पंकज नेतृत्व एन्फाको दुईवर्षे कार्यकाल सकियो, स्वार्थ र झगडाले उपलब्धि शून्य



काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्वको दुईवर्षे कार्यकाल सकिएको छ। पंकज विक्रम नेम्वाङ गत २०७९ असार ६ गते निर्वाचित भएर एन्फा अध्यक्ष बन्नुभएको थियो।

उहाँको अध्यक्षताको कार्यसमितिले गएको दुई वर्ष राम्रो कामभन्दा पनि विवादित काम नै धेरै गरेको निक्र्यौल निकाल्न सकिन्छ। अध्यक्ष नेम्वाङको समूहले चेन्ज द एन्फा भन्दै चुनावमा मत मागेको थियो।

चारवर्षे कार्यकालका लागि नयाँ अध्यक्ष आएपछि फुटबलको विवाद सकिने, फुटबलको विकास हुने र फुटबलरको भविष्य सुरक्षित हुने सबैले आस गरेका थिए । तर, आ–आफ्नो स्वार्थ र झगडामै दिन बिताएर फुटबलको तहसनहस नै बनायो । यही कार्यकालमा झण्डै ६० को हाराहारीमा फुटबलर विदेश पलायन भइसकेका छन् ।

निर्वाचित भएको दुई दिनमै विवाद उत्पन्न भएको थियो। नेम्वाङको अध्यक्षताको कार्यसमितिको पहिलो बैठकबाटै विदेश विभाग प्रमुखमा एनआरएन नवीन पाँडेलाई नियुक्त गरेको थियो। यस कार्यसमितिको विवादको यो जरा बनेको थियो। यसलाई, २१ सदस्य रहेको कार्यसमितिमध्ये केही पदाधिकारीले विरोधसमेत गरेका थिए । तर, अध्यक्ष नेम्वाङले यसलाई पारित गर्नुभयो ।

नेम्वाङको अध्यक्षताको कार्यसमितिमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र पूर्व अध्यक्ष गणेश थापाका पक्षमा रहेका व्यक्तिहरू पनि छन्। जसमध्ये, शेर्पा पक्षबाट ७ जना छन्। शेर्पा अध्यक्ष हुँदा वर्तमान अध्यक्ष नेम्वाङले पारदर्शी भएन, सृुशासन भएन भनेर विरोध गर्नुभएको थियो। तर, त्यही पदमा उहाँ पुगेपछि एन्फाको श्वेतपत्र जारी गर्ने, सातै प्रदेशमा महिला र पुरुषका लागि आवासीय एकेडेमी सञ्चालन गर्ने, वैज्ञानिक पारामा लिग गर्ने, राष्ट्रिय लिग गर्ने, महिला फुटबल टोलीलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढाउने, फुटबलमा ठूल्ठूला प्रायोजक भित्र्याएर खेललाई गति दिने, व्यावसायिकता गर्ने भनेर लामो सूची बनाउनुभयो। तर, उक्त सूचीले दुई वर्ष कार्यकाल सकिँदा पनि प्राथमिकता पाउन सकेको छैन। यहाँसम्म कि श्वेत पत्र एक महिनामै निकाल्ने भनेको थियो । तर, खोई अहिलेसम्म केही पनि सुरसार छैन।

दुई वर्षमा ए डिभिजन लिग पनि एकपटक मात्रै भयो। दुई वर्षमा बी डिभिजन लिग भएकै छैन। सी डिभिजन लिग बल्ल शुरू गर्‍यो। राष्ट्रिय लिग गर्ने त सुरसार पनि छैन। त्यस्तै, फुटबलमा प्रायोजक ल्याउने भनेर ल्याउन पनि सकेको छैन। ए डिभिजन गत वर्ष हुँदा बल्लतल्ल अन्तिमतिर एक प्रायोजक ल्याउन सफल भएको थियो ।

बी डिभिजन नहुँदा ए डिभिजन लिगमा असर हुनेछ। किनभने बी डिभिजन गरेर त्यसबाट दुई टोली ए डिभिजनमा बढुवा हुनेछ। ए डिभिजन गरेर दुई टोली बी डिभिजनमा घटुवा हुनेछ। यो प्रावधानअनुसार यदि ए डिभिजन अहिले शुरू गरेमा रेलिगेसन गर्ने कि नगर्ने यो प्रश्न तेर्सिएको छ।

नेपाली राष्ट्रिय महिला टोलीले जोर्डन, बहराइन, लेबनानजस्ता टोलीविरुद्ध सानदार खेल देखाएको पनि छ। यति सम्भावना बोकेको नेपाली महिला टोलीलाई प्रतियोगितामा सहभागी गराउने माहोल बनाउन पनि असफल भएको छ यो नेतृत्व।

अर्को पुरुष विश्वकप २०२६ अन्तर्गत एसियाली छनोटको दुई खेल दशरथ रंगशालामा खेल्नुपर्ने थियो। तर, एन्फाले खेलाउन सकेन। बहराइन र यूएईविरुद्धको घरेलु खेल क्रमशः बहराइन र साउदी अरेबियामा खेलाउनुपरेको थियो।

प्रतिक्रिया दिनुहोस्