महामन्त्रीको प्रतिवेदनले रास्वपामा चुलियो असन्तुष्टिको स्वर

महामन्त्रीका विचार व्यक्तिगत हुन् : उपसभापति अर्याल



काठमाडौं ।

नागरिकको भरोसाको मत पाएको दाबी गर्दै पार्टी स्थापनाको एक वर्षमै प्रतिनिधिसभामा २१ सिटसहित संसदको पाँचौं ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी भएसँगै आन्तरिक र बाह्य दबाबमा परेको छ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) सहितको गठबन्धनमा बनेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गएपछि पार्टीको जनमतमा क्षयीकरण भएको स्वमूल्यांकन सार्वजनिक भएपछि झनै आन्तरिक असन्तुष्टिलाई थप बल पुगेको छ।

पार्टीका महामन्त्री डा. मुकुल ढकालले पार्टी विवेकशीलजस्तो क्षीण अवस्थामा पुग्ने सम्भावनासहितको प्रतिवेदन बुधबार पार्टी अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बुझाउनुभएको छ।

इलाम क्षेत्रनम्बर २ को चुनावी परिणामपछि देशव्यापी कार्यकर्तासँग छलफल गरेर फर्किएका महामन्त्री ढकालले प्रतिवेदनमा पार्टी दुर्घटनाउन्मुख रहेको दाबी पेस गर्दै भन्नुभएको छ– ‘पार्टीको वर्तमानमा जनमत छैन, जनमत जति छ, त्यसको आधारमा आज नै चुनाव हुने हो भने पार्टी हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा १–२ सिट जित्ला। भोलिका दिनहरू आजकै स्थितिअनुसार अघि बढे, पार्टीको हालत विवेकशीलसरी हुनेछ।’

उहाँले आफू सम्मिलित सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भन्दा पनि काठमाडौं महानगरका मेयर बालेन्द्र साहसहितका स्वतन्त्र मेयरसँग मिल्नका लागि सबैभन्दा उपयुक्त हुने सुझाव आएको उल्लेख गर्नुभएको छ। पार्टी महामन्त्री ढकालले बुझाएको यस्तो प्रतिवेदनलाई पार्टीको आन्तरिक र बाह्य रूपमा समेत चासोका साथ हेरिएको छ ।

राजनीतिक समीक्षा प्रतिवेदनमा पार्टीको अवस्था अत्यन्तै निराशाजनक रहेको उल्लेख भएपछि त्यसलाई लिएर दलभित्र असन्तुष्टिका स्वरहरू बाहिरिन थालेका छन्। पार्टीका आम कार्यकर्ताले सामाजिक सञ्जालबाट महामन्त्री ढकालको प्रतिवेदनमा सकारात्मक टिप्पणी गरेका छन्।

पार्टी उपसभापतिसमेत रहेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले उक्त प्रतिवेदनका विषयमा अध्ययन गरेर पार्टी केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताउनुभयो । उहाँले महामन्त्रीको प्रतिवेदनमा उल्लिखित धेरै कुराहरू व्यक्तिगत भएको टिप्पणी गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो–‘पार्टी दुई वर्षको मात्रै भएको छ । अहिले नै पार्टीको समीक्षा गर्ने बेला भइसकेको छैन । महामन्त्रीका विचार व्यक्तिगत हुन् । उहाँले भनेजस्तो पार्टी संकटको डिलमा पुगेको छैन ।’

पार्टीकै निर्णयबमोजिम जेठ ६ गतेदेखि असार ५ गतेसम्म ३९ जिल्लाका नेता–कार्यकर्तासँग अन्तरक्रिया गरेका ढकालले २ हजार ७९ जनाभन्दा बढीसँग दोहोरो अन्तरक्रिया गर्दै पार्टीका समर्थक, शुभचिन्तकदेखि सर्वसाधारणसम्मलाई भेटेर सल्लाह सुझावहरू लिएको दाबी गर्नुभएको छ। अहिलेकै अवस्थामा रास्वपासँग जनमत नभएको र यही स्थितिमा रास्वपालाई राष्ट्रिय पार्टी बन्न मुस्किल पर्ने निचोडसमेत निकाल्नुभएको छ।

यात्राका क्रममा ८० किलोमिटर पैदल र ४ हजार २ सय १६ किलोमिटर सडक यात्रा गर्दै पार्टीको दुई वर्षे यात्राको समीक्षा गरेको महामन्त्री ढकालको भनाइ छ । प्रतिवेदनमा आम जनताले संघीयता नरुचाएको तथा यो प्रणाली नेपालको हितमा पनि नरहेको समेत प्रतिक्रिया प्राप्त भएको उल्लेख छ । पार्टी सभापति रवि लामिछानेनिकट मानिएका महामन्त्री ढकाल पछिल्लो समय पार्टी सरकारमा गइसकेपछिका गतिविधि र नेताहरूले आफूमाथि गर्न थालको फरक व्यवहारका कारण असन्तुष्ट बन्नुभएको छ । पार्टीको अवस्था विश्लेषणसहित सम्भावित परिणामको बारेमा प्रतिवेदन बुझाउँदा पार्टीले आफ्नो राजनीति धरापमा पार्ने शंकालाई कायमै राख्दै आफ्नो महामन्त्री पद सकिए पनि पार्टी नसकियोस् भन्ने सुझाव पेस गरेको टिप्पणी सार्वजनिक गर्नुभएको छ ।

प्रतिवेदन ग्रहण गर्दै पार्टी सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेले आमनागरिकले दिएको प्रतिक्रियालाई लिएर चिन्ता गर्ने कुरा स्वाभाविक भएको बताउनुभयो।

रास्वपा ‘आन्तरिक लोकतन्त्र’ लाई प्रवद्र्धन गर्ने पार्टी भएको भन्दै सभापति लामिछानेले दलभित्रका ‘कमीकमजोरी नलुकाउने र निर्मम समीक्षा’ गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्