स्वास्थ्य मन्त्री यादवले दिए संसदमा उठेका प्रश्नहरूको जवाफ



काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालयले प्रस्तुत गरेका कार्यक्रमहरूमाथि प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरूको जवाफ दिएका छन्।

सोमबार बसेको बैठकमा मन्त्री यादवले आफ्नो मन्त्रालयको मुख्य लक्ष्य मृत्यु र बिरामी हुने दर घटाउनु रहेको बताएका छन्। मन्त्री यादवले स्वस्थ जीवनशैली र उपचारको सुनिश्चितता प्रदान गर्न आधारभूत स्वास्थ्य सेवा निःशुल्क र विशेषज्ञ स्वास्थ्य सेवा बिमा मार्फत प्रदान गर्ने रणनीति अपनाइएको जानकारी दिए।

उनले पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापन मुख्य चुनौती रहेको उल्लेख गर्दै विश्व स्वास्थ्य सङ्गठनले १० प्रतिशत विनियोजन गर्न सिफारिस निर्देशन विपरीत स्वास्थ्य मन्त्रालयको वार्षिक बजेट कुल बजेटको ४।५ प्रतिशत मात्र हुने गरेको गुनासो गरे।

मन्त्री यादवले सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरूलाई निजी अस्पतालमा जान रोक्न विस्तारित सेवा लागू गरिएको जानकारी दिए। उपत्यकाका ठूला अस्पतालमा दुई सिफ्टमा सेवा सञ्चालन र मोडुलर शल्यक्रिया कक्ष थप्ने कार्यक्रम आगामी वर्षको प्राथमिकतामा रहेको बताए।

मन्त्री यादवले निजी तथा सरकारी अस्पतालहरूको सेवा शुल्क निर्धारण मापदण्ड अनुरूप समितिबाट आवधिक रूपमा समीक्षा गरिने बताउनुभयो । स्वास्थ्य मन्त्रालयले ९८ प्रकारका औषधि स्वास्थ्य चौकीमा उपलब्ध गराउने प्रयास गरिरहेको र स्वास्थ्य बिमा सेवा नियमनका लागि प्रभावकारी संयन्त्र बनाई कानुनी कारबाही गरिरहेको पनि जानकारी दिए।

यस्तै इटहरी अस्पताललाई १०० शय्याको अस्पतालमा स्तरोन्नति गर्न प्रदेश सरकारसँग समन्वय गरिरहेको र विशेषज्ञ चिकित्सक खटाउने व्यवस्था गर्न सकिने पनि मन्त्री यादवले बताए । यसैगरी रामराज सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको गुरुयोजना अनुसार बजेट विनियोजन गरिएको, प्रत्येक जिल्ला अस्पतालमा विशेषज्ञ सेवा विस्तार, र वीर अस्पतालमा सबै किसिमका सेवाहरू उपलब्ध गराउने व्यवस्था मिलाइएको उनले बताए।

स्वास्थ्य बिमाको लागि आगामी आर्थिक वर्षमा ७।५ अर्ब विनियोजन गरिएको, उपचारमा ढिलासुस्ती रोक्न उच्चस्तरीय संयन्त्रद्वारा नियमित अनुगमन भइरहेको, र गाउँपालिका स्तरीय अस्पतालमा उपकरण र जनशक्ति व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग समन्वय गरिएको जानकारी गराए।

भेरी अस्पतालको प्रसूति भवन समयमै सम्पन्न गरिने, राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०८०–२०९० ले स्वास्थ्य क्षेत्रमा बजेटको १० प्रतिशत विनियोजनको लक्ष्य राखेको, र कलेजो प्रत्यारोपणलाई सहुलियत प्रदान गर्ने कार्यक्रम अन्तर्गत समावेश गर्न छलफल भइरहेको जानकारी दिए ।

मन्त्री यादवले स्तन क्यान्सर, पाठेघर खस्ने, मिर्गौला रोग लगायतका उपचार निःशुल्क वा सहुलियतपूर्ण रूपमा उपलब्ध गराइएको समेत बताए। सोही अवसरमा उनले स्वास्थ्य सेवा सुधारका लागि मन्त्रालयले विभिन्न कार्यक्रमहरू अघि सारेको जानकारी गराउँदै आगामी आर्थिक वर्षमा पनि सञ्चालित कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्