महाधिवेशनको अन्तिम तयारीमा नेकपा एस

नेतृत्वका लागि त्रिपक्षीय आकांक्षा



काठमाडौं ।

राष्ट्रिय महाधिवेशनको सम्मुखमा रहेको माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा नेतृत्वका लागि तीन नेताहरूले आकांक्षा राखेका छन्। यही असार १६–२० सम्म काठमाडौंमा हुने पार्टीको १०औं महाधिवेशनको अन्तिम तयारी भइरहँदा पार्टी नेतृत्वमा पुग्न वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले उभिने तयारीमा रहेका हुन् ।

नेकपा एमालेबाट बाहिरिएर नयाँ पार्टी निर्माण गरेका वर्तमान अध्यक्ष माधव नेपाल पुनः एकपटक पार्टी नेतृत्व दोहोर्‍याउने पक्षमा हुनुहुन्छ। देशभरबाट १ हजार ८ सय प्रतिनिधि छनोट भएर आइसकेका छन्। प्रतिनिधिमध्ये अधिकांश नेपालप्रति सहानुभूति राख्ने रहेको पार्टीका नेताहरूले अनौपचारिक रूपमा बताएका छन्। पार्टीलाई बलियो बनाउन नेपालले सबै पक्षसँगको सहकार्य र समन्वयमा पार्टी हाँक्न सक्ने उनीहरूको भनाइ छ।

पार्टीको आन्तरिक व्यवस्थापनले मात्रै सिंगो राजनीतिलाई नेतृत्व प्रदान गर्न नसक्ने भन्दै अन्तरपार्टी सम्बन्धदेखि वैदेशिक सम्बन्धसमेतलाई विश्वासमा ल्याउन सक्ने नेतृत्व नेकपा एसमा आवश्यक रहेको उपमहासचिवसमेत रहेका पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो।

‘नेताहरूले पार्टी नेतृत्वमा जाने इच्छा राख्नु स्वाभाविक हो र उहाँहरूसँग त्यो क्षमता पनि होला’, खतिवडाले भन्नुभयो– ‘तर, हामीले देशको सिंगो राजनीतिलाई नै नेतृत्वदायी भूमिका खेल्नुपर्ने परिस्थिति पनि आउन सक्छ । पार्टीभित्र मात्रै नभएर अन्तरपार्टी सहकार्य र छिमेकी राजनीतिक शक्तिहरूसँगको समन्वयकारी भूमिका खेल्न सक्ने नेतृत्व पार्टीमा आवश्यक छ । हामी सबै साथीहरूबीच गहिरो छलफलपश्चात् सर्वसहमतिमै नेतृत्व चयन गर्ने विषयमा सचेत भएर लागेका छौं ।’ मावध नेपालको पक्षमा देखिनुभएका खतिवडा नेपाल समूहबाट महासचिवको सम्भावित बलियो उम्मेदवार हो ।

तर, सम्मानित नेता झलनाथ खनाल पक्षले माधव नेपालबाट पार्टी वैचारिक दृष्टिकोणमा अल्मलिएजस्तो देखिएको टिप्पणी गरेका छन्। वैचारिक दृष्टिकोणले स्पष्ट पार्टी निर्माणका लागि सर्वसहमतिबाट वैचारिक नेतृत्व छनोट गर्नुपर्ने नेता झलनाथ खनालले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘महाधिवेशनका लागि जिल्ला जिल्लाबाट साथीहरूको नामावली मात्रै आएको छ। उहाँहरू पनि आइसकेपछि हामी एक ढंगले छलफल गरेर अघि बढ्छौं। सम्भवतः नेतृत्व चयनका लागि चुनावी प्रक्रियामा जानु नपर्ने गरी छलफल गरेर जाने तयारीमा छौं। साथीहरूले विश्वास गर्नुभयो भने मैले पार्टीलाई वैचारिक स्पष्टताका साथ अघि बढाउन सक्छु भन्ने छ । अब पार्टीलाई वैचारिक दृष्टिकोणले स्पष्ट बनाएर जानुको विकल्प छैन ।’

खनालले आफू नेतृत्वमा पुग्ने अवस्था नरहे पार्टीलाई नयाँ पुस्तामा लैजाने रणनीतिमा लागेको खनाल निकट एक केन्द्रीय सदस्यले नेपाल समाचारपत्रलाई बताए। आगामी नेतृत्वका लागि आफू सर्वसहमत नभए नयाँ पुस्ताका रूपमा महासचिव घनश्याम भुसाललाई अघि बढाउने खनालको चाहना रहेको उनको भनाइ छ।

खनालको पहिलो चाहना आफैं अध्यक्ष हुने र यदि आफ्नोमा सर्वसहमति हुन नसक्दा माधव नेपालसँग घनश्याम भुसाललाई भिडाउने योजना छ। उक्त योजनालाई सफल बनाउन प्रतिनिधिहरूसँगको संवादलाई सघनरूपमा अघि बढाएको उनी निकटका नेताहरूले बताएका छन् ।

महाधिवेशनको तयारीलाई तीव्र बनाएको नेकपा एसले पूर्वतयारीअन्र्तगत गर्नुपर्ने जिल्ला अधिवेशन र प्रतिनिधि छनोट सकेको छ । देशभरबार १ हजार ८ सय प्रतिनिधि छनोट भएर केन्द्रमा अन्तिम विवरण आइसकेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । भूगोलअन्तर्गत ७७ जिल्ला र विभिन्न संगठनबाट सो संख्यामा प्रतिनिधि छनोट भएर आएको उहाँको भनाइ छ । वर्तमान केन्द्रीय आयोजक समितिका रूपमा स्वतः प्रतिनिधि हुने पार्टी विधानमा उल्लेख भएअनुसार करिब ४ सय ५० नेताहरू स्वतः प्रतिनिधि हुनेछन् ।

त्यस्तै, भूगोलबाट छनोट भएर आएका प्रतिनिधिको कुल संख्याको ५ प्रतिशत जना केन्द्रीय समितिले मनोनीत गर्ने व्यवस्था छ। जुन संख्या ९५ हुन आउँछ। तत्कालीन नेकपा एमालेसँग अलग भएर गठन भएको नेकपा एसले पहिलोपटक हुने महाधिवेशनमा सहभागी प्रतिनिधिहरू एमालेकै निरन्तरताबाट आएकाले दशौं महाधिवेशनको नाम दिइएको नेताहरूले दाबी गरेका छन्।

संघीय संसद्मा १० र राष्ट्रियसभामा ८ सांसद रहेको नेकपा एसले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गर्दै आएको छ भने संघीय सरकारले समेत महत्वपूर्ण भूमिका पाएको छ ।

प्रतिक्रिया दिनुहोस्