मनसुन प्रतिकार्यको लागि सशस्त्र प्रहरीको टोली सबै प्रदेशमा स्रोतसाधनसहित तयारी अवस्थामा 



  काठमाडौँ।

  सशस्त्र प्रहरी बल नेपालले सवै कार्यालयहरुमा मनसुनको समयमा बाढी, पहिरो, डुवान एवं विपद्मा परेकाहरुको तत्कालै उद्धारको लागि मनसुन प्रतिकार्य टोली तयारी हालतमा राखेको छ । आवश्यक स्रोतसाधनसहित तैनाथ जनशक्तिले बाढी पहिरो र डुबानको सम्भावित इलाकामा हजार्ड म्यापिङ गरी ती स्थानहरुमा केन्द्रित भई लामो र छोटो गस्ती गर्नुकासाथै देशभरका कार्यालयहरुमा डिजास्टर फोकल पर्सनहरु तोकि आवश्यक समन्वय गर्ने व्यवस्था समेत मिलाइएको छ ।

  देशभर स्थापना भएका राष्ट्रिय आपतकालिन कार्य संचालन केन्द्र, प्रदेश आपतकालिन कार्य संचालन केन्द्रहरु, जिल्ला आपतकालिन संचालन केन्द्रहरुमा तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु खटिई आवश्यक समन्वय गर्नुकासाथै विपद्‍मा परेकाहरुको तत्कालै उद्धारको लागि ३९ जिल्लाको ५९ वटा सशस्त्र प्रहरी बल नेपालका कार्यालयहरुमा १ सय २० वटा मोटर वोट तथा ¥याफ्ट वोट हरु तयारी अवस्थामा राखिएको छ ।

  ९१ जना गोताखोरलाई आवश्यक उपकरणसहित सात वटै प्रदेशमा रहेका बाहिनी मुख्यालयहरु तथा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, उपत्यकास्थित नं. २० विपद् उद्धार गण सिनामंगल, नं. २४ कालिका गण कास्की, सिन्धुलीको खुर्कोट बेसमा तैनाथ गरिएको छ । यसैगरी विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिसहित धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, मकवानपुरको कुलेखानी, म्याग्दीको नारच्याङ, दाङको भालुवाङ, सुर्खेतको चिप्ले र डडेलधुराको अमरगढीमा गरी नौ वटा विपद् व्यवस्थापन बेस स्थापना गरिएको छ । यसका साथै विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिलाई सातै वटा प्रदेशस्थित बाहिनी मुख्यालयहरु, उपत्यकास्थित नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, १० वटा शिक्षालय, सबै गणहरुमा एक/एक प्लाटुन र गुल्म वा सो भन्दा साना युनिटहरुमा १ सेक्सनको दरले आवश्यक स्रोतसाधनसहित तैनाथ गरिएको छ ।

   राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्रधिकरणद्वारा सशस्त्र प्रहरी बल नेपाललाई हस्तान्तरण गरिएका ८ वटा मास क्याजुल्टी भेहिकल र ८ वटा ए क्लासका एम्बुलेन्सलाई परिचालन गर्न सक्ने गरी सुनसरी, महोत्तरी, कुरिनटार, पोखरा, रुपन्देही, सुर्खेत, कैलाली र काठमाडौँमा तयारी अवस्थामा राखिएको छ । विपद्को समयमा शुद्ध पिउने पानीको अभावलाई पूर्ती गर्न अमेरिकी दुतावासद्धारा निर्मित डिप ट्युवेल काठमाडौको ७ स्थानसहित कास्की, नवलपरासी, बाँके, कैलालीमा तयारी अवस्थामा रहेको छ । त्यस्तै अमेरिकी दुतावासबाट प्राप्त Disaster relief System -DRS_ का २८ वटा कन्टेनर १३ जिल्लाका १५ वटा सशस्त्र प्रहरी बल नेपालका कार्यालयहरुमा वितरण गरी तयारी हालतमा राखिएको छ भने ५ वटा कन्टेनर जाजरकोट भुकम्पमा प्रयोग गरी सकिएको छ ।

    देशभर रहेका सशस्त्र प्रहरी बल नेपालका कार्यालयहरुमा २४सैं घण्टा स्टेण्डवाई रहने गरी बाहिनी मुख्यालहरु, शिक्षालय तथा गणहरुमा सिनियर अफिसरको कमाण्डमा १ प्लाटुन, जिल्लास्थित गुल्ममा जुनियर अफिसरको कमाण्डमा २० जना, अन्य गुल्महरुमा जुनियर अफिसरको कमाण्डमा १५ जना, बीओपी तथा सुरक्षा बेसहरुमा जुनियर अफिसरको कमाण्डमा १० जनाको टोली आवश्यक सामाग्रीसहित २४सैं घण्टा खटिईने गरी स्टेण्डवाई रहेका छन् । यसैगरी झापा, सप्तरी, बारा, चितवन, रुपन्देही, बाँके, कैलाली, भक्तपुर, मकवानपुर र तनहुँमा रहेका १० वटा सशस्त्र प्रहरी बल नेपालका इमिडियट रेस्पोन्स टिम पोष्ट तथा सबै प्रदेशमा रहेका १३ वटा हेभि इक्यूपमेन्ट हरुलाई समेत तयारी अवस्थामा राखिएको छ । त्यस्तै राष्ट्रिय आपतकालिन संचालन केन्द्रको स्वामित्वमा रहेको सामाग्रीहरु जस्तै लत्ताकपडा, त्रिपाल, टेन्टहरु सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. २० विपद् उद्धार गण र नं. २२ गुहेश्वरी गण भक्तपुर तयारी अवस्थामा राखिएको छ । विपद् प्रतिकार्यको पूर्वतयारीको लागि सशस्त्र प्रहरी बल नेपालले विभिन्न संघसंस्था तथा महानुभावहरुसँग छलफल गरी विपद् व्यवस्थापनका चुनौती तथा प्रतिकार्यका लागि समुदाय लक्षित तालिम संचालन सम्बन्धी सशस्त्र प्रहरी बल नेपालको गतिविधि एवं आगामी लक्ष्य लगायत विविध विषयहरुमा छलफल गरिएको छ । छलफलमा विपद् व्यवस्थापन बेसहरुको संख्या वृद्धि तथा पर्वतीय उद्धार सम्बन्धी आगामी दिनमा गर्न सकिने योजनाहरुको समेत छलफल भएको छ ।

  विपद्जन्य घटनाको पूर्वतयारीमा सशस्त्र प्रहरी बल, नेपालले विपद्सँग सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायहरुको समन्वय र सहकार्यमा कृत्रिम अभ्यासहरु गर्दै आइरहेको तथा अन्य निकायहरुले आयोजना गरेका कृत्रिम घटना अभ्यासहरुमा समेत सशस्त्र प्रहरी बल नेपालले सहभागिता जनाउनुको साथै पीडित नागरिकहरुको उद्धार एवं प्राथमिक उपचार र सुरक्षित स्थानान्तरण सम्मका पूर्व तयारी गर्दै आइरहेको छ।

 सशस्त्र प्रहरी बल नेपालका इकाईहरुबाट विपद् प्रतिकार्यका लागि मनसुन अवधिभर Cycle को रुपमा कार्य गर्ने गरी ५० वटा टोली विभिन्न स्थानहरुमा परिचालन गरिसकिएको छ भने प्रदेशस्थित ७ वटै बाहिनी मुख्यालयहरुमा विपद् व्यवस्थापन टोली तयारी अवस्थामा रहेको छ । साथै उपत्यकामा आईपर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सिनामङ्गलस्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गणलाई पनि तत्काल परिचालित हुन सक्ने गरी तयारी अवस्थामा राखिएको छ । यसैगरी देशभर रहेका सशस्त्र प्रहरी बल नेपालका इकाईहरूमा पनि विपद् प्रतिकार्यमा परिचालन गराउनका लागि निश्चित जनशक्तिलाई आवश्यक उपकरणहरु सहित तयारी अवस्थामा राखिएको छ जस अनुरुप एक पटकमा २४सैं घण्टा रहने गरी ५ सय ४६ इकाईहरूमा ७ हजार ४ सय ५५ जनाको जनशक्ति तयारी हालतमा रहेका छन् ।

  भूकम्प, हिमपात, हिमपहिरो, शितलहर, आगलागी, डँढेलो, आँधी, हुरी, बतास एवं पानीजन्य विपद्हरु जस्तै बाढी, पहिरो, चट्याङ्ग आदि जस्ता घटनाहरु मध्यनजर गर्दै समुदायमा गई विपद् सचेतना फैलाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले सचेतनामूलक प्रशिक्षणहरु पनि दिलाउँदै आइरहेको छ । आषाढ, श्रावण र भाद्र महिनामा पानीजन्य विपद्हरु र अन्य महिनाहरुमा सडक दुर्घटना, विभिन्न किसिमका महामारीहरु, आगलागी, डँढेलो, आँधी हुरी बतास, भूकम्प, शितलहर आदि जस्ता विपद्हरुका बारे सचेतनामूलक प्रशिक्षणहरु दिदै आएको छ ।

   विपद् जोखिम न्यूनीकरणका लागि २०८१ सालसम्मको अवधिमा ४ हजार ७ सय ५३ वटा विद्यालय तथा २ हजार २ सय ५ वटा समुदायहरुमा कुल ४ लाख ४० हजार ६ सय ५ जना विद्यार्थी एवं समुदायका सर्वसाधारणहरुलाई सहभागी गराई विपद् सचेतना सम्बन्धी कक्षा संचालन गरिएको सकिएको छ । यसअघि २०८० सालमा देशभरका विभिन्न १ हजार ७ सय ३३ विद्यालय र ९ सय २१ समुदायस्तरमा पुगी कुल १ लाख ४३ हजार १ सय ९८ जनालाई समेत विपद् जोखिम न्यूनीकरण अन्तर्गत सचेतनामूलक प्रशिक्षण गराइएको   थियो ।

प्रतिक्रिया दिनुहोस्