स्थानीय पाठ्यक्रममा आधारित भीमेश्वर सेरोफेरो पढ्ने र यो निक्कै प्रभावकारी देखिएको स्रोत व्यक्ति खड्काको भनाई छ । विद्यार्थीहरुले पाठ्यक्रममा विपद् र त्यसको न्युनिकरणको उपाएका विषय अध्यन गरेपछि विद्यालयमा हरित अभियान सञ्चालन गर्ने, पानी संरक्षण, बृक्षारोपण जस्ता अभियानमा सक्रिय रहने गरेको स्रोत व्यक्ति खड्काले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्